Advertisement

नेपाल-अमेरिका फिल्म फेस्टिभलमा ११ मुलुकका ३५ फिल्म प्रदर्शन हुने

0 8

Advertisement

२२ जेठ, काठमाडौं । नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने फिल्मको सूची सार्वजनिक गरिएको छ । नवीन सुब्बाद्वारा निर्देशित ‘गाउँ आएको बाटो’ ओपनिङ र फिडेल देवकोटाको ‘द रेड सुटेकस’ समापन फिल्मको रुपमा छन् ।

पाकिस्तानी मुलका अमेरिकी इराम परविन बिलालद्वारा निर्देशित ‘वाख्री’ र इरानका मिराब्बास खोस्राविनेजेहाद निर्देशित ‘परविन’ लगायतका फिल्म लाइनअपमा समावेश छन् । मेरिल्याण्ड राज्यमा जुन २० देखि २३ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट र एनिमेसन गरि ३५ फिल्म स्क्रिनिङ हुनेछन् ।

महोत्सव उदघाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थिएटरमा हुने आयोजक नेपाल-अमेरिका फिल्म सोसाइटीद्वारा जारी वक्तव्यमा उल्लेख छ । ४ दिनसम्म चल्ने महोत्सवका फिल्म भने एएफआई सिल्भर थिएटर र ग्रीनबेल्ट थिएटरमा प्रदर्शन हुने उल्लेख छ ।

फ्लोरिडाको ग्लोबल पिस फिल्म फेस्टिभलसँगको सहकार्यमा दुई फिल्म स्क्रिनिङ हुनेछन् । यसवर्ष अमेरिकी निर्देशक रोबर्ट ई फ्रेको ‘इन सर्च अफ रिजोलुसन’ र जर्मन निर्देशक रिक मिनिकको ‘द स्ट्रेट गाइज’ स्क्रिनिङ हुनेछन् । यी दुई फिल्म फेस्टिभलले सुरुवातदेखि सहकार्य गरिरहेका छन् ।

राजन कठेत र सुनिर पाण्डे निर्देशित डकु-ड्रामा ‘ढोरपाटन’ र केसाङ छेतेन निर्देशित वृत्तचित्र ‘डाइभर्सिटी प्लाजा’ पनि प्रदर्शन हुनेछन् । प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट फिल्मलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिने भएको छ ।

जुरी सदस्यको नाम भने केही दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ । महोत्सव अवधिभर फिल्म र संस्कृति, महिला ‘प्यानल’मा छलफल, फिल्म निर्माणबारे मास्टरक्लास पनि संचालन हुने जनाइएको छ । मेरिल्याण्ड राज्यको ‘पाक्र्स तथा योजना आयोग’को सहयोगमा उक्त छलफल हुने जनाइएको छ ।

सन् २०१७ देखि प्रत्येक वर्ष महोत्सव आयोजना हुँदै आएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.