चालु आर्थिक वर्ष सकिन २ हप्ता बाँकी, लक्ष्यको ७४ प्रतिशत मात्र राजश्व संकलन

१८ असार, काठमाडौं । चालु आर्थिक वर्ष सकिन अब २ हप्ता मात्र बाँकी रहे पनि लक्ष्य अनुसार राजस्व संकलन हुनसकेको छैन । महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म १० खर्ब ५६ अर्ब ७७ करोड बराबर राजस्व संकलन भएको छ ।

सरकारले चालु आवमा कूल १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । लक्ष्य अनुसार राजस्व संकलन हुने अवस्था नदेखेपछि अर्थमन्त्री बिष्णु पौडेलले अर्धवार्षिक समिक्षामार्फत राजस्वको लक्ष्य संशोधन गरेर १२ खर्ब ६७ अर्ब रुपैयाँ कायम गरेका थिए ।

कार्यालयका अनुसार हालसम्म कूल लक्ष्यको ७४.४६ प्रतिशत र संशोधित लक्ष्यको ८३.३४ प्रतिशत मात्र हुन आउँछ ।
सरकार महत्त्वकाक्षी हुनु र राजस्व संकलनमा असक्षम हुनुले पनि लक्ष्य अनुसारको राजस्व संकलन नभएको अर्थविद्हरुको भनाई छ ।

पुर्वाधार नभएर समयमै योजना तथा कार्यक्रमहरु सुरु नहुनुले राजस्व लक्ष्य अनुसार संकलन हुन नसकेको अर्थविद पोषराज पाण्डे बताउँछन् ।

उक्त राजश्वमा कर राजस्व कूल ९ खर्ब ५५ अर्ब ४७ करोड ५७ लाख बराबर संकलन भएको छ । यो कूल लक्ष्यको ७४.४ प्रतिशत बराबर हो । चालु आवमा कर राजश्व १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख बराबर संकलन गर्ने लक्ष्य राखेको थियो ।

त्यस्तै, गैर राजस्व १ खर्ब ३५ अर्ब ९ करोड ३४ लाख बराबर संकलन गर्ने लक्ष्य राखेकोमा हालसम्म १ खर्ब १ अर्ब २९ करोड ४३ लाख बराबर संकलन भएको छ । यो कुल लक्ष्यको ७४.९८ प्रतिशत हो ।

कार्यालयका अनुसार सरकारले ५२ अर्ब ३२ करोड ६५ लाख बराबर अनुदान प्राप्त हुने अपेक्षा गरेकोमा १९ अर्ब ८८ करोड ७७ लाख बराबर अनुदान प्राप्त भएको छ । कूल लक्ष्यको ३८.०१ प्रतिशत मात्र अनुदान प्राप्त भएको हो ।

कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को सो अवधिमा १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा १० खर्ब ३० अर्ब ३४ करोड ४३ लाख रुपैयाँ संकलन भएको थियो । जुन लक्ष्यको ७२.४३ प्रतिशत हो ।
चालु आर्थिक वर्षमा सरकारले १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख खर्च गर्ने लक्ष्य राखेको थियो । भने १३ खर्ब ९२ अर्ब १८ करोड ९१ लाख रुपैयाँमात्र खर्च भएको कार्यालयले जनाएको छ । उक्त खर्च लक्ष्यको ७४.८४ प्रतिशत मात्र हो ।

जसमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ चालु खर्च गर्ने लक्ष्य लिएकोमा ९ खर्ब २० अर्ब ३७ करोड ३ लाख रुपैयाँमा मात्र खर्च भएको हो । लक्ष्यको ८०.६९ प्रतिशत मात्र खर्च भएको कार्यालयले जनाएको हो ।

त्यस्तै, पुँजीगत खर्चमा ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँको लक्ष्यमा ४६.१२ प्रतिशत मात्र खर्च भएको छ । अर्थात् १ खर्ब ६२ अर्ब ४९ करोड ४८ लाख रुपैयाँ मात्र खर्च भएको हो भने वित्तीय व्यवस्थापनका लागि ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ छुट्याइएकोमा ३ खर्ब ९ अर्ब ३२ करोड ४० लाख रुपैयाँ खर्च भएको हो । अर्थात् लक्ष्यको ८४.२२ प्रतिशत खर्च भएको हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours