प्युठान सिमेन्टका मालिकको सम्राट सिमेन्ट बिक्रीवितरणमा प्रतिबन्ध

२८ फागुन, काठमाडौं । शुभश्री अग्नि अर्थात् प्युठान सिमेन्टका मालिकको अर्को सिमेन्ट उद्योग दाङको सतबरियामा रहेको सम्राट सिमेन्ट कम्पनी प्रालिले उत्पादन गरेको ओपीसी गुणको देव स्रमाट प्रिमियम सिमेन्ट बिक्रीवरणमा प्रतिबन्ध लगाइएको छ ।

नेपाल गुणस्तरको इजाजतपत्र नलिई नेपाल गुणस्तर प्रमाण चिह्न प्रयोग गरी सिमेन्ट बिक्रीका लागि राखेको भेटिएपछि गुणस्तर तथा नापतौल विभागले देव सम्राट ओपीसी–५३ ग्रेडको सिमेन्ट बिक्रीवितरणमा प्रतिबन्ध लगाएको हो ।

सम्राट सिमेन्टका मालिक मुकुन्द प्रसाद तिमिल्सिना हुन् । उनी भक्तपुर इँट्टा टायल कम्पनीका पनि लगानीकर्ता हुन् । सम्राट सिमेन्टले अवैध काम गरेको पुष्टि भएपछि तिमिल्सिनाको प्युठान सिमेन्टको बारेमा पनि प्रश्न उठेको छ । छानबिन गर्दै जाँदा सम्राटबाहेक अन्य उत्पादनमा पनि छानबिन हुने नापतौल विभागका एक अधिकारीले जानकारी दिए ।

बुधबार नापतौल विभागको टोलीले गरेको अनुगमनका क्रममा उक्त उद्योगले नेपाल गुणस्तरको इजाजतपत्र प्राप्त नगरी ५३ ग्रेड (एनएस ५७२) मा नेपाल गुणस्तर प्रमाण चिह्न प्रयोग गरेको फेला पारेको थियो । गुणस्तर चिह्न नै नलिई लिएको भनेर बिक्रीवितरण गर्न थालेको भेटिएपछि नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन, २०३७ तथा नियमावली–२०४० बमोजिमको बर्खिलाप गरेको पाइएपछि विभागले बिक्रीवितरणमा प्रतिबन्ध लगाएर कारबाही अगाडि बढाएको हो ।

विभागले बुधबार विज्ञप्ति जारी गरी सम्राट सिमेन्ट कम्पनी प्रालि सतबरिया दाङबाट उत्पादित उक्त सिमेन्टलाई बिक्रीवितरणमा प्रतिबन्ध लगाएर ऐनअनुसार कारबाही अगाडि बढाइएको जनाएको छ । विभागका अनुसार करिब एक सय बोरा ओपीसी सिमेन्ट पीआरए जगदम्बा इन्टरप्राइज बाफल काठमाडौंमा बिक्रीमा राखेको फेला पारेपछि प्रतिबन्ध लगाएर थप अनुसन्धान थालिएको हो ।

विभागका अनुसार गुणस्तर चिह्न राख्ने अनुमति लिएर मात्र बोरामा उल्लेख गर्नुपर्छ र त्यहीअनुसार सिमेन्ट पनि हुनुपर्छ । तर, उक्त उद्योगले कानुनी प्रक्रिया पूरै लत्याएर जबर्जस्ती सिमेन्ट उत्पादन गरेर बजारमा बिक्रीवितरण गरिरहेको छ । कतिपय उद्योगले गुणस्तर चिह्न लिएर त्योअनुसारको उत्पादन गरिरहेका छैनन् भने सम्राट सिमेन्टले भने गुणस्तर चिह्न नै नलिई लिएको भनेर उत्पादन गरेर वितरण गरिरहेको हो । उक्त कम्पनीले कति सिमेन्ट बिक्री गरिसक्यो भन्नेबारे विभागले केही पत्ता लगाउनसकेको छैन ।

सम्राट सिमेन्ट उद्योगमा दैनिक पाँच सय जना कर्मचारी कार्यरत रहेको र ४६ बिघा क्षेत्रफलमा उद्योग फैलिएको कारण दैनिक लाखौँ रुपैयाँको सिमेन्ट बिक्रीवितरण गरेको अनुमान विभागले गरेको छ । करोडौँ रुपैयाँ लगानीको उक्त उद्योगले यो हदसम्मको बदमासी गर्छ भनेर विभागले कल्पनै नगरेको एक अधिकारीले जानकारी दिए ।

नेपालका सिमेन्ट तथा रड उद्योगले पटक–पटक गुणस्तरहीन वस्तु उत्पादन गरेर बिक्रीवितरण गरे पनि विभागले कडा कारबाही गरेर रोक्नसकेको छैन । मानिसले जीवनभर एकपटक बनाउने घर तथा भवनमा सिमेन्ट र रडको प्रयोग हुन्छ । त्यही भवन बनाउने सामान नै पटक–पटक गुणस्तरहीन उत्पान गर्ने गरिएको पुष्टि भएको छ । यस्तो कार्यलाई गम्भीर अपराधको रुपमा लिएर कारबाही गर्नुपर्ने विभागकै कर्मचारीहरु बताउँछन् । तर, विभागले सामान्य कारबाही गरेर छाड्ने गरेको छ । यसले गर्दा मौका पाउनासाथ उद्योगीहरुले सिमेन्ट र रड कमसल अर्थात् गुणस्तरहीन उत्पादन गर्ने गरेका छन् । आजकाे आर्थिक दैनिकले छापेकाे छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment