यूएई लगायतका देशले भिसामा कडाइ गरेपछि परराष्ट्रले कूटनीतिक पहल थाल्याे

०७ असोज, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) लगायतका देशले नेपालीलाई भिसामा कडाइ गरेपछि परराष्ट्र मन्त्रालयले सहज बनाउन कुटनीतिक पहल थालेकाे छ ।

परराष्ट्र मन्त्रालयले सम्बन्धित राजदूतावास मार्फत सहजीकरणकाे पहल थालेकाे हाे । यूएईले भिजिट भिसा राेक लगाएकाे छ भने वर्किङ भिसामा कडाइ गरेकाे छ ।

त्यस्तै मलेसिया, कतार, साउदी अरेबिया लगायतका देशले समेत वर्किङ भिसामा कडाइ गरेका छन् । याे विषयमा परराष्ट्रले सम्बन्धित देशमा रहेका नेपाली राजदूतावासमा बुझ्न थालेकाे हाे ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लाेकबहादुर पाैडेल क्षेत्रीले भिसामा कडाइ गरेकाे विषय आएकाले बुझ्ने काम भइरहेकाे बताए ।

‘केही राष्ट्रले किन यस्तो कडाइ गरेका हुन् भन्नेबारेमा हामी दूतावाससँग बुझिरहेका छौँ,’ परराष्ट्र प्रवक्ता क्षेत्रीले भने।

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा कैदीबन्दी सामूहिक रूपमा कारागारबाट भागेका थिए भने सुरक्षाकर्मीका हातहतियार लुटिएका थिए ।

साेही कारण आफ्नाे देशमा आउनेहरू आपराधिक गतिविधिमा संलग्नहरू आउन सक्ने भन्दै ती देशले नेपाली नागरिकमाथि भिसा कडाइ गरेको जनाइएकाे छ ।

यसलाई सहज बनाउने प्रयास भइरहेकाे परराष्ट्रले जनाएको छ । गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) भित्रका देशहरूले भिसामा कडाइ गर्न थालेपछि परराष्ट्रले पहल थालेकाे हाे ।

जीसीसी अन्तर्गतका एउटाले कठोर नीति अपनाएपछि अन्य सदस्यले पनि त्यसलाई फलो गर्ने प्रचलन छ ।

साेही आधारमा यूएईले गत सेप्टेम्बर १५ तारिखबाट भिसामा कडाइ गरेपछि अन्य देशले समेत त्यहि अनुसार कडाइ गर्न थालेका हुन्। जीसीसीमा यूएईसहित कतार, साउदी अरब, बहराइन, कुवेत र ओमान रहेका छन् ।

आन्दोलनपछि देशभरका विभिन्न जेलहरूका १४ हजार भन्दा बढी कैदी भागेका थिए । ती मध्ये अझै पनि करिब ७ हजार कैदी फरार नै छन् ।

भागेका कैदीहरू आफ्नाे देशमा आउन सक्ने भन्दै सुरूमा यूएईले भिजिट भिसा दिन बन्द गरेकाे थियाे भने वर्किङ भिसामा कडाई गरेकाे थियाे ।

त्यसपछि मलेसिया, कतार, साउदी लगायतका देशले समेत भिसामा कडाइ गरेकाे मेनपावर व्यवसायीहरूले बताएका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours