बेलायती राजकुमार फिलीपको अन्त्येष्टि अप्रिल १७ मा गरिने, ३० जना मात्रै सहभागी हुने

२९ चैत, लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको यही अप्रिल १७ मा अन्त्येष्टि गरिने भएको छ । बेलायतको राजदरबार बकिङ्घमका प्रवक्ताले ९९ वर्षको उमेरमा स्वर्गारोहण हुनु भएका फिलीपको अप्रिल १७ मा अन्त्येष्टि गर्ने निर्णय भएको शनिबार जानकारी दिएका छन् ।

गत शुक्रबार नै उनको निधन भए पनि संवैधानिक प्रक्रिया मार्फत उनको अन्त्येष्टि गर्नुपर्ने भएकाले ढिला हुने अधिकारीहरुले बताएका छन् । स्थानीय समय अनुसार अप्रिल १७ तारिखको दिउँसो ३ बजे विन्डसोरमा रहेको जर्ज गिर्जाघरमा उनको अन्त्येष्टि सुरु गरिने तय भएको छ ।

कोरोनाभाइरसको महामारीका कारण अन्त्येष्टि समारोहमा सर्वसाधारणलाई सहभागी हुन नदिइने भएको छ । साथै अत्यावश्यक ठानिएका ३० जना व्यक्तिलाई मात्रै सहभागी गराइने भएको छ ।

उनको निधनमा देशभरि आठ दिन शोक मनाउने निर्णय भएको सरकारले जनाएको छ । शोक मनाउने समयमा देशभरी राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ भने राजदरबारमा पुरै झण्डा झुकाइने भएको छ ।

फिलीपको निधनपछि बेलायती पूर्व-युवराज ह्यारी पनि केही समयका लागि दरबार फर्किने भएका छन् । राजपरिवारको सम्पूर्ण जिम्मेवारी त्यागेर अमेरिकामा बस्दै आएका ह्यारी आफ्नी श्रीमती मेघन बेगर नै बेलायत आउन लागेकाे जनाइएकाे छ । मेघन गर्भवती भएकाले यात्रा नगर्न चिकित्सकहरुले सुझाव दिएका थिए ।

दरबारमा फूल नचढाउन आग्रह

दिवंगत फिलीपको सम्मानमा शनिबार देशभरी सलामी दिइएको थियो । उनलाई श्रद्धान्जली दिन दरबारमा फूल नचढाउन पनि शाही अधिकारीहरुले आग्रह गरेका छन् । बरु उनको सम्झनामा सामाजिक कार्यमा योगदान गर्न शाही सदस्यहरुले प्रोत्साहन गरेका छन् ।

बेलायतकी महारानी एलिजाबेथ द्वितीयका श्रीमान् राजकुमार फिलीपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घमले घोषणा गरेको थियो ।

सन् १९४७ मा एलिजावेथसँग बिहे गरेका राजकुमार फिलिपले बेलायतकी महारानीसँग ७३ वर्षसम्म वैवाहिक जीवन बिताएको राजदरबारले जनाएको छ । उनीहरूको विवाह भएको पाँच वर्षपछि मात्र एलिजावेथ महारानी बनेकी थिइन् ।

‘द ड्यूक अफ एडिनबरा’को उपाधिले चिनिने राजकुमार फिलिपलाई एक महिना बेलायती अस्पतालमा भर्ना गरी उपचारपछि निवासमा लगिएको थियो । राजकुमार फिलिप र रानीका चार सन्तान, आठ नाति-नातिनी र १० जना पनाति–पनातिनीहरू छन् । राजकुमार फिलिप ‘ग्रीक आइल्यान्ड अफ कोर्फु’मा सन् १९२१ जुन १० मा जन्मिएका हुन् । उनी हेलेन्सका राजा जर्ज प्रथमका कान्छा छोरा हुन् ।

शोकको यस घडीमा विश्व समुदायले उनलाई लामो समय बेलायती राजपरिवारको वरिष्ठ सदस्यका रूपमा कुशल नेतृत्व गर्नुभएको व्यक्तिका रुपमा स्मरण गरेका छन ।

रासस/एएनआई



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment