चुनावी र्‍याली हुन दिएको भन्दै अदालतद्वारा निर्वाचन आयोगको चर्को आलोचना

१४ बैशाख, बीबीसी । भारतको मद्रास उच्च अदालतले त्यहाँको निर्वाचन आयोग कोरोनाभाइरस महामारी फैलाउन जिम्मेवार भएको भन्दै चर्को आलोचना गरेको छ।

उसले सङ्क्रमण तीव्र गतिमा फैलिरहेको बेलामा पनि पाँचवटा राज्यमा ठूल्ठूला निर्वाचन र्‍यालीहरू हुन दिएको अनि तिनमा कोभिडसम्बन्धी स्वास्थ्य मापदण्ड पालना गराउन नसकेकोमा आलोचना गरेको छ।

निर्वाचन र सङ्क्रमण

ती राज्यहरू अहिले भाइरस सङ्क्रमणको दृष्टिकोणले ‘हटस्पट’ बनेको बताइएको छ। पछिल्ला दिनहरूमा पश्चिम बङ्गाल राज्य र उसको राजधानी कोलकातामा सङ्क्रमण निकै तीव्र गतिमा फैलिन थालेको विवरणहरू आएका छन्।

त्यस्ता र्‍यालीहरू भइरहेका बेलामा “आयोगका अधिकारीहरू कुन ग्रहमा थिए?” भनेर न्यायाधीशहरूले प्रश्न गरेका छन्।

तिनले किन हत्याका अभियोग खेप्नु नपर्ने भनेर पनि उनीहरूले सोधेका छन्।

चेन्नईस्थित अदालतले मापदण्डसम्बन्धी बन्देजहरू नलगाइए आइतवार हुने तमिलनाडु राज्य निर्वाचनको मतगणना रोकिदिने चेतावनी पनि दिएको छ।

न्यायाधीशको कडा टिप्पणी

सोमवार मद्रास उच्च अदालतका मुख्य न्यायाधीश सञ्जीव बनर्जीले निर्वाचन आयोगका वकिललाई भने, “कोरोनाको दोस्रो लहरका निम्ति केवल अनि केवल निर्वाचन आयोग जिम्मेवार छ।” उनले आयोगका अधिकारीहरूमाथि हत्याको आरोप लगाउनु पर्ने पनि बताए।

अदालतको स्पष्ट आदेश हुँदाहुँदै पनि प्रचारप्रसारको बेला मास्क तथा स्यानिटाइजरको प्रयोग अनि भौतिक दूरीको नियम लागु गर्न नसकेको न्यायाधीशले बताए। दुईजना न्यायाधीशको उक्त इजलासले आयोगलाई मतगणनाका बेला उसले अपनाउने मापदण्ड स्वास्थ्य सचिवसँग मिलेर बनाउन भनेको छ।

यी कार्य गर्न अदालतले आयोगलाई एप्रिल ३० सम्मको समयसीमा दिएको छ। हालै भारतका तीनवटा राज्य केरला, तमिलनाडु, आसाम अनि केन्द्रप्रशासित क्षेत्र पुदुचेरीमा चुनाव सम्पन्न भएका छन्।

पश्चिम बङ्गाल राज्यमा अझैपनि मतदान जारी छ। त्यहाँ सोमवार सातौँ चरणको मतदान भएको थियो भने आठौँ तथा अन्तिम चरणको मतदान हुन बाँकी छ। सबै ठाउँको मतगणना मे २ मा गरिने बताइएको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment