०३ असाेज, काठमाडौँ । जेन–जी युवाहरूले भ्रष्टाचार, नातावाद र सामाजिक सञ्जाल बन्दविरूद्ध भदौ २३ को आन्दोलनमा दुई किसिमका झन्डा फहराएका थिए।
एउटा त नेपालको राष्ट्रिय झन्डा भइहाल्यो।
अर्को थियो, कालो पृष्ठभूमिमा खोपडी र दुइटा हड्डी क्रस भएको झन्डा।
फरक डिजाइन र फरक आकृतिको यो झन्डा सबैको ध्यान खिच्ने खालको थियो। कतिपयले यसलाई प्लाकार्डमा पनि प्रदर्शन गरेका थिए। काठमाडौं सहरमा आयोजित कुनै पनि सार्वजनिक समारोहमा त्यसअघि यस्तो झन्डा प्रदर्शन गरिएको थिएन।
जेन–जी युवाहरूले काठमाडौंमा पहिलोपटक फहराएको यो झन्डाको अर्थ के त?
खासमा यो झन्डा नेपालका जेन–जीहरूले सिर्जना गरेका होइनन्। पछिल्लो समय अन्तर्राष्ट्रिय रूपमै यसको व्यापक प्रयोग भइरहेको छ। नेपालजस्तै विभिन्न मुलुकका जेन–जी युवा पुस्ताले आफ्नो विरोध प्रदर्शनमा यो झन्डा प्रयोग गर्ने ट्रेन्ड नै चलेको छ।
उदाहरणका लागि —
सन् २०१९ मा हङकङमा भएको लोकतन्त्रको आन्दोलनमा यो झन्डालाई विद्रोह र स्वतन्त्रताको प्रतीकका रूपमा फहराइएको थियो।
यसै वर्ष इन्डोनेसियाका विद्यार्थीले सरकारविरूद्ध गरेको आन्दोलनमा पनि यसलाई ‘नयाँ पुस्ताको प्रतिरोध चिह्न’ का रूपमा प्रयोग गरियो।
अन्य मुलुकहरूमा पनि सामाजिक न्याय र स्वतन्त्रताको माग उठाउँदा यो झन्डा युवा आन्दोलनको साझा प्रतीक बन्दै आएको छ।
अब प्रश्न उठ्छ — संसारभरका युवाले आफ्नो आन्दोलनको प्रतीक बनाएको यो झन्डा आयो चाहिँ कहाँबाट? यसले भन्न खोजेको के हो?
यो झन्डा चर्चित जापानी मांगा वा एनिमे ‘वान पिस’ बाट आएको हो।
‘मांगा’ भनेको जापानी कमिक्स वा चित्रकथा हो। यो किताबका रूपमा छापिन्छ। ‘एनिमे’ भनेको चाहिँ जापानी शैलीमा बनेको एनिमेसन फिल्म हो। मांगामा प्रकाशित थुप्रै चित्रकथालाई एनिमेमा रूपान्तरण गरिएका छन्। ‘वान पिस’ त्यसैमध्ये एक हो।
सन् १९९९ मा सुरू भएको यो सिरिज अहिले पनि निरन्तर प्रसारण भइरहेको छ। यसलाई संसारकै सबभन्दा लामो र लोकप्रिय एनिमेमध्ये एक मानिन्छ। साताको एक एपिसोड प्रसारण हुने यो एनिमेका अहिलेसम्म ११४३ एपिसोड छन्।
वान पिसका मुख्य पात्र ‘मंकी डी लुफी’ एक समुद्री लुटेरा हुन्, जसले आफ्ना साथीहरूसँग मिलेर अन्याय र अत्याचारविरूद्ध आवाज उठाउँछन्। उनीहरूको टोलीलाई ‘स्ट्र ह्याट पाइरेट्स’ भनिन्छ। उनीहरूको पहिचान नै यही झन्डा हो।
यो एनिमेका पात्र विभिन्न समुद्री टापुमा गएर त्यहाँका शक्तिशाली शासकले जनतामाथि गर्ने अत्याचारविरूद्ध लडाइँ गर्छन्। जनताले लडाइँ जितेर न्याय पाएपछि त्यो ठाउँमा यही झन्डा फहराउने गरिन्छ।
जुन टापुमा यो झन्डा फहराइन्छ, त्यो टापु शासकहरूको अत्याचारबाट मुक्त छ र त्यहाँ जनताले न्याय पाइरहेका छन् भन्ने बुझिन्छ।
जापानी एनिमेको यही सन्देशअनुसार नेपाल लगायत अन्य मुलुकका जेन–जी युवाले पनि भ्रष्टाचार, नातावाद, कृपावाद लगायत शासकीय बेथितिविरूद्ध आवाज उठाउन यो झन्डा संकेत चिह्नका रूपमा प्रयोग गरेका हुन्।
यति मात्र होइन, उक्त एनिमेका पात्र लुफीमा ‘संसारले जे भने पनि म मेरो जीवन मेरो तरिकाले बाँच्छु’ भन्ने आत्मविश्वास छ। नेपाली जेन–जीहरूले पनि यो झन्डा फहराएर ‘हामीलाई भ्रष्टाचार र अन्याय सह्य छैन, हामी आफ्नो जीवन आफ्नै तरिका बाँच्छौं’ भन्ने सन्देश दिएका छन्।
पछिल्लो समय यसको बढ्दो अन्तर्राष्ट्रिय प्रयोग हेर्दा एनिमेको काल्पनिक दुनियाँबाट वास्तविक संसारको विद्रोह र न्याय खोज्ने पुस्ताको आवाज बनेको देखिन्छ।
हङकङका युवाले त्यही गरे, इन्डोनेसियाका युवाले त्यही गरे र यसपालि नेपालका युवाले पनि त्यही गरे।
यसको कारण के भने, संसारभरका जेन–जी युवा एनिमेबाट प्रभावित छन्। एनिमेको काल्पनिक संसारलाई उनीहरूले वास्तविक जीवनसँग जोडेका छन्।
त्यसै क्रममा समुद्री लुटेराहरूले अत्याचारी शासकविरूद्ध छेडेका लडाइँलाई उनीहरूले भ्रष्टाचारविरूद्धको लडाइँसँग जोडेका छन्। र, त्यहाँको विजय झन्डालाई यहाँ पनि सडकमा उतारेका छन्।
युवाहरूको यो अभियानले सबैबाट समर्थन भने पाइरहेको छैन।
कतिपयले ‘एनिमेको कल्पनालाई वास्तविक राजनीतिसँग दाँज्नु अपरिपक्वता हो’ भनेर आलोचना गरेका छन्।
तर जेन–जी पुस्ता भन्छ — कुनै पनि प्रतिरोधको सुरूआत कल्पनाबाटै हुन्छ। कल्पनामा आकार लिएपछि बल्ल त्यो प्रतिरोध सडकमा उर्लिन्छ।
जसरी लुफी शक्तिशाली शासकहरूलाई चुनौती दिन्छन्, त्यही प्रेरणाले भ्रष्टाचारविरूद्ध सडकमा उभिएको संकेत दिन जेन–जीहरूले यो झन्डा फहराएका हुन सक्छन्।


+ There are no comments
Add yours