राष्ट्रपति भण्डारी क्षमापूजा गर्न पशुपतिमा

१२ फाल्गुन, एजेन्सी । राष्ट्रपति विद्यादेवी भण्डारी क्षमापूजाका लागि आज पशुपतिनाथ मन्दिर पुगेकी छन् । पशुपतिनाथ मन्दिरको मुख्य शिवलिंगमा रहेको जलहरी जीर्णोद्धार गर्ने काम जारी रहँदा राष्ट्रपति भण्डारी क्षमापूजाका लागि पुगेकी हुन् ।

राष्ट्रपतिले क्षमापूजा गरेपछि सुनको जलहरी राखिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । जलहरी राख्नुअघि भारतबाट दर्जनौँ ब्राह्मण बोलाएर पूजा गरिँदै आएको छ ।

जलहरी राख्नुअघि पूजापाठका लागि भारतबाट ३३ जना ब्राह्मण भएका छन् भने उनीहरुले दुई दिनयता पूजापाठ गरिरहेका छन् । यस्तै भागवत आश्रम र पशुपतिकै १२१ जना पण्डितहरूले पनि पूजापाठ गरिरहेको पशुपति क्षेत्र

विकास कोषका पूर्व सदस्य तथा जलहरी निर्माण व्यवस्थापन समितिका सदस्य राजु केसीले जानकारी दिए ।

केसी अनुसार राष्ट्रपतिले आज क्षमापूजा गरेपछि जलहरी राखिने छ । यसअघि चाँदीको जलहरी रहेकोमा पशुपति क्षेत्र विकास कोषले सुनको जलहरी राख्न लागेको हो । करिब १ अर्ब रुपैया खर्च हुने अनुमान गरिएको जलहरी राख्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट ३० करोड दिने निर्णय गरेको थिए ।

यसैबीच ज्योतिर्लिंगमा सुनको जलहरी राख्ने काम रोक्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा दुई वटा रिट दर्ता भएका थिए । तर सो रिटमा मुद्दा परेपनि आदेश आउनुअघि नै निर्माण कार्य सक्नेगरी काम भइरहेको स्रोतले जनाएको छ ।

पशुपतिनाथको शास्त्रीय महत्त्व र प्राचीन स्मारक संरक्षण ऐनविपरीत जलहरी राख्न लागेको भन्दै स्थानीय बासिन्दा, सम्पदा संरक्षण अभियन्ता, पशुपतिका भण्डारी लगायतले विरोध गर्दै आएका छन् । २०७० सालमै चाँदीको जलहरी हटाएर सुनको राख्ने निर्णय भए विरोध भएपनि यो कार्य पर धकेलिँदै आएको थियो ।



मल्टिमिडिया ग्यालरी

Bidhya Devi BhandaribusinessdigitalkhabarMain HeadlinesPashupatinathPoliticsshare market
Comments (0)
Add Comment