कामिरिताले लिनुभयो पहिलो नेपाली माउन्टेन गाइडको लाइसेन्स

१० चैत, काठमाडौं । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले सरकारले प्रदान गरेको माउन्टेन गाइड लाइसेन्स लिनु भएको छ । पर्यटन विभागले मंगलबारदेखि दिन शुरु गरेको माउन्टेन गाइड लाइसेन्स पहिलो पटक २४ औं पटक सगरमाथाको आरोहण गरेका कीर्तिमानी आरोही शेर्पाले लिनु भएको हो ।

पर्यटन विभागले पहिलो पटक ‘माउन्टेन गाइड’ लाइसेन्स वितरण शुरु गरेको छ । विभागले नेपाल पर्वतारोहण संघबाट रातो किताब लिएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट प्रदान गरेको तह चारको माउन्टेन गाइड प्रमाणपत्र पाएका पर्वतारोहीलाई योग्यता पुग्ने गरी लाइसेन्स लिन आउन सूचना जारी गरेको छ । मंगलबार विभागले औपचारिक रुपमै कामिरितालाई लाइसेन्स वितरण गरेको छ । शेर्पाको लाइसेन्स आइडी कार्ड नम्बर १ रहेको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट तह चारको माउन्टेन गाइड प्रमाणपत्र लिने ११ जना र नेपाल पर्वतारोहण संघबाट रातो किताब पाएका दुई हजार ९४ जना गरी २१ सय पाँच जनाले लाइसेन्स प्राप्त गर्ने विभागका निर्देशक मीरा आचार्यले बताउनुभयो ।

६८ वर्षअघि सन् १९५३ मा एडमण्ड हिलारी र तेञ्जिङ शेर्पाले सगरमाथाको पहिलाे आरोहण गरेदेखि हालसम्म माउन्टेन गाइडको पहिचान खुल्ने गरी सरकारले कुनै पनि प्रमाणपत्र प्रदान गर्न सकेको थिएन । पर्वतारोहीको मनोबल बढाउन र राज्यको सेवासुविधामा थप सहयोग पुग्ने लक्ष राखेर लाइसेन्स वितरण शुरु गरेको विभागले जनाएको छ । इजाजतको समयावधि पाँच वर्षको हुनेछ ।

आरोहणका लागि खुल्ला गरेका ४१४ वटा हिमालमा हाल पर्वतारोहीहरुले गाइडको रुपमा काम गर्दै आएका छन् । गाइडै कारण वार्षिक सयौँ विदेशी आरोहीहरु आरोहणका लागि आउने गरेकाले यसले राज्यले करोडौं आम्दानी हुने गरेको विभागको तथ्याङ्क छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment