२३ कार्तिक, विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका तोरी उत्पादनको हब नै हो । हिउँदयाममा यहाँका खेत पहेँलै हुन्छन् । तोरीसँगै यहाँ अर्को परिचय थप्ने प्रयास भइरहेको छ, जसमा सरोकारवालाहरू लागिरहेका छन् ।
दुई वर्ष अगाडि गाउँपालिकाले महत्त्वका साथ अगाडि सारेको एउटा कार्यक्रम र नारा थियो, ‘आमाको सीप सन्तानलाई, अग्र्यानिक गुन्द्रुक मोरङलाई ।’ त्यही कार्यक्रमअनुसार पालिकाले तोरीको गुन्द्रुक उत्पादन गर्ने र बिक्री गर्ने सोच बनायो । किसानहरूलाई सहुलियतमा बिउ र मल पनि दियो । तर समयमै बिउ नदिँदा भनेजस्तो तोरी उत्पादन भएन, तोरी नै राम्रो नभएपछि गुन्द्रुक पनि राम्रो उत्पादन भएन ।
यद्यपि पालिकाकी अध्यक्ष राममती इङ्नाम, २ नम्बरका वडाध्यक्ष सुशील बुढाथोकीसहित टिमले उक्त सपना साकार गर्न निजी क्षेत्रलाई आह्वान गर्यो । र केरौनको साना किसान कृषि सहकारी संस्था लिमिटेटले हालेको प्रस्ताव स्वीकृत भयो । त्यो कार्यक्रमलाई प्रदेश सरकार, स्वीस सरकारको सहज परियोजना र पालिकाको सहयोगमा उक्त संस्था अब गुन्द्रुकको व्यावसायिक उत्पादनका लागि तयार भएको छ । सहकारीले प्याकेजिङ गर्ने उद्योग स्थापना गरिसकेको छ । ‘ड्रायर मेसिनको अभाव छ । अरू सबै तयारी भइसक्यो, हामीले माइक्रो मेसिनबाट परीक्षण उत्पादन पनि गरिसक्यौं,’ सहकारीकी अध्यक्ष सविता राईले भनिन् ।
उद्योगका लागि सहज परियोजनाबाट २४ लाख, प्रदेशबाट १८ लाख रुपैयाँ र सहकारी आफैंले १८ लाख रुपैयाँको लागानी गरिसकेको छ । प्राविधिक सहयोग कानेपोखरी गाउँपालिका आफैले गरिरहेको छ । सहज परियोजनाले व्यावसायिक दक्षताका लागि योजना बनाइदिने, बजार खोज्नेसम्मको सहयोग गरेको छ ।
उक्त सहकारीमा ७१९ जना सेयर सदस्य छन्, जसलाई परिचालन गरेर यसअघि तीन बिगाहा क्षेत्रफलमा तोरी लगाइयो । त्यसबाट एक हजार किलो तोरी उत्पादन भयो । ‘गुन्द्रुकको माग थेगिनसक्नु भयो । बरु हामीले निरन्तर उत्पादन गर्न सकेनौँ,’ राईले भनिन् ।
यस वर्ष उद्योगबाटै परीक्षणका लागि १० किलो उत्पादन गरियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट स्वीकृति प्राप्त गरेर प्याकेजिङ पनि गरियो । उत्पादित गुन्द्रुक प्रतिकिलो एक हजारमा बिक्री गरेको उनले सुनाइन् । गत वर्ष हातले बनाएको ‘होम–मेड गुन्द्रुक’ प्रतिकिलो सात सय रुपैयाँसम्मले बिक्री भएको थियो । प्याकेजिङ गरेपछि भने २ हजार रुपैयाँ प्रतिकिलोको हिसाबले विक्री गर्ने लक्ष्य राखेको उनले बताइन् ।
सुरुमा यो परियोजना गुन्द्रुक उत्पादनमा केन्द्रित थियो । पछि यसको दायरा प्याकेजिङ, ब्रान्डिङ र सहकारीलाई अन्य संस्थाहरूसँग जोड्नेसम्म विस्तार भयो । यो उद्योगबाट आंशिक भए पनि स्थानीयका लागि रोजगारीका अवसरहरू सिर्जना गर्ने र तोरी खेती गरी त्यसलाई गुन्द्रुकमा प्रशोधन गरेर किसानहरूको आम्दानी बढाउने लक्ष्य राखिएको कानेपोखरी–२ का वडाध्यक्ष सुशील बुढाथोकी बताउँछन् ।
गाउँपालिकाले गुन्द्रुक परियोजनाको प्रस्ताव गर्दा सुरुमा धेरै मानिसले यसलाई हाँसोको विषय वा स–साना काम भन्दै उपहास गरेका थिए ।
‘केही स्थानीय प्रशासकहरूले यसलाई महत्त्वहीन परियोजना भन्दै बेवास्ता गरेका थिए,’ बुढाथोकीले भने, ‘केही केहीले त गुन्द्रुके गाउँपालिकासमेत भने । तर पालिका अध्यक्ष र हाम्रो पहलमा यो कार्यक्रम अगाडि बढाइएको र आज यो अवस्थामा ल्याइयो ।’
तोरीको सिजनमा दुई हजारदेखि २५ सय किलो गुन्द्रुक उत्पादन गर्ने लक्ष्य राखिएको सहकारीका अध्यक्ष सविता राईले जानकारी दिइन् । वर्षको बाँकी समयमा उनीहरूले तिते करेलाको सुकुटी बनाउने, आलुको चिप्स बनाउने, मस्यौरा बनाउने योजना बनाएका छन् ।
सहकारीलाई गुन्द्रुकका लागि ड्रायर मेसिन भने आवश्यक छ । उक्त मेसिनका लागि प्रदेश सरकारले आर्थिक वर्ष ०८१/८२ मा ७ लाख रुपैयाँ बजेट पनि दिएको थियो । तर, गाउँपालिकाले खरिद गर्ने कि सहकारीले भन्ने विषय स्पष्ट नहुँदा बजेट फ्रिज भएको अध्यक्ष राईले बताइन् । मेसिन चीनबाट आयात गर्नुपर्ने उनको भनाइ छ ।
‘गुन्द्रुकका लागि राम्रो माग छ । तर विशेषगरी रामीसँग ड्रायर मेसिन नहुँदा उत्पादन क्षमता अपर्याप्त भयो । जसका कारण माग पूरा गर्न सकेको छैन,’ उनले भनिन्, ‘ड्रायर मेसिन आएपछि सहकारीले उत्पादनलाई उल्लेखनीय रूपमा विस्तार गर्ने लक्ष्य राखेको छ ।’ सहकारीले यसअघि काठमाडौँका खरिदकर्ताहरूलाई ३००–४०० किलो हाते गुन्द्रुक बेचेको थियो । उनीहरूले तोरीको तेल पनि प्याकेजिङ्ग गर्ने योजना बनाएका छन् ।
पालिकाले आगामी दिनमा ड्रायर मेसिन खरिदका लागि पहल गर्ने, प्रशोधन प्लान्ट स्थापना गर्ने र किसानहरूलाई थप तालिम प्रदान गर्ने योजना बनाएको छ । यसका साथै, स्थानीय उत्पादनको ब्रान्डिङ र बजारीकरणमा पनि विशेष जोड दिने जनाएको छ ।
एक किलो गुन्द्रुक उत्पादन गर्न करिब १६–१७ किलो काँचो तोरीको साग आवश्यक पर्छ । काँचो तोरीको सागको मूल्य मंसिर–पुसको सिजनमा प्रतिकिलो ३५–४० रुपैयाँसम्म हुने अध्यक्ष राईले बताइन् । उनीहरू करिब ६ बिघा जग्गामा तोरी खेती गर्ने लक्ष्य राखेका छन् । पहिले तीन बिघाबाट करिब एक हजार किलो गुन्द्रुक उत्पादन भएको थियो । प्रतिकिलो एक हजारमा बिक्री भए उत्पादन लागतसहित केही नाफा हुने अध्यक्ष राईले बताइन् ।
कानेपोखरीमा गुन्द्रुक उत्पादनको परम्परा पुरानो भए पनि यसलाई व्यावसायिक रूपमा अगाडि बढाउन विभिन्न चुनौतीहरू छन् । ‘पहिले हामी घरमै सकेसम्म उत्पादन गथ्र्यौं, बजारमा पनि खासै पहुँच थिएन,’ उनले भनिन्, ‘तर अहिले यो परियोजनाले गुन्द्रुकलाई प्रशोधन गरी बजारसम्म पुर्याउने अवसर दिएको छ ।’
पालिकाले आगामी दिनमा ड्रायर मेसिन खरिदका लागि पहल गर्ने, प्रशोधन प्लान्ट स्थापना गर्ने र किसानहरूलाई थप तालिम प्रदान गर्ने योजना बनाएको छ । यसका साथै, स्थानीय उत्पादनको ब्रान्डिङ र बजारीकरणमा पनि विशेष जोड दिने जनाएको छ ।


+ There are no comments
Add yours