ट्यांकर व्यवसायीकाे मिलाेमताेमा, नेपालबाट भारत तेल तस्करी गर्न गिरोह सक्रय भएकाे खुलासा

०५ चैत, विराटनगर । नेपालको सीमा क्षेत्रबाट भारततर्फ तेलको तस्करी मौलाएको छ । नेपालमा सस्तो भएपछि नेपालबाट भारत तेल तस्करी गर्न गिरोह नै सक्रय भएको तथ्य पाइएको छ । नेपाल आयल निगमले यसको नियन्त्रण गर्न गृह मन्त्रालयलाई आग्रह गरेको छ । तर, प्रभाव देखिएको छैन ।

सीमा क्षेत्रबाट भारतीय सवारीहरु गाडीमा तेल भर्न नेपाल आउने क्रम बढेको छ । जसका कारण भारततीय सीमा क्षेत्रका पम्पको कारोबार ५० प्रतिशत घटेको खबर भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

ड्रम र ग्यालेन ल्याएर तेल भरेर भारतका बज्ाारमा बिक्री गर्ने समूह नै सक्रिय छन् । अहिले नेपालमा भारतको रक्सौल आसपासको बजारमाभन्दा पेट्रोल र डिजेल सस्तो छ ।

भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो भएपछि नेपालबाट भारततर्फ इन्धनको तस्करी बढ्न थालेको छ । केही दिनअघि मात्रै प्रहरीले ढुवानी व्यवसायी एवं पुर्वाञ्चल ढुवानी व्यवसायी संघका सचिवले सञ्चालन गर्दै आएको ट्यांकरले नेपालबाट भारततर्फ लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

गत शनिबार मोरङ प्रहरीले दुई हजार छ सय ५० लिटर डिजेल हालेर भारततर्फ जानलागेको को १ ख ५९१२ नम्बरको ट्यांकरसहित दुई जनालाई पक्राउ गरेको थियो ।

पछिल्लो समय भारतबाट नेपालमा पेट्रोलियम पदार्थ आयात गर्ने ट्यांकरले नेपालको लागि भनेर इन्धन ल्याउने र सोही इन्धन भारततिरै फर्काउने गरेका छन् ।

नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरले प्रहरीलाई उजुरी गरेपछि मोरङ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको ट्यांकर ढुवानी व्यवसायी संघका सचिव चरणप्रित सिंग भएको पाइएको छ । उनले भारतमा नै बसेर सबै चाँजोपाँजो मिलाउने गरेको रहस्य पनि खुलेको छ । ट्यांकरबाटै हुन लागेको तस्करीमा पेट्रोलियम व्यवसायीको पनि संलग्नता हुनसक्ने आशंका बढेर गएपछि पछिल्लो समय मोरङ प्रहरीले पनि आफ्नो अनुसन्धान पेट्रोलियम व्यवसायीप्रति नै केन्द्रित बनाएको छ ।

मोरङको बुढीगंगा गाउँपालिकाको नेमुवास्थित रहेको नितेश इन्टरप्राइजेजबाट उक्त परिमाणको डिजेल भरेर ट्यांकर भारततर्फ फेरि नेपालको लागि पेट्रोल भर्न जाने तयारीमा रहेको बेला तेल तस्करीको रहस्य खुलेको हो । उक्त नितेश इन्टरप्राइजेजका सञ्चालक महेश अग्रवाल हुन् । उनले पम्पबाट भ्याट बिल समेत जारी नगरी सोझै ट्यांकरबाट ठूलो परिमाणमा डिजेल बिक्री गर्दै आएको स्रोतको दाबी छ ।

व्यवसायी अग्रवाल इन्धन वितरण प्रक्रियामा समेत पटक–पटक विवादमा आउने गरेका छन् । भारतको बरौनीबाट आएको सो ट्यांकरले आयल निगम विराटनगरबाट जाँचपास गराई गत शनिबार पेट्रोल पम्पमा खन्याएर पुनः तेल भर्नका लागि भारत जाने क्रममा पक्राउ परेको हो ।

गत आइतबार भारततर्फ जानुअघि पुनः
आयल निगममा सिल गराउन गएको ट्यांकरमा निगम कर्मचारीले डिजेल फेला पारेपछि आवश्यक कारबाहीका लागि आयल निगमले प्रहरीको जिम्मा लगाएको थियो । डिजेल भारततर्फ तस्करी गर्ने कार्यमा संलग्न को १ ख ५९१२ नम्बरको ट्यांकरका चालक र सहचालक भारत जोगबनी मिरगञ्ज निवासी २६ वर्षीय मोहमद सजाद र २१ वर्षीय इमरोज आलम अहिले पनि प्रहरीको नियन्त्रणमा रहेका छन् । तर ढुवानी व्यवसायी चरणप्रित सिंग अझै भारतमा नै छन् ।

करिब दुई वर्षअघि पनि उनै चरणप्रित सिंगका नातेदार एवं ढुवानी व्यवसायी गुरुदेव सिंगले सञ्चालन गर्दै आएको ट्यांकरबाट पनि इन्धन तस्करी भएको थियो । उसबेला उक्त घटनाबाट उन्मुक्ति पाएका गुरुदेव सिंगकै सिको गर्दै उनका आफन्तबाट अहिले इन्धन तस्करी हुनु कुनै अनौठो नभएको पेट्रोलियम व्यवसायीहरूको भनाइ छ ।

करिब दुई महिनाअघि मात्रै गुरुदेव सिंगको नाममा सञ्चालन हुँदै आएको ना ४ ख ५०९९ नम्बरको ट्यांकरले पनि आफ्नो ट्यांकरमा भएको तेल भर्ने नोजलको स्वरूप नै परिवर्तन गरेको थियो । उक्त ट्यांकरलाई दुई महिनाको निलम्बनपछि ढुवानी अनुमति दिएको केही दिनभित्रै तेल तस्करीको नयाँ घटना सार्वजानिक भएको हो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment