कालीगण्डकीको पानी लिफ्ट गरेर तानसेनमा

०४ चैत्र, काठमाडौं । तानसेनमा लिफ्टिङ खानेपानी आयोजनाअन्तर्गतको पहिलो चरणको काम सकिएको छ । तानसेन–१३, बौघागुम्हास्थित कालीगण्डकी नदीबाट बोरिङ गरी तानसेन कैलाशनगरस्थित बतासेडाँडाको भण्डारसम्म पानी ल्याउने काम पूरा भएको छ ।

छवटा स्टेसनमार्फत एक हजार ४४ मिटर उचाइमा रहेको रिजर्ब ट्याङ्कीमा पानी ल्याउने काम सम्पन्न भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय अर्घाखाँचीले जनाएको छ । दुई वर्षअघि नै सक्नुपर्ने खानेपानी आयोजनाको पहिलो चरणको काम सकिएको कार्यालय प्रमुख रामप्रसाद घिमिरेले जानकारी दिए ।

पहिलो चरणमा गर्नुपर्ने कालीगण्डकीदेखि तानसेनको खानेपानी रिजर्ब ट्याङ्कीसम्म पानी ल्याउनुपर्ने काम सकिएको उनले बताए । पहिलो चरणमा छवटा पम्पस्टेसन, पाँचवटा ट्याङ्की निर्माण, पम्प हाउस र करुवा घर निर्माणको काम सकिएको छ ।

यस्तै पाइप विस्तार, विद्युत् विस्तार, मूल ट्याङ्की बनाउने काम समेत सकिएको छ । पाँच वर्षअघि पहिलो चरणको काम गर्न ठेकेदार कम्पनीसँग २५ करोड ३९ लाखमा सम्झौता भएको थियो ।

पहिलो चरणको काम सकिएर पानी पिउन योग्य छ÷छैन भनेर प्रयोगशालामा जाँच गर्ने काम भइरहेको छ ।े अब पानीको जाँच गरेपछि पिउन योग्य पानी भएको खण्डमा उपभोक्तालाई वितरण प्रक्रिया सुरु हुनेछ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment