कोभ्याक्स विश्वका २० देशमा दुई करोड मात्रा पठाइयो

२२ फाल्गुन, जेनेभा । विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रमअनुसारका खोपहरु पठाइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार कोभ्याक्स कार्यक्रमअनुसारका करिब दुई करोड मात्रा खोप विश्वका विभिन्न २० देशमा पठाइएको छ ।

विश्व स्वास्थ्य संगठनले नेतृत्व गरेको कार्यक्रमानुसार यो सहायताको खोप हो । यो कोभ्याक्सको मात्राका खोपहरु विश्व स्वास्थ्य संगठनले अनुदानस्वरुप विश्वका देशहरुलाई उपलब्ध गराउने गरी स्थापना गरेको कार्यक्रम हो । यी खोपहरु यसै हप्ताको सुरुआतदेखि खासगरी अफ्रिकाका देशहरुमा पठाइएको हो । यो अनुदानको खोप वितरण गर्ने कार्यक्रम घानाबाट सुरु भएको थियो ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस आधनम गेब्रियसले सो कुराको जानकारी दिएका हुन् । उनले आगामी हप्ता पनि यो खोप वितरणको कार्यक्रम रहेको बताए । आगामी हप्ता पनि बढीजसो अफ्रिकी देशलाई नै यो खोप दिइनेछ र आगामी हप्ता यो कार्यक्रमअन्तर्गतका करिब एक करोड ४० लाख मात्रा खोपहरु अरु विभिन्न ३१ देशलाई उपलब्ध गराइनेछ ।

खोप वितरण अहिले निकै सानो जनसंख्यामा रहेको तर यसलाई पछि बढाइने पनि उनले बताए । अहिलेसम्म यो कार्यक्रमअनुसारका खोप वितरण गरिएका देशका २ देखि ३ प्रतिशत मात्र नागरिकलाई यो खोपको मात्रा पुगेको पनि उनले बताए ।

विश्व स्वास्थ्य संगठनले विश्वमा खोप खरिद गर्न सक्ने अवस्था नरहेका अथवा खोपमा पहुँच नपुगेका गरिब देशहरुलाई सुरुमा यो खोप अनुदानमार्फत दिइने गरी वितरणको कार्यक्रम बनाएको बताएको छ ।

रासस/सिन्ह्वा



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment