महिला कर्मचारी माथी रिद्धि सिद्धि सिमेन्ट उद्योगका महाप्रबन्धक मल्लकाे दादागिरी

१९ फाल्गुन, हेटौंडा । महिला कर्मचारीलाई दुर्व्यबहार गरेको अभियोगमा हेटौंडा प्रहरीले रिद्धिसिद्धि सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्र बहादुर मल्ललाई पक्राउ गरेको छ ।

उद्योगमा कार्यरत महिला कर्मचारीले आफूलाई हातपात र दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि मल्ललाई सोमवार लाई प्रहरीले पक्राउ गरेको हो । मल्ल नेपाल प्रहरीका पूर्व एसएसपी समेत हुन ।

प्रहरीले उनलाई अनुसन्धानका लागि मंगलबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको जनाएको छ । प्रहरीले सोमबार नै मल्ललाई पक्राउ गरेपनि घटनालाई गुपचुप राख्न खोजेको पाइएको छ ।

तर पीडित पक्षले उद्योगमा आन्दोलन गरेर उद्योग बन्द गरेपछि प्रहरी बोल्न वाध्य भएको सिमेन्ट उद्योगका एक कर्मचारीले बताए । घटनापछि त्यहाँ कार्यरत सबै कर्मचारी र स्थानीय वासिन्दाहरुले हेटौँडाको चुरीयामाइमा रहेको रिद्धिसिद्धी सिमेन्ट उद्योग दुई दिनदेखि बन्द गराएका छन् ।

मल्लले नै आतंक खडा गरेपछि कर्मचारी र स्थानीय वासिन्दाहरुले हेटौंडाको चुरियामाइस्थित सिमेन्ट उद्योग दुई दिनदेखि बन्द गराएका हुन ।

शंकर र अम्बे ग्रुपको सहकार्यमा निमार्ण भएको रिद्धिसिद्धी सिमेन्टले २०७५ सालको मध्यतिर उत्पादन थालेको थियो ।

रिद्धिसिद्धी सिमेन्टका अध्यक्ष शंकर समुहका शंकरलाल अग्रवाल हुन । कालोबजारीमा पक्राउ परि मुद्दा खेपेका सुलभ अग्रवालका भाई साहिल अग्रवाल रिद्धिसिद्धी सिमेन्टका प्रबन्ध निर्देशक हुन ।

उनीहरुले पक्राउ परेका मल्ललाई छुटाउन प्रहरीमा दबाब दिन थालेको स्रोतले बतायो ।

रिद्धिसिद्धी सिमेन्टले स्थानीयबासीहरुको उचित ब्यवस्थापन बिना नै खानी सञ्चालन गरेपछि गिङुङुका करिब एक दर्जन परिवार बिस्थापित भइसकेका छन् ।

रिद्धिसिद्धि सिमेन्ट उद्योगले मकवानपुरमै वन क्षेत्र अतिक्रमण गरेको छ । सिमेन्ट उद्योगका सञ्चालकलाई जोगाएर वन मुद्दा समेत दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय हेटौंडाका एसपी सोमेन्द्र सिंह राठौरले महाप्रबन्धक मल्ल पक्राउ परेको पुष्टि गरे । ‘हामीले पक्राउ गरेका हौँ । म्याद थप पनि भइसकेको छ । महिलामाथि हातपात र कुटपिटको उजुरी परेको छ,’ राठौरले मिडियालाई भने,‘७ दिनको म्याद थपेका छौँ ।’



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment