राष्ट्र बैंकमा ९ जना कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर, २ निर्देशकलाई कामु कार्यकारी

०३ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ जना कार्यकारी निर्देशकको सरुवा गरेको छ । राष्ट्र बैंकले बुधबार (४ चैत) देखि लागू हुने गरी कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरेको हो । बैंकले २ निर्देशकलाई कायम–मुकायम कार्यकारी निर्देशकमा मुकररसमेत गरेको छ ।

निलम ढुंगाना र बमबहादुर मिश्र डेपुटी गभर्नरमा नियुक्त भएसँगै २ कार्यकारी निर्देशकको पद रिक्त थियो । नयाँ जिम्मेवारीअनुसार डा. प्रकाशकुमार श्रेष्ठलाई आर्थिक अनुसन्धान विभागमा पठाइएको छ । यसअघि उनी लघुवित्त वित्तीय संस्था सुपरिवेक्षणको विभागीय प्रमुख तथा अर्थ मन्त्रायलमा आर्थिक सल्लाहकारसमेत थिए ।

यसअघि अर्थिक अनुसन्धान विभागको प्रमुख तथा प्रवक्तासमेत रहेका डा. गुणाकर भट्टलाई भने बैंक सुरिवेक्षण विभागको जिम्मेवारी दिइएको छ । यसअघि बैंक सुपरिवेक्षण विभागको नेतृत्व गरिरहेका मुकुन्दकुमार छेत्रीलाई वित्त व्यवस्थापन विभागमा सरुवा गरिएको छ । यसैगरी, यसअघि विकास बैंक सुपरिवेक्षणमा रहेका कार्यकारी निर्देशक ऋषिकेश भट्टलाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा पठाइएको छ ।

विकास बैंक सुपरिवेक्षणको जिम्मेवारी भने यसअघि वित्त व्यवस्थापनको विभागीय प्रमुख रहेका प्रदीपराज पौड्याललाई दिइएको छ । यसैगरी, राष्ट्र ऋण व्यवस्थापन विभागको जिम्मेवारी कार्यकारी निर्देशक नरेश शाक्यले पाएका छन् । यसअघि उनले बैंकिङ विभागको नेतृत्व गर्दै आएका थिए ।

बैंकिङ विभागमा भने संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामबहादुर मानन्धरलाई सरुवा गरिएको छ । यसअघि सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा रहेका सुमनकुमार अधिकारीलाई लघुवित्त संस्था सुपरिवेक्षणमा सरुवा गरिएको छ । त्यस्तै, जनशक्ति विभागका रामु पौडेललाई विदेशी विनिमय व्यवस्थापन विभागको जिम्मेवारी सुम्पिएको छ ।

राष्ट्र बैंकले २ निर्देशकलाई कामु कार्यकारी निर्देशकमा मकरर गरेको छ । यसअघि मुद्रा व्यवस्थापनमा रहेका निर्देशक दयाराम शर्मा पंगेनीलाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा कामु कार्यकारी निर्देशकमा मुकरर गरिएको छ । त्यस्तै, जनशक्ति व्यवस्थापन विभागमा रहेका निर्देशक तुलसीप्रसाद घिमिरेलाई जनशक्ति विभागमा कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment