वैदेशिक रोजगारीमा जाने श्रमिकको वायोमेट्रिक हाजिरी परीक्षा नमिले श्रमिकहरु विदेश जान नपाउने

२० चैत, काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकको वायोमेट्रिक हाजिरी परीक्षा नमिले श्रमिकहरु विदेश जान नपाउने भएका छन् । वैदेशिक रोजगार विभागले आगामी वैशाख १ गतेदेखि वायोमेट्रिक हाजिरी परीक्षा लागु गर्ने भएको छ ।

विभागले विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा बायोमेट्रिक हाजिरी नमिलेमा श्रमिकहरु विमानस्थलबाट नै फर्काइने उल्लेख गरेको छ । पछिल्लो समयमा अनिवार्य रुपमा लिनुपर्ने अभिमुखीकरण तालिम नलिई तालिमको प्रमाणपत्र मात्र लिने÷दिने गरिएको पाइएको विभागले विज्ञप्तीमा उल्लेख गरेको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा (२७) र वैदेशिक रोजगार नियमावली, २०६४ उपनियम (२०) मा वैदेशिक रोजगारीमा जाने कामदारले वैदेशिक रोजगारमा जानु पूर्व तोकिए बमोजिमको अभिमुखीकरण तालिम लिनुपर्ने स्पष्ट व्यवस्था गरेको छ ।

अभिमुखीकरण तालिम दिने संस्थाले तोकिएको समयमा सम्बन्धित व्यक्तिको बायोमेट्रिक हाजिरी गराई वैदेशिक रोजगार बोर्डले स्वीकृत गरेको पाठ्यक्रम अनुसारको तालिम दिनु पर्ने व्यावस्था रहेको छ । आफूले तालिम दिएको व्यक्तिको हाजिरी विवरण विभागको अनलाइन सूचना व्यवस्थापन प्रणालि (फेमिस)मा राख्नु पर्ने व्यावस्था छ ।

तोकिएको समयभित्र तालिम नलिएको तथा अर्को व्यक्तिको बायोमेट्रिक हाजिरी विवरण रेकर्ड गराई तालिम गराएको र लिएको कारणले विभागको श्रम कक्षबाट वैदेशिक रोजगारीमा जाने कामदारको बायोमेट्रिक हाजिरी विवरण व्यक्ती स्वयंको उपस्थितीमा मिलान गराउँदा आधिकारिक नभएको देखिएको जनाएको छ । यसबाट वैदेशिक रोजगारीमा जाने कामदारलाई निम्न बमोजिमको असुविधा पर्न जाने छ ।

१.नक्कली बायोमेट्रिक प्रयोग गर्दा इन्स्योरेन्स तथा कल्याणकारी कोषवाट प्राप्त हुने सुविधाबाट बञ्चित हुनसक्ने ।

२.बायोमेट्रिक नमिल्दा विदेशबाट पूनः श्रम स्वीकृती प्राप्त गर्न कठिन हुने ।

३.गन्तव्य मुलुक सम्बन्धी जानकारी, वैदेशिक रोजगार सम्बन्धी कानुन तथा अन्य आवश्यक कानुन सम्बन्धी जानकारी, सुरक्षित रोजगारी तथा अन्य हक अधिकारका विषयवाट समेत बञ्चित हुने ।

त्यसैले, विभागले वैदेशिक रोजगारीमा जाने कामदारले वैदेशिक रोजगारमा जानु पूर्व तोकिए बमोजिमको अभिमुखीकरण तालिम लिन अनुरोध गरेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment