निगमसँग रहेका चिनियाँ जहाजको व्यवस्थापन हुने

१७ चैत, काठमाडौं । सरकारी निर्णयअनुसार नेपाल वायुसेवा निगमसँग रहेका छ वटा चिनियाँ जहाजको व्यवस्थापन हुने भएको छ । चिनियाँ जहाज प्रभावकारीरुपमा सञ्चालन तथा व्यवस्थापन हुन नसक्दा आर्थिक भार बेहोरिरहेको निगमका लागि यो व्यवस्थापन निकै ठूलो उपलब्धी हो । निगमसँग दुई वटा ‘एमए ६०’ र चार वटा ‘वाई १२ ई’ गरी छ चिनियाँ जहाज छ । यी जहाज आन्तरिक उडान प्रयोजनका निम्ति ल्याइएको थियो ।

एक एमए ६० र एक वाई १२ जहाज नेपाल सरकारलाई चिनियाँ सरकारबाट ‘जिटुजी’ वापत अनुदानमा प्राप्त गरेको थियो । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले सरकारलाई प्राप्त अनुदानको दुई जहाज वापत थप एक एमए ६० जहाज र तीन वटा वाई १२ जहाज सहुलियतपूर्ण ऋणमा चीनको विमान उत्पादन गर्ने कम्पनी ‘एभिक इन्टरनेश्नल’ बाट खरिद गरेको थियो ।

‘लोड पेनाल्टी’, बीमा, ‘पार्टस’को आपूर्ति, महङ्गो ‘पार्टस’, महङ्गो ‘सिमुलेटर’ तालीमलगायतको समस्याले चिनियाँ जहाजको सञ्चालनमा निगमले निकै नै आर्थिक नोक्सानी बेहोर्दै आएको थियो ।

निगमका सह–प्रवक्ता सुलेख मिश्रका अनुसार २०७७ असार १६ गतेको सञ्चालक समितिको वैठकले सोही वर्षको साउन १५ गतेबाट सम्पूर्ण चिनियाँ जहाज ‘ग्राउन्डेड’ गर्ने निर्णय गरेको थियो । चिनिया जहाजँमध्ये पाँच वटा मात्र सञ्चालन योग्य छन् । एक बिग्रिएको छ । नाइन एन एकेयु कलसाइन जहाज २०७६ चैत १५ गते नेपालगञ्जस्थित धावनमार्गमा दुर्घटना भई सञ्चालन गर्न नमिल्ने अवस्थामा रहेको छ । बाँकी पाँच वटा विमानको लागि ‘लिजआउट’ गर्ने निगमको योजना छ ।

निगमले २०७० र त्यसपछि विभिन्न मितिमा चिनियाँ जहाज भित्र्याएको थियो । २०७१ बाट आन्तरिक उडानमा चिनियाँ जहाज प्रयोग भएको थियो । निगमले चिनियाँ जहाज ग्राउन्डेड गरेदेखि सरकार समक्ष सोको व्यवस्थापनका लागि पत्राचार गर्नुको साथै उपयुक्त व्यवस्थापनका लागि अनुरोध गर्दै आएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment