विप्लव नेतृत्वको पार्टीसँग छिट्टै वार्ता हुँदैछः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीसँग छिट्टै वार्ता हुने बताएका छन्।

१६ फाल्गुन, काठमाडौं । आफू निर्वाचित क्षेत्रमा आयोजित एउटा सार्वजनिक कार्यक्रममा बोल्दै उनले सरकारले छिट्टै उक्त पार्टीसँग वार्ता गर्ने बताए।

उनले भने, “तपाईँ त्यो खबर छिट्टै घर बसीबसी सञ्चारमाध्यममा देख्नुहुनेछ।” शान्तिको सम्बन्धमा अलिअलि समस्या रहेको ठानिएको विप्लव समूहको समस्याको पनि हामी छिटै वार्ताद्वारा समाधान गरिने उनको भनाइ थियो।

नेपालको सत्ता नेपाल अनुकूल हुनुपर्ने प्रधानमन्त्री ओलीले बताए।

नेकपाका अर्का समूहका अध्यक्ष पुष्पकमल दाहालको केही समय अगाडिको एउटा सञ्चारमाध्यमको अन्तर्वार्तालाई लक्षित गर्दै उनले भने, “उहाँहरूका नेतृत्वमा सरकारले बने अरूलाई कम्फर्टेबल होला। तर नेपालका लागि टनटनाउने पिलोजस्तो हुनेछ।”

औद्योगिक पार्क शिलान्यास

करिब ६४ अर्ब रुपैयाँ वैदेशिक लगानीमा बन्ने भनिएको चाइना-नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्कको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार शिलान्यास गरेका छन्।

दमक तथा आसपासका गौरादह नगरपालिका र कमल गाउँपालिकाका एकीकृत जग्गामा उक्त पार्क बनाइने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले बताए।

पार्क निर्माण गर्ने भनिएको जमिन रतुवा खोलाले काटेको जमिनलाई खेतीयोग्य बनाई केही स्थानीयवासीले भोग चलन गर्दै आएका छन्।

पार्क निर्माण गर्नका लागि करिब २१ सय बिघा चाहिने बस्नेतले बताए। सन् २०१७ मा चीनबाट एउटा टोली आएर उक्त जग्गाको पहिलो पटक अवलोकन गरेको थियो।

पार्क निर्माणका लागि चीनको ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलप्मेन्ट जोन जिङ-पिङ ज्वाइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभेलप्मेन्ट कम्पनी लिमिटेडलाई जिम्मा लगाइएको छ।

औद्योगिक पार्क निर्माणपछि चीनमा स्थापित बहुराष्ट्रिय कम्पनीहरू नेपाल आउने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बस्नेतले दाबी गरे।

उनका अनुसार चीनमा भएका सवारीसाधन, मोबाइल फोन तथा अन्य विद्युतीय सामग्री उत्पादन गर्ने कम्पनीहरू नेपाल आउनेछन्।

एक किलोमिटर चौडाइ र लम्बाइ नौ किलोमिटर भएको क्षेत्रमा पार्क बन्ने बस्नेतले बताए। उक्त पार्कको निर्माण अविध पाँच वर्ष भएको उनले जानकारी दिए।

ओली शिलान्यास र उद्घाटनमा व्यस्त

प्रधानमन्त्री ओलीले दमक र चुलाचुली जोड्ने रतुवा नदीमा मदन भण्डारी मार्गमा पर्ने पुलको शिलान्यास गरेका छन्।

मदन भण्डारी मार्ग धरान पूर्व सेक्टरअन्तर्गत पर्ने २५ वटा बढी पुलको एकै पटक उनले शिलान्यास गरे।

दमक-१ बाट चुलाचुली जोड्ने रतुवा नदीमा निर्मित पुल, दमक-४ बाट उर्लाबारीको आमबारी जोड्ने मावा पुल, दमक-१० बाट बालुवथान जोड्ने रतुवामा निर्मित पुलको उद्घाटन पनि प्रधानमन्त्री ओलीले गरेका छन्।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment