वीरगन्ज नाकाको हेल्थ डेस्कमा कोरोना संक्रमण पुष्टि भएका युवक फरार

०५ बैशाख, वीरगन्ज । वीरगन्ज नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा आइतबार एन्टिजेन प्रविधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका ४ जनामध्ये एक संक्रमित फरार छन् । शंकास्पद ५३ जनाको स्वाब लिने क्रममा स्वाब दिएका ती युवक परीक्षणको रिपोर्ट नआउँदै फरार भएका हुन् । स्वाब संकलनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी व्यस्त रहेको मौका छापेर ती युवक फरार भएका हुन् ।

आइतबार ५३ जनाको स्वाब नमूना लिएर हेल्थ डेस्कमै एन्टिजेन परीक्षण गरिएको थियो । परीक्षणको रिपोर्ट आधा घण्टामै आएको थियो । हेल्थ डेस्कमा खटिएका अहेब सैनुल्लाह अन्सारीका अनुसार, रिपोर्ट आएपछि संक्रमण भेटिएका ४ मध्ये वीरगन्जका गुप्ता थर भएका ती युवकलाई सुरक्षाकर्मीले खोजिनीति गरे । तर उनी त्यहाँ फेला परेनन् । उनको मोबाइल स्वीच अफ गरिएको छ ।

फरार भएका संक्रमित युवकको खोजी भइरहेको नाकास्थित इनर्वा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक पूर्णप्रसाद दाहालले बताए । हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी सैनुल्लाह अन्सारीले भने,‘ जनशक्ति थोरै छ , हेल्थ डेस्कमा ल्याबको प्राविधिक एकजना मात्रै छन् , त्यसैले पनि परीक्षण गर्न समय लाग्छ, मानिस रिपोर्ट नै नआइ भागिदिने गर्छन् । ‘

चैत २३ देखि वैशाख ५ गते दिउँसोसम्म भारतबाट वीरगन्ज नाका हुँदै प्रवेश गर्ने १४ जनामा कोरोना संक्रमण भेटिसकेको छ । वीरगन्ज नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा आइतबार मात्रै भारतबाट आएका ५३ जनाको एन्जिजेन प्राविधिबाट परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार एक नेपाली र ३ भारतीय गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी सैनुल्लाह अन्सारीले जानकारी दिए । हेल्थ डेस्कमा चैत २३ गते देखि एन्जिटजेन प्राविधिबाट कोरोनाको परीक्षण गर्न थालिएको हो ।

नाकाको हेल्थ डेस्कमा चैत २३ देखि वैशाख ५ गते दिँउसोसम्म ४ सय ४३ जनाको एन्टिजेन प्रविधिबाट परीक्षण गर्दा १४ जनामा कोराना संक्रमण भेटिएको अन्सारीले बताए । उनका अनुसार , १४ मध्ये ४ जना नेपाली र बाँकी १० जना भारतीय हुन् । संक्रमण भेटिएका नेपालीलाई सम्बन्धित पालिकासँग समन्वय गरेर होम आइसोलेसनमा बस्ने गरी पठाइएको उनले बताए ।

भरतीय संक्रमितलाई भने सीमावर्ती भारतीय प्रहरीको जिम्मा लगाएर भारततर्फ नै फर्काउने गरिएको अन्सारीले बताए । अन्सारीका अनुसार , नाकाको हेल्थ डेस्कमा , लामो समय भारतमा बसेर फर्किने नेपाली , भारतको भित्री भागबाट आउने भारतीय र शंकास्पद व्याक्तिहरुको मात्रै एन्टिजेन प्रविधीबाट कोरोना जाँच गर्ने गरिएको छ । भारतबाट आउने अन्यलाई भने थर्मलगनबाट तापक्रम मात्र नापेर वीरगन्ज प्रवेश गर्न दिइएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment