कालिका मावि बुटवलका प्रिन्सिपलसहित ८ जनामा कोरोना सङ्क्रमण, विद्यालय केहिदिनका लागी बन्द

३१ चैत, बुटवल । केन्द्रमा विद्यालय बन्द गर्ने कि खोल्ने विवाद बढ्दै जाँदा बुटवलको एक विद्यालय भने कोरोना सङ्क्रमणका कारण बन्द भएको छ। विद्यालयका प्रधानाध्यापक सहित ८ जना शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि कालिका मानव ज्ञान मावि बन्द भएको हो ।

नेपालमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै दैनिक सङ्क्रमितको सङ्ख्या बढिरहे पनि सरकारले विद्यालय बन्द गर्नेबारे निर्णय गर्न सकेको छैन। निजी विद्यालयका सञ्चालकहरू सरकारलाई विद्यालय बन्द गर्न नदिन दबाब बढाइरहेका छन्।

उता कालिकामा भने विद्यालय, शिक्षक र विद्यार्थी सङ्क्रमणको उच्च जोखिममा रहेको भन्दै सो विद्यालय नै बन्द गरेका छन्।

रुपन्देहीमा एउटै विद्यालयमा यति धेरै सङ्ख्यामा कोरोना सङ्क्रमण देखिएको यो पहिलो पटक हो। करिब ८ हजार विद्यार्थी अध्ययनरत रहेको सो विद्यालयमा आफुसहित शिक्षकहरु कोरोना सङ्क्रमणमा परेपछि विद्यार्थीलाई सङ्क्रमणबाट जोगाउन विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवालीले बताए।

प्रअ ज्ञवालीले भने’म आफै सङ्क्रमणमा परेर आइसोलेसनमा बसेको छु। विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार विद्यालय बन्द गरिएको हो।’

प्रअ ज्ञवालीका अनुसार कक्षा १० को परीक्षा सञ्चालन भइरहेका कारण थप तिन दिन मात्र सञ्चालन गर्ने र अन्य कक्षा केही समय अनलाइनमार्फत सञ्चालन गर्ने निर्णय भएको छ।

यता रुपन्देही लगायतका विभिन्न जिल्लामा पछिल्लो भेरियन्टको कोरोना केही विद्यालयहरूमा पनि देखिन थालेपछि पुनः शैक्षिक संस्थाहरू बन्द गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।

उता निजी विद्यालयको छाता संस्था प्याब्सनले भने विद्यालय बन्द गर्न नहुने तर्क पेस गर्दै आएको छ। केही दिनयता विद्यालय स्तरमा कोरोना सङ्क्रमणको सङ्ख्या बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए। सङ्क्रमण रोक्न सबैको सजगता र सचेतना आवश्यक रहेको बताउँदै डा.गिरीले सरकारले निर्धारण गरेका जनस्वास्थ्य मापदण्ड पालना गर्नुको विकल्प नरहेको कुरामा जोड दिएका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment