ढलको फोहोरबाट विद्युत र मल उत्पादन गरिने

१५ फागनु, झापा । घरबाट निस्कने पानीजन्य फोहोर ढल प्रशोधन गरेर विद्युत तथा मल उत्पादन गर्ने योजना अहिले झापाको दमकमा सुरु भएको छ ।

पहिलो चरण अन्तर्गत ढल व्यवस्थित रुपमा संकलन गर्न पाइपिङ गर्ने काम धमाधम भइरहेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्र्तगत दमक नगरपालिका ढल निर्माण योजनाको काम अघि बढाइएको हो ।

प्रत्येक घरबाट उत्पादन हुने सेफ्टि टेङ्क, किचन, वाथरुमको धाराबाट निस्कने फाहोरजन्य पदार्थ विभिन्न क्षेत्रबाट एकै ठाउँमा संकलन गरिनेछ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका आयोजना प्रमुख विपुलकुमार लाल दासका अनुसार ढलको पानी प्रशोधन गरेर मल र विद्युत उत्पादन गर्न सकिन्छ ।

ढल व्यवस्थित हुँदा एकातिर शहर सुन्दर सफा हुन्छ भने अर्कोतिर त्यसै खेर जाने ढललाई प्रशोधन गरी पुनः सफा पानी नदीमा नै फर्काउन समेत सकिन्छ । ढलमा फोहोर मात्र बग्ने होइन यसबाट मोहोर साट्न सकिन्छ ।

यो योजना देशका ठुला शहरमा सफल भएका कारण अन्य क्षेत्रमा समेत विस्तार गर्न थालिएको हो प्रमुख दासले बताउनुभयो । पहिला निर्माण गरिएका ढलमा घरको ट्वाइलेटको सेप्टिटेङ्कको फोहोर हाल्न मिल्दैन थियो । तर यसमा अब सबै घरका सेफ्टि ट्याङ्क अनिवार्य ढलमा जोडिन्छ ।

यसरी जोडिएको ढलको फोहोर शहरभन्दा केही तल ब्यवस्थित रुपमा प्रशोधन गरि पुन स्वच्स्छ पानी नदीमा फर्काइन्छ । यसरी प्रशोधन गर्दा उद्योगबाट निस्कने फोहोर भने हाल्न पाइने छैन । जैविक फोहोर ढल मार्फत संकलन गरि प्रशोधन गरी वायो ग्याँसबाट विद्युत उत्पादन गरिन्छ ।

नेपालमा काठमाडौंको गुहेश्वरीमा अहिल ेपनि ७ मेघावाट बिद्युत उत्पादन भइरहेको छ । यसले गर्दामा यो परियोजना दमकमा समेत सफल हुनेमा जनाइएको छ । दमकमा भने अढाइ मेघावाट विद्युत उत्पादन हुनसक्ने अनुमान गरिएको छ ।

शहरको दक्षिण क्षेत्रमा प्रशोधन केन्द्र स्थापना गरि ठोस पदार्थबाट प्राङ्गारिक मल उत्पादन गरिन्छ । दमक नगरपालिका अन्र्तगत १, २, ३, ५, ६, ७ र ८ वडामा ढलको पाइप विस्तार गर्नेकाम भरिनेछ ।

दमक नगरपालिका अन्र्तगत पूर्वोत्तर नमुना वस्तीदेखि पश्चिम उत्तर जिराइत चौक आम्दारोड हुँदै दक्षिण पश्चिममा क्याम्पस मोड र पूर्वदक्षिणमा औद्योगिक क्षेत्रभित्र विस्तार गरिने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका साईट इञ्जिनियर हुमेन्द्रप्रसाद देवले जानकारी दिनुभयो ।

घना वस्ती भएको बजार क्षेत्रलाई लक्षित गरेर पहिलो चरणमा ५४ दशमलव ७ किलोमिटर ढलको पाईप बिछ्याइने इञ्जिनियर देवले बताउनुभयो । यसमा प्रत्येक ३० मिटरको दुरीमा मेन चेम्बर राखिन्छ ।

पाईप विस्तार गरिएको दाँयाबाँया हाउस कलेक्सन चेम्बर निर्माण गरिन्छ । यहाँ मेन होल एक हजार ४०३ वटा निर्माण गरिनेछ । घरधुरी कलेक्सन दुई हजार आठवटा निर्माण गरिने जनाइएको छ । यसको कुल बजेट ७४ करोड ३१ लाख रहेको छ ।

आयोजना मिति २०७७ आसोज २६ गते सुरु भइ आगामी २०७९ चैत २५ गतेसम्मा सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ । हाल पाइपिङ गर्ने कार्यक्रम मात्र सञ्चालन भएकाले दोश्रो चरणमा प्रशोधन र उत्पादनको समेत योजना आउने छ ।

हाल ढलमा पाइप बिछ्याउने काम मात्र भइरहेकाले मल उत्पादन गर्ने कामकोमात्र टुङ्गो लागेको छ । बाँकी बिद्युत उत्पादनको भने बिषय पछि नै मात्र टुङ्गो लाग्ने जनाइएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment