नेपाल बैंक र सन्धिखर्क नगरपालिकाबीच ‘सुलभ कृषिकर्जा कार्यक्रम’ सम्झौता

२१ फाल्गुन, काठमाडौं । नेपाल बैंक लिमिटेड र सन्धिखर्क नगरपालिकाबीच सुलभ कृषिकर्जा कार्यक्रमसम्बन्धी सम्झौता भएको छ । सन्धिखर्क नगरपालिका प्रमुख श्री कमलप्रसाद भुसाल र नेपाल बैंकका लुम्बिनी प्रदेश प्रमुख श्री लेखनाथ भुसालले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर कार्यक्रममा नगर प्रमुख भुसालले कृषिकर्जा कार्यक्रमले वित्तीय पहुँच नभएका युवालाई उद्यमशील बनाउने र कृषक, उद्यमी तथा सीमान्तकृत वर्गमा लाभ पुर्‍याउने विश्वास व्यक्त गरे ।

नेपाल बैंकका प्रदेश प्रमुख भुसालले सुलभ कृषिकर्जाअन्तर्गत कृषि व्यवसाय गर्नेलाई विनाधितो कर्जाप्रवाह गरिने बताए । त्यस्तो कर्जामा कुनै प्रोसेसिङ शुल्क नलाग्ने तथा ६ प्रतिशत विन्दुसम्मको ब्याज अनुदान पाइने उनले जानकारी दिए । भुसालका अनुसार अनुदानपश्चात् कर्जाको ब्याजदर २ देखि ३ प्रतिशतको हाराहारीमा रहनेछ । यसअन्तर्गत सेवाग्राहीलाई मोबाइल बैंकिङ र एटिएम निःशुल्क हुने समेत उनले जानकारी गराए ।

‘नेपाल बैंकले स्थानीय निकायबाट सञ्चालित विभिन्न कार्यक्रममा सहकार्य गर्दै आएको छ,’ बैंकका प्रदेश प्रमुख भुसालले बैंकिङ खबरलाई भने, ‘सुलभ कृषिकर्जा कार्यक्रमअन्तर्गतको यो सम्झौता कार्यान्वयनमा समेत बैंक प्रतिबद्ध छ ।’

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा र नेपाल बैंक सन्धिखर्क शाखा प्रबन्धक कुलराज घिमिरेले सुलभ कृषिकर्जा कार्यक्रमको कार्यविधि सम्बन्धमा प्रकाश पारे । कार्यक्रममा नगरपालिकाका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा अन्य सरोकारवालाको समेत उपस्थिति थियो ।

देशकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले हाल २ सय ६ शाखा कार्यालय, १ सय ४३ एटिएम, ४१ एक्सटेन्सन काउन्टर सेवा सञ्जालका साथै डिजिटल एपमार्फत समेत मुलुकभरका करिब १८ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment