पोखरी निर्माणमा भ्रष्टाचार : प्रमुख प्रशासकीय अधिकृतसहित ६ जना विरुद्ध मुद्दा

२० चैत्र, मोरङ । मोरङस्थित पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुरे भावर संरक्षण कार्यक्रमअन्तर्गत शनिश्चरे नगरपालिकामा पोखरी निर्माणका लागि प्राप्त रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा प्रमुख प्रशासकीय अधिकृतसहित छ जनाविरुद्ध हिजाे विशेष अदालतमा मुद्दा दायर गरेको हाे । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धमलासहित इन्जिनियर कृष्णप्रसाद कोइराला र सबइन्जिनियर लीलाराज भट्टराई तथा चुरे संरक्षण पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर गुरुङ, सचिव नवीन ढकाल र कोषाध्यक्ष विनिता देवानविरुद्ध २४ लाख २७ हजार बिगो कायम गरी बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पोखरी निर्माण सम्पन्न नभई रकम  भुक्तानी भएको अनुसन्धानबाट खुलेपछि कारबाही अगाडि बढाएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

धमला, कोइराला र भट्टराईले पोखरी निर्माण भइसकेको भनेर गलत कार्यसम्पन्न प्रतिवेदन तयार तथा स्वीकृत गरेको, नगरपालिकाको योजना तथा गलत प्रतिवेदन पेस तथा जाँचपास गरेको, झुटा बिल बनाई स्वीकृत गरेको आरोप छ ।

यसैगरी, समितिका तीन पदाधिकारीले निर्माण सम्पन्न भएको झुटो विवरण पेस गरी भुक्तानी लिने काममा सहयोग गरेर लाभ लिएको दाबी छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment