गोरखामा जीप दुर्घटना : दुई जनाको मृत्यु, सात घाइते

२१ चैत, गोरखा । गोरखाको बारपाकमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। सातजना घाइते भएका छन्।

लम्जुङको बिचौरबाट बारपाक भ्रमण गरेर फर्केका युवा चढेको जीप शनिबार साँझ पौने साते बजे दुर्घटना हुँदा बिचौरका दुई जनाको मृत्यु भएको उद्धारमा खटिरहेका स्थानीय टेकबहादुर गुरुङले जानकारी दिए।

‘अहिले भर्खरै दुर्घटना भएको हो। दुईजना मरिसकेका छन्। सातजनालाई उतारेर बसमा हालेर अस्पताल पठाउने तयारी भइरहेको छ’, गुरुङले भने, ‘प्रहरी पनि भर्खरै आइपुगेका छन्। मृतक र घाइतेको नाम ठेगाना केही पनि खुलेको छैन।’

जीप राङरुङको भीरबाट ६० मिटर तल दरौँदी खोलामा खसेको उद्धारमा खटिएका अर्का स्थानीय कुमार गुरुङले बताए।

घटनाबारे जानकारी पाउने बित्तिकै इप्रका जौबारीका इन्स्पेक्टरको कमाण्डमा जौबारी र प्रहरी चौकी बालुवाबाट टोली खटिएको जिल्ला प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिए।

जीपमा ९ यात्रु मात्र सवार रहेको स्थानीयले बताएका छन्।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment