बर्दियामा आज सोमबार रातिदेखि निषेधाज्ञा लागु हुने

१३ बैशाख ,नेपालगञ्ज । बर्दियामा सोमबार रातिदेखि निषेधाज्ञा लागु हुने भएको छ । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारका अनुसार सोमबार राति १२ बजेदेखि वैशाख १९ गते राति १२ बजेसम्म जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा लागु हुनेछ ।

गुलरिया नगरपालिकाको ५ र ६ नम्बरको सम्पूर्ण क्षेत्र, बाँसगढी नगरपालिकाको बाँसगढी बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार क्षेत्र, मधुवन नगरपालिकाको लालीबजार र ओरालीबजार, ठाकुरबाबा नगरपालिकाको बगनाहा, भुरीगाउँ र ठाकुरद्वारा बजार क्षेत्र, राजापुर नगरपालिकाको राजापुर र मानपुर टपरा बजार क्षेत्र, बढैयाताल गाउँपालिकाको मैनापोखरा, भोलागौडी र शितलाबजार क्षेत्र, गेरुवा गाउँपालिकाको शान्तिबजार र पशुपतिबजार क्षेत्रमा निषेधाज्ञा लागु हुनेछ ।

यी क्षेत्रमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन चेतावनी दिइएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बर्दियाका फोकलपर्सन नरेश श्रेष्ठले निषेधित गरिएको क्षेत्रमा पसल खोल्न, हिँडडुल गर्न रोक लगाइने छ ।

बर्दियामा अहिले २ सय ७० जना कोरोना संक्रमित रहेका छन् । स्थानीय प्रशासनले पाँच सय कटेपछि जिल्लाभरि नै लकडाउन गर्ने रणनीति बनाएको छ ।

बर्दिया बाँकेको छिमेकी जिल्ला हो । बर्दिया पनि भारतीय नाकासँग जोडिएको छ । बाँकेमा कोरोना संक्रमित आकाशिएपछि सोमबार रातिदेखि जिल्लाभरि नै लकडाउन गरिएको छ ।

यसअघि वैशाख ९ गते रातिदेखि १५ गते रातिसम्मका लागि भन्दै स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment