वारेन बफेटले सिफारिस गरेका ४ महत्वपूर्ण पुस्तक

१३ फागुन, एजेन्सी । वारेन बफेटलाई सबैभन्दा सफल लगानीकर्ताका रुपमा चिनिन्छ । इन्भेष्टमेन्ट कम्पनी ‘बर्कसायर हाथवे’ का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतसमेत रहेका बफेटसँग लगानी सम्बन्धी लामो अनुभव रहेको छ ।

बफेटको लगानी गर्ने शैलीलाई धेरै लगानीकर्ताले फलो गर्ने गरेका छन् । उनको लगानी सम्बन्धी अनुभव सुन्न र विभिन्न लेक्चरहरुमा सहभागी बन्दा पनि लगानी गर्न थप सहज महशुस गर्नेहरुको पनि कमी छैन ।

ग्रीन टी बनाउने कम्पनी ‘बेटर बुच’ का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत ट्रे लकरबी त्यस्तै एक व्यक्ति मध्येमा पर्दछन् । लकरबी र बफेटको भेट केही वर्ष अघि एक पार्टीमा भएको थियो । त्यसबेला अप्सन ट्रेडरका रुपमा काम गरिरहेका लकरबीले भेटको फाइदा उठाउँदै बफेटलाई प्रश्न गरे, के बेन्जमिन ग्राहमका पुस्तकहरु अब प्रयोजन विहीन बनिसकेका हुन् ?

ग्रामहकै शिष्य रहेका बफेटले लकरबीलाई ग्राहमका पुस्तकहरु पुनः अध्ययन गर्न र लगानीको मनोविज्ञान खण्डमा फोकस हुन सुझाव दिएका थिए ।

बेन्जामिन ग्राहमले सन् १९३४ मा ‘सेक्युरिटी एनालिसिस’ र सन् १९४९ मा ‘इन्टेलिजेन्ट इन्भेस्टर’ पुस्तक लेखेका थिए । ग्राहमका यी दुई पुस्तक लगानीकर्तामाझ निकै चर्चित छन् ।

बफेट पनि आफ्ना गुरु ग्राहमकै मार्गदर्शन ‘भ्याल्यू इन्भेष्टिङ’ लाई प्रयोग गरी सफल लगानीकर्ताका रुपमा चिनिएका छन् । त्यसो त बफेट आफैंले पनि विभिन्न पुस्तकहरु लेखेका छन् । तर स्मार्ट लगानीकर्ता बन्ने हो भने बफेटले सुझाएका पुस्तकहरु पनि उत्तिकै महत्वपूर्ण बन्न सक्छन् ।  

लकरबीलाई बफेटले बढ्न सुझाव दिएका ४ वटा पुस्तकहरुको चर्चा…

बेन्जामिन ग्राहमले लेखेका २ पुस्तकहरु 
१.सेक्युरिटी एनालिसिस  
 कोलम्बिया बिजनेस स्कूलका प्रोफेसर ग्राहमलाई ‘भ्याल्यू इन्भेष्टिङ’ का पिताका रुपमा चिनिन्छ । ग्राहमले ‘सेक्युरिटी एनालिसिस’ डेभिड डडसँग मिलेर लेखेका थिए । जसमा भ्याल्यू इन्भेस्टिङका आधारभूत विषयहरु र सेयर खरिद गरी लामो समयका लागि होल्ड गर्ने विषयहरुमा चर्चा गरिएको छ ।

बफेटलाई सेक्युरिटी एनालिसिसले यतिसम्म प्रभाव पार्यो कि ग्राहम र डड कोलम्बिया विश्वविद्यालयमा अध्यापन गराउने थाहा पाउने बित्तिकै बफेटले डडलाई सम्पर्क गरी कक्षा भर्ना हुन अनुमति मागेका थिए ।

डियर प्रोफेसर डड, मलाई लागेको थियो तपाईंहरुको निधन भइसकेको छ । तर अहिले थाहा भयो कि तपाईंहरु जीवित हुनुहुन्छ र कोलम्बिया विश्व विद्यालयमा अध्यापन गराई रहनु भएको छ, म तपाईंहरुसँग आएर अध्ययन गर्न चाहन्छु’, बफेटले एचबीओको कार्यक्रम ‘बिकमिङ वारेन बफेट’ मा भनेका थिए । 

२. इन्टेलिजेन्ट इन्भेस्टर 
बफेटले धेरै पटक ‘इन्टेलिजेन्ट इन्भेस्टर’ अध्ययन गर्न सुझाव दिइसकेका छन् । सन् २०१३ मा बर्कसायर हाथवेका सेयरहोल्डरलाई लेखेको पत्रमा भनेका छन्, ‘इन्टेलिजेन्ट इन्भेस्टरको खरिदपछि मेरो वित्तीय जीवन परिवर्तन भएको हो ।’ ग्राहमले आफ्ना विचारहरु सरल र बुझ्ने शैलीमा प्रस्तुत गरेका छन् । उक्त पुस्तकले भ्याल्यू इन्भेस्टिङको प्रक्रियाका बारेमा गहन जानकारी दिएको छ । बफेट भन्छन्, ‘मैले हालसम्म गरेको लगानीमध्ये बेन्जामिनको पुस्तक खरिदमा गरेको लगानी सबैभन्दा उत्कृष्ट रहेको छ ।’ 

जर्ज गुडमेन (स्मिथ) का २ पुस्तकहरु

१. द मनि गेम 
 जर्ज गुडमेन आफ्नो छद्मनाम एडम स्मिथबाट परिचित थिए । बफेटका अनुसार गुडमेनको पुस्तक ‘द मनि गेम’ अत्यन्तै अन्तरदृष्टि प्रदान गर्ने किसिमको छ ।

सन् १९६८ मा प्रकाशन भएको द मनि गेममा गुडमेनले ६० को दशकको वाल स्ट्रिटमा देखिएको उन्मादलाई उदाहरण दिँदै स्टक मार्केटलाई एक खेलको रुपमा हेर्नुपर्ने धारणा व्यक्त गरेका छन् । बफेट भन्छन्, ‘गुडमेनलाई पहिला कसैले हात नहालेको विषयमा आफू कसरी अघि बढ्ने भन्ने राम्रो ज्ञान थियो । गुडमेन तथ्यहरुमै अडिग रहे, तर तथ्यलाई अत्यन्तै रुचिकर बनाए ।’ 

२. सुपरमनि 

 सन् १९७२ मा प्रकाशन भएको पुस्तक ‘सुपरमनि’ मा ७० को दशकको स्टक मार्केटको चर्चा गरिएको छ, र बफेटलाई पनि उक्त पुस्तकमा प्रोफाइल गरिएको छ । बफेटले उक्त पुस्तकमा चर्चा गरिएको बेसबल खेलको उदाहरणलाई प्रशंसा गर्दै उदाहरण सही भएको पनि बताएका छन् । धेरैले यस पुस्तकलाई पनि द मनि गेम जत्तिकै उत्कृष्ट बताएका छन् । (एजेन्सीहरुको सहयोगमा)



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment