सघन सहरी तथा भवन आयोजना जुम्लाको ७५ करोड बजेट फिर्ता

१५ साउन, जुम्ला । जुम्लास्थित सघन सहरी तथा भवन आयोजना कार्यालयमा गत आर्थिक वर्ष २०८१/८२ मा विनियोजित कुल पुँजीगत बजेटमध्ये ७५ करोड दुई लाख ६९ हजार रुपैयाँ बजेट फिर्ता गएको छ ।

सङ्घीय सरकारले जिल्लाको विकासका लागिसबैभन्दा बढी रकम यसै कार्यालयका लागि विनियोजन गरेको थियो । पुँजीगततर्फको बजेट १ अर्ब ६३ करोड ७२ लाख ६४ हजार रुपैयाँ मध्ये ९० करोड ३८ लाख ७ हजार रुपैयाँ अर्थात् ५४ दशमलव ६४ प्रतिशत मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मीनबहादुर घर्तिमगरले जानकारी दिए ।

यस कार्यालयको चालुतर्फ १ करोड ६८ लाख १२ हजार रुपैयाँ विनियोजन बजेटमध्ये १ करोड १३ लाख ८७ हजार रुपैयाँ अर्थात् ६७ दशमलव ७४ प्रतिशत बजेट खर्च भएको छ । चालु र पुँजीगत गरी जम्मा बजेट १ अर्ब ६५ करोड ४० लाख ७६ हजार रुपैयाँ विनियोजनमध्ये पुँजीगततर्फ खर्च हुन नसक्दा ७५ करोड २ लाख ६९ हजार रुपैयाँ ‘फ्रिज’ गएको हो ।

७६ वटा ठेक्काबाट सञ्चालन हुने सबै योजनाको काम सम्पन्न नहुँदा बजेट फिर्ता गएको कार्यालयले जनाएको छ । ती योजनालाई बहुवर्षीय बजेट सुनिश्चततामा ढिलाइ हुँदा बजेट फिर्ता गएको सघन सहरी तथा भवन आयोजनाका सूचना अधिकारी चन्द्र थापाले जानकारी दिए । उपझोक्ता समितिबाट निर्माण हुने करिब ३० वटा योजनाको रकमसमेत फ्रिज गएको छ ।

सबैभन्दा बढी डोल्पा र जुम्लाका योजनाका लागि आएको बजेट फिर्ता गएको छ । साविको माथिल्लो कर्णालीका जुम्लालगायत कालीकोट, मुगु, हुम्ला र डोल्पा गरी ५ जिल्लाको बजेट सदुपयोग नहुँदा करोडौँ बजेट फिर्ता गएको सघन सहरी तथा भवन आयोजनाले जनाएको छ ।

यसैगरी, सडक डिभिजन कार्यालयका लागि पुँजीगततर्फ ७१ करोड ५५ लाख रुपैयाँ मध्ये ५६ करोड ३२ लाख १२ हजार रुपैयाँ अर्थात् ७८ दशमलव ७२ प्रतिशत बजेट खर्च भएको छ । १५ करोड ४२ लाख ६३ हजार रुपैयाँ फिर्ता गएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours