आज शिवरात्रि, सेना दिवस र संवेदनशीलता

२७ फाल्गुन, काठमाडाैं । कुनै पनि संगठनले लागु गर्ने कानुन र नियमको संशोधन व्यक्तिको स्वार्थमा नभई प्रणाली र विधि निर्माणका लागि हुनुपर्छ

कोरोना महामारीको सुरुवाती दिन अति नै पीडादायी र त्रासदीपूर्ण हुदा यो वर्षका चाडपर्व, दिवस र उत्सव निरस, गुमनाम झैं र उत्साहशून्य अवस्थामा बिते। अहिले परिस्थिति सहजयुक्त हुँदै गएको र भ्याक्सिन पनि आइसकेकाले यो अवस्थाबाट मानिसलाई राहत पुग्दै जानेछ। आज हामी शिवरात्रि मनाउँदै छौं। सेना दिवस पनि आजै परेको छ। चेतना र योग विद्याको जनक शिवलाई मानिन्छ भने सेना राष्ट्रिय शक्तिको प्रमुख तत्वमध्ये हो।

आदियोगी शिव र नेपाली सेनाको शक्तिद्वारा रक्षित यो पवित्र भूमि परचक्रीले विभिन्न कालखण्डमा टाउको उठाउन खोजे पनि निस्तेज पार्न सक्ने शक्तिका रूपमा आजको दिनको बहुकोणीय महत्व छ। राजनीतिक परिपेक्ष्यमा सेनालाई पनि जोडिने चर्चा–टिप्पणीको प्रसंग, हालै मनाइएको राष्ट्रिय एकता तथा पृथ्वीजयन्ती र नेपाली सेनाभित्रका सुधार एवं प्रवद्र्धनात्मक कार्यबारे यहाँ चर्चा गर्ने जमर्को गरेको छु।

मुुलुकमा सिर्जित राजनीतिक अवस्था र विभिन्न परिदृश्य एवं घटनाक्रमका परिपेक्ष्यमा छाएको अन्योल, अस्थिरता र असामञ्जस्यपूर्ण परिस्थितिका कारण विभिन्न कोण, दृष्टि र पक्षबाट समेत नेपाली सेनाको भूमिका एवं सक्रियताका सम्बन्धमा विभिन्नखाले टिप्पणी, विश्लेषण, चर्चा र प्रतिक्रिया सुन्नमा आएका छन्।

हिजोआज पार्टी र तिनका नेताभन्दा सेनामाथि बढी भरोसाजनित दृष्टि, तर्क, आशा र प्रसंग पनि उठ्ने गर्छन्। राजनीतिक महत्वाकांक्षा नबोकेको राष्ट्रिय सेनालाई राजनीतिमा तान्न, बिथोल्न र स्वार्थपूर्ण रूपमा ढाल्न पार्टी र अरूले पनि प्रयास गर्न नखोजेका होइनन्। लामो इतिहास र अनुभव, व्यावसायिक कुशलता र कार्य एकाग्रता तथा चेन अफ कमान्डको अविचलित प्रणालीले नै अहिलेसम्म सेनालाई जोगाएको छ। परिस्थिति बिग्रँदै र अनुत्तरदायी, अनधिकृत र गैरसंवैधानिक एवं गैरकानुनी काम, प्रक्रिया र खेल देखा पर्दै गए भने नेपाल र नेपालीको हितलाई सर्वोपरि महत्व दिन राष्ट्रिय सेना जस्तोसुकै अवस्थामा पनि चुक्न नहुने मान्यता र तर्कलाई नाजायज भन्न मिल्दैन।

संविधानका मूलभूत विशेषता भनिएका संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रजस्ता विषय नेपाली चाहनाभन्दा बढी अरूका स्वार्थका आयातीत विषय हुन् र यसमा पुनरावलोकन तथा कोर्स करेक्सन हुनुपर्छ भन्ने जेजस्ता आवाज र स्वर उठिरहेका छन्; त्यसले ढुक्क भएर देशको राजनीतिक प्रणालीलगायत महत्वपूर्ण विषय अब समाधान भए भन्न सकिने अवस्था देखिएन।

समस्या सुल्झिएको नभई बल्झिएको र अल्झिएको छ। देश पुनः अस्थिरता र संक्रमणतर्फ जाने खतराका संकेत देखा पर्दैछन्। अहिले राजनीतिक मुद्दाका खिचातानी, रस्साकस्सी र स्वार्थका खेलले स्थिरता र समृद्धिका कुरालाई नारा तथा गफमा मात्र सीमित राखेको अवस्था छ। हालसालैको संसद् विघटन र त्यसबाट सिर्जित अवस्था, त्यसपछिका सर्वोच्च अदालतका फैसला अनि अध्यादेशमार्फत भएका संवैधानिक नियुक्तिका प्रकरणले संकेत गरेको अवस्थाले भोलिका तस्बिर अन्योल तथा भ्रमपूर्ण हुने अनुमान भइरहेका छन्।

देशको अवस्था झन्झन् बिगँ्रदै पो जाने हो कि भन्ने त्रास, चासो र अन्योलले धेरै नेपालीको दृष्टि र आशा नेपाली सेनातर्फ फर्कनु स्वाभाविक पनि हो। यसलाई जनताको दृष्टिमा नाजायज भन्न सकिन्न।

देशको अवस्था झन्झन् बिगँ्रदै पो जाने हो कि भन्ने त्रास, चासो र अन्योलले धेरै नेपालीका दृष्टि र आशा नेपाली सेनातर्फ फर्कनु स्वाभाविक हो।
संवैधानिक निकायका भूमिका संदिग्ध, निष्प्रभावी, स्वार्थपूर्ण र भ्रमपूर्ण तथा अकर्मण्य देखिँदा नागरिकमा नैराश्य छाउनु र अन्य विकल्पबारे सोच उठ्नु स्वाभाविक र प्राकृतिक कुरा नै हो। देशमा संकट आउँदा स्थायी, भरपर्दो र स्वीकार्य संस्था खोइ ? संघीयता देशले धान्न नसक्ने र धर्मनिरपेक्षता देश हितमा नरहेको भन्ने भनाइमा के सत्यता छैन र ? यो विरोध मात्रै हो त ? यी कुरा पार्टी र तिनका नेताले सोच्नुपर्छ। नत्र जनता र नेपाली सेनाले बाध्य भएर सोच्ने दिन नआउला भन्न सकिन्न।

देशमा प्रजातान्त्रिक शक्ति कमजोर हँुदै जाने र अधिनायकवादी, दमनकारी, स्वेच्छाचारी र अहंकारी शक्तिको वर्चस्व बढ्दै गयो भने संविधान, कानुन, पद्धति, प्रणाली, नैतिकता, सदाचार, सुशासन, कूटनीति सबैमा ह्रास आउँछ र त्यो भनेको देश र जनताको पूर्ण अहितको अवस्थाको समय हो। यसर्थ आजका दिनमा यसबारे सोच्ने, विश्लेषण गर्ने र मनन गर्ने समय र सामथ्र्य राष्ट्रप्रेमी शक्तिमा आउनुपर्छ। कतिपय चर्चा, तर्क र विश्लेषणले सेनालाई केही असामञ्जस्य, धर्मसंकटको अवस्थाले सोच्न र बिचार्न बाध्य पार्न सक्छ।

प्रकृतिको संरक्षण गर्ने, पहरो खोपेर दुर्गम स्थानमा सडक पुर्‍याउने, विभिन्न विकास निर्माण, संकटका बेला उद्धारको अगुवा, विदेशमा समेत शान्ति स्थापनामा तल्लीन र देशभित्र रक्षा–सुरक्षाको प्रत्याभूति दिने प्रमुख अंग नेपाली सेनाका लागि अहिलेको समय महत्वपूर्ण, चुनौतीपूर्ण छ नै; विवेक र सुझवुझपूर्ण पनि हुनुपर्ने छ।

किनकि राजनीति बिग्रँदा सुरक्षा वातावरण बिग्रने, भ्रष्टाचार बढ्ने, एकता र सद्भाव बिथोलिने अनि विदेशीको चलखेल बढ्ने कुरा बिर्सन सकिन्न। स्वाभाविक गतिको कूटनीति बिगँ्रदा अलिकति आशा सैनिक कूटनीतिले जगाएका दृष्टान्त पनि छन् विगतमा। बलवान्लाई नष्ट गर्न यसको इतिहास, संस्कृति, सक्षमता र एकतापूर्ण सद्भाव नष्ट गर्ने तथा बिथोल्ने चेष्टा हुन्छन्। यसर्थ सेनाका लागि आजको दिन वीरता, सजगता र संवेदनशीलतालाई एकसाथ सम्झने र आत्मसात गर्ने दिन पनि हो।

नेपाल निर्माणको इतिहाससँगै जोडिएको नेपाली सेना संगठन, यसको संवैधानिक दायित्व तथा भूमिकाका आधारमा विश्लेषण गर्दा पृथ्वीनारायणलाई राष्ट्रिय एकीकरण एवं राष्ट्रिय एकताको प्रतीक आदर्श पुरुषका रूपमा स्थापित गर्नु, उनको अध्ययन केन्द्र स्थापना गर्नु, यथार्थमा स्वाभाविक, प्राकृतिक र परिपक्व सोचको परिणाम हो। उग्र राष्ट्रवादी नारा दिनेहरूले समेत राष्ट्रनिर्मातालाई अवमूल्यन गरे तर जनता र सेनाको सोच र अग्रसरताले राष्ट्रप्रेमी नेपालीलाई ठूलो भरोसा र हौसला दिएको छ। यहाँनेर यस विषयलाई पनि पुनः एकपटक स्मरण गरौं। नागरिक र सेना सम्बन्धका विषयमा यस्ता महत्वपूर्ण सन्दर्भ र घटना आधार स्तम्भसरह हुन्छन्।

न्यायालयलगायत प्रायः सबै संवेदनशील संवैधानिक निकायमा पार्टीका भागबन्डामा दलगत आचरणका व्यक्तिहरूको नियुक्ति र स्वार्थका अखडा बनेका बेला सेना विविध उतारचढावबीच पनि सुदृढ, व्यावसायिक र सक्षम संगठनका रूपमा बाँच्न सक्नु त्यो संगठन हाँक्ने नेतृत्वको सुझबुझ र सक्षमताका कारणले पनि सम्भव भएको हो। सेनाको स्वाभाविक नेतृत्व परिवर्तनका क्रममा विघ्न अवरोध नपर्दा संगठन जोगिन्छ भन्ने एउटा उदाहरण पनि छ। भविष्यमा पनि यस्ता महत्वपूर्ण कार्यशैलीले निरन्तरता पाउनुपर्छ। कानुन र नियम संशोधन ह“ुदा व्यक्तिको स्वार्थमा नभई प्रणाली र विधि निर्माणमा सहयोग पुग्नका लागि हुनुपर्छ भन्ने सबैले स्मरण गरौं। यो सबै संगठनमा लागू हुन्छ।

सेना एउटा सुदृढ, व्यावसायिक र स्थिर संगठन हो। यो चेन अफ कमान्डमा चल्ने कठोर अनुशासनयुक्त संगठन हो। यो संगठनभित्र प्रधानसेनापति एउटा पद मात्र नभई महत्वपूर्ण संस्था हो। एउटा व्यक्ति सक्षम, सदाचारी, दृढ र सुधारोन्मुख हुँदा त्यो संगठन कति लाभान्वित हुन्छ र सुधार तथा सुदृढीकरणका कार्य कसरी प्रभावकारी बन्छन् भन्ने दृष्टान्त नेपाली सेनाभित्र वर्तमान प्रधानसेनापतिको कार्यकालमा स्पष्टसँग देखिएको छ। यहाँ यसअघिका प्रधानसेनापतिलाई अवमूल्यन गर्न खोजिएको होइन।

नेतृत्व तहमा इच्छाशक्ति, सदाचारी प्रवृत्ति र क्षमता हुँदा छोटो समयमा पनि धेरै सुधार र प्रवद्र्धनका कार्य हुन सक्छन् भन्ने वर्तमान सैनिक नेतृत्वले देखाएको छ। सेनामा भएका अनियमितता, काखापाखाका विषय, दण्ड पुरस्कार, पिरमर्काको विषय, क्षमता अभिवृद्धिजस्ता कुरा सेनाभित्रकै नेतृत्व वर्गको दृष्टि, सुझबुझ, क्रियाशीलता र निरन्तरताबाट मात्र सम्भव हुन्छ। वर्तमान नेतृत्वले सुधार र सुदृढीकरणका लागि गरेका कार्य र चालेका कदमको मूल्यांकन हुँदै र नतिजा देखिँदै जाला। रूपान्तरण र संगठन सुदृढीकरणका बहुआयामिक प्रयास र योजनाले अझ निरन्तरता पाउने अपेक्षा राख्नु स्वाभाविक ठहर्छ। तर यी कार्यको सुस्पष्ट रूपमा संहिताबद्ध, शुत्रबद्ध र प्रणालीबद्ध गरिँदै जानुपर्छ। आजका दिनमा यी सकारात्मक, सुधारात्मक र प्रवद्र्धनात्मक कार्यको महत्वपूर्ण दृष्टिकोणसहितको नेतृत्वदायी भूमिकाका लागि प्रधानसेनापतिलाई बधाई दिनैपर्छ।

नेपाली सेनाको प्रसंंगमा बेलाबखत सेनाको संख्या, ठूला आयोजनालगायत विभिन्न कार्यक्षेत्रमा बोझिलो हुने गरी संलग्नता बढेको, सेनाभित्रको अनियमितता अझै कायम रहेको, कल्याणकारी–कोष आदिको सञ्चालनबारे समेत चर्चा, टिप्पणी र अभिव्यक्ति आउने गरेका पनि देखिन्छन्। त्यसमा कति सत्यता छ, कति झूटा व्यहोरा र स्वार्थ बाझिएका कारण उब्जिएका चर्चा हुन् भन्ने बुझ्नु पनि महत्वपूर्ण छ। यी यावत् विषयमा सेना स्वयं, त्यसपछि नेपाल सरकारका सम्बद्ध मन्त्रालय अनि व्यावसायिक–व्यावहारिक विज्ञहरूको चासो, विश्लेषण र भूमिकाले महत्व राख्छ र सचेतनापूर्ण रूपमा निरूपण गरिनुपर्छ। यो अनावश्यक, अनधिकृत चासो र चर्चाको विषय बन्नु हुँदैन।

सेनाभित्र अझै पनि कतिपय विषय सुधार गर्नुपर्नेछ। सुधार भनेको निरन्तर तथा क्रमिक प्रक्रिया पनि हो। स्वच्छता, पारदर्शिता, सदाचारी प्रवृत्ति र राम्रा संस्कार निर्माणमा नेतृत्व वर्गले अहिलेकै गतिमा लागि परेमा अवश्य भोलिका दिनमा सैनिक संगठन थप सदृढ, व्यावसायिक, परिपक्व र नेपाली जनताका हृदयमा अझ प्यारो संगठनका रूपमा अघि बढ्ने छ।

अन्य संगठन र निकायमा यसको प्रभाव पर्ने छ। एसियाकै पुरानो सैनिक संगठन नेपाली सेनालाई आजको यस पावन दिनमा हार्दिक बधाई एवं शुभकामना !



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment