भारतबाट नेपालले खरिद गरेको १० लाख डोज खोप आज आउँदै

०९ फाल्गुन, काठमाडौं । कोभिड–१९ विरुद्धको १० लाख डोज खोप आज भारतबाट नेपाल आउँदै छ ।

सेरम इन्स्टिट्युट अफ इन्डियाबाट उत्पादिन कोभिसिल्ड खोप नेपाल आउन लागेको हो । खोप आज दिउँसो एयर इन्डियाको विमानमार्फत काठमाडौं आउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले यही फागुन ५ गते कोभिसिल्ड खोपको २० लाख डोज खरिदको लागि सम्झौता गरेको थियो । सम्झौताअनुसारको १० लाख डोज आउन लागेको हो । बाँकी खोप पनि चाँडै प्राप्त हुने मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकुस्थित ‘कोल्डरुम’मा भन्डारण गरिनेछ । यही फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानको लागि उक्त खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशभरिका खोप केन्द्रहरुमा वितरण गरिने मन्त्रालयले जनाएको छ ।

यसअघि, यही खोप नेपालले भारत सरकारबाट अनुदानस्वरूप पाएको थियो । उक्त खोप देशभर प्राथमिकताअनुसार लगाइँदै छ ।



मल्टिमिडिया ग्यालरी

digitalkhabar
Comments (0)
Add Comment