झलनाथको अध्यक्षतामा एमाले ‘खनाल–नेपाल’ समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरु, नेपाल विशेष अतिथि

०४ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को असन्तुष्ट पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । सानेपाको हेरिटेज गार्डेनमा सुरु भएको भेलाको अध्यक्षता एमालेका वरिष्ठ नेता झलनाथ खनालले गरेका छन् भने नेता माधवकुमार नेपाल विशिष्ट अतिथि बनेका छन् ।

नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र)बीच एकता भएर नेकपा एमाले बनेपछि त्यहाँ देखिएको असमझदारीले एकप्रकारको ध्रुवीकरण भएकोमा खनाल–नेपाल समूह प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक संसद् विघटनविरुद्ध उभिँदा प्रचण्ड पक्षमा परेका थिए ।

तर, सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गरिसकेपछि प्रधानमन्त्री ओलीको विकल्प खोजी जारी रहँदा सर्वोच्चको अर्को फैसलाले पार्टी एकता नै खारेज गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र) बनाइदिएको थियो । खनाल–नेपालले त्यो फैसलाप्रति विमति राख्दै फैसला स्वीकार गरेर एमाले फर्कने घोषणा गरे ।

ओलीले भने २३ माओवादी नेतालाई केन्द्रीय समितिमा नियुक्ति गर्ने, अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी विघटन गरी महाधिवेशन आयोजक समिति घोषणा गर्नेसहितका निर्णय गरे । फागुन २८ गते ओलीले एकलौटी निर्णय गरेपछि खनाल–नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो । भेलाबाट समानान्तर कमिटी घोषणा गरेर देशव्यापी अभियानमा जाने खनाल–नेपाल समूहको तयारी छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment