कोरोना भाइरस चीनको प्रयोगशालामा बनाइएको भन्ने विषयलाई पुष्टि गर्न थप अनुसन्धान आवश्यक – डब्ल्यूएचओ

१८ चैत, बीबीसी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस चीनको प्रयोगशालामा बनाइएको भन्ने विषयलाई पुष्टि गर्न थप अनुसन्धान आवश्यक रहेको बताएको छ । कोरोना भाइरस प्रयोगशालामा बनाइएको सम्भावना ज्यादै न्यून रहेको बताउँदै संगठनका प्रमुख टेड्रोस अदनोम गेब्रेयससले थप अध्ययन आवश्यक रहेको बताएका हुन् ।

“कोरोना भाइरस प्रयोगशालाबाट फैलिएको भन्ने सिद्धान्तमाथि थप विज्ञहरुसहितको थप अध्ययन गर्न आवश्यक छ,” मंगलबार एक प्रतिवेदन सार्वजनिक गर्दै गेब्रेयससले भने ।

गएको जनवरीमा विज्ञहरुको एउटा अन्तर्राष्ट्रिय टोली भाइरसको उत्पत्तिका विषयमा अध्ययन गर्न वुहान गएको थियो । चिनियाँ अधिकारीले उपलब्ध गराएका नमुनाहरुको आधारमा उनीहरुले अध्ययन गरेका थिए । तर, नयाँ र ताजा नमुना प्राप्त गर्न नसकिएको गेब्रेयससले बताएका छन् ।

डब्ल्यूएचओलाई आवश्यक तथ्यांक उपलब्ध नगराएको भन्दै अमेरिका र अन्य पश्चिमा राष्ट्रहरुले चीनको आलोचना गरेका छन् ।

पहिलो पटक सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा कोरोना भाइरस भेटिएपछि चीनले भाइरस बनाएको आरोप लगेको छ । तर चीनले भने आरोपको खण्डन गर्दै आएको छ ।

मंगलबार डब्ल्यूएचओ र चीनले संयुक्त रुपमा प्रतिवेदन सार्वजनिक गर्दै प्रयोगशालाबाट भाइरस फैलिएको सम्भावना ज्यादै न्यून रहेको उल्लेख गरेका छन् । चमेरोबाट अन्य जनावर हुँदै भाइरस मान्छेमा संक्रमण भएको प्रबल सम्भावना रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment