बालुवा पेलेर तेल निस्कनु र केपी ओली सुध्रिनु उस्तै – माधव नेपाल

१५ फाल्गुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गरेका छन् ।

काठमाडौंमा शनिबार आयोजित नेकपा प्रचण्ड-माधव समूहनिकट शिक्षकहरुको राष्ट्रिय भेलामा उनले वामदेव गौतम अहिले पनि केपी ओलीलाई सुधार्ने कोसिस गरिरहेको बताए । कुनैबेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर केपी ओलीको राजीनामा सबैभन्दा पहिला गौतमले नै मागेको उल्लेख गर्दै अध्यक्ष नेपालले अहिले फेरि ओलीलाई सुधार्न गौतमले कोसिस गरिरहेको बताए । ‘बालुवा पेलेर तेल निस्किँदैन तर पनि कोसिस गर्नुस्’ भनेको नेपालले बताए ।

“दुईतिहाइको संख्यामा भएको ठाउँमा उहाँले तुरुन्तै भंग गरिदिनुभयो । किन भंग गरिदिनुभयो भने मलाई प्रधानमन्त्रीबाट हटाउने भए भनेर । यो प्रधानमन्त्री हटाउने को हो थाहा छ ? वामदेव गौतम हो । फेरि उहाँ (प्रचण्ड) लाई दोष जान्छ सबैभन्दा बढी । होइन, साँचो कुरा म तपाईंहरुलाई बताउँछु । यो पहिलो प्रस्ताव राख्ने केपी ओली मान्छे खराब मान्छे हुन् भनेर स्थायी कमिटीको बैठकमा भाषण गर्नुभएको छ वामदेवले । ४० मिनेट भाषण गर्नुभयो केपी ओलीजस्तो रद्दी मान्छे धर्तीमा कोही पनि छैन भनेर,” नेपालले भने, “अब अहिले पनि उहाँ फेरि कोसिस गर्दै हुनुहुन्छ । केपीलाई सुधार्न । अब उहाँलाई गर्नुहोस् मैले भनेको छु- यो बालुवा पेलेर तेल निस्किँदैन कोसिस गर्नुहोस् ।”

अध्यक्ष नेपालले अब केपी ओलीसँग एकताको कुनै सम्भावना नभएको पनि स्पष्ट पारे । बरु ओली प्रवृत्तिको विरुद्धको आन्दोलनमा सहभागी भएकाहरुबीच सहकार्य गरेर अगाडि बढ्ने बताए । उनले भने, “केपी ओलीसँगको एकताको कुनै सम्भावना छैन । कुनै भ्रममा नपर्नुस् । केपी ओलीका मानिसहरुको आँखामा बाम लगाएर निकालेको आँशुको कुनै अर्थ छैन । ख्याल गर्नुहोला । बाम लगाएर आँशु निकाल्छन् र भित्र कोठामा गएर मुसुमुसु हाँस्छन् यिनलाई मूर्ख बनाएर पठाइयो भन्छन् । त्यसो भएकाले तपाईंहरु यस्ता कुराको भ्रममा नपर्नुस् ।”

अहिले प्रतिनिधिसभा पुन:स्थापना भए पनि पूरै लडाइँ जित्न बाँकी रहेको पनि अध्यक्ष नेपालले बताए । उनले भने, “एउटा लडाइँ जित्यौं, सिंगो लडाइँ जित्न बाँकी छ । एउटा जितेका छौं अर्को लडाइँ केपी ओलीलाई प्रधानमन्त्री पदबाट नहटाएसम्म गर्नुछ ।”

केपी ओलीलाई पूर्वएमालेको कुनै माया नभएको पनि अध्यक्ष नेपालले बताए । ओलीले अहिले मदन भण्डारी फाउन्डेसनको गुट चलाएको आरोपसमेत उनले लगाए । उनले भने, “केपी ओलीलाई एमालेको कुनै माया छैन । कम्युनिस्ट पार्टीको कुनै माया छैन । केपी ओली भनेको मदन भण्डारी फाउन्डेसन गुटको नेता हुन् ।”

बालुवाटारमा बैठक हुँदा उपस्थित नहुने ओली अहिले फुर्तीसाथ देशभर दौडिरहेको समेत उनले बताए । यसबाट पार्टीप्रति ओलीको इमानदारिता थिएन भन्ने स्पष्ट भएको पनि अध्यक्ष नेपालले बताए । उनले भने, “केपी ओली यो तरिकाले जाँदा पार्टीभित्र उहाँले छलफल बहस बन्द गर्नुभयो । बैठक त्यहीँ छ बालुवाटारमा, बालुवाटारबाहिर कहीँ नजाने मान्छे अहिले हेर्नुहोस् त फुर्ती कहिले कहाँ पुग्या छ कहिले कहाँ पुग्या छ । बैठक भनेपछि धुम्बाराहीमा नआउने मान्छे अहिले त कुद्‍या छ कुद्‌या छ । भनेपछि पार्टीलाई कति मर्यादित ठानेको । आफ्नो पूरै पछिपछि लाग्नुपर्छ भन्ने प्रवृत्तिको कति पक्षपोषण भएको कुरालाई पुष्टि गर्दैन त्यसले । त्यसैगरी त्यहीँ निवास छ, बेडरुम छ, त्यहीँ बैठक बसेको छ बैठकमै नआउने । बैठकमा ल्याउन प्रचण्डले बैठक छोडेर जाने फेरि, कहिलेकाहीँ हामीलाई पनि सँगै जाउँ न भन्ने । एउटाको शक्तिले पुगेन र दुईवटाले सकिन्छ कि भनेर । यस्तो ज्याद्रो मान्छेलाई हामीले चलाउन सकेनौं ।”

अहिले केपी ओलीलाई बिदा गरे जस्तै ओली प्रवृत्तिलाई पनि सबैले त्याग्नुपर्ने नेपालले बताए । अहिले सबै क्षेत्रबाट नेताहरुलाई ओली प्रवृत्ति त्यागेर अगाडि बढ्न सुझाव आएको पनि अध्यक्ष नेपालले बताए । उनले भने, “केपी ओलीलाई बिदा गर्‍यौं । केपी प्रवृत्तिलाई हामीले बिदा गर्ने कि नगर्ने ? अहिलेका नेताहरुलाई चेतना भया भनेर हामीलाई पनि भन्ने गर्नुहुन्छ । पत्रिकामा पनि पढ्दै थिएँ । होस् गर्नुहोस् है तपाईंहरुमा पनि केपी प्रवृत्ति नउदाओस् । हामी अवश्य पनि सतर्क छौं ।’



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment