Advertisement

मिस इण्डियासँग बिहे गरेका सुरज वैद्यको प्रेमकथा: विवाहका लागि धर्म परिवर्तन, पट्याउन झुटको खेती

0 622

Advertisement

०२ फागुन, काठमाडाैं । सुरज वैद्य अर्थात् परिचित एक नेपाली व्यवसायी । करिब ६१ वर्षअघि फेब्रुअरी १४ अर्थात् भ्यालेनटाइन डेका दिन जन्मिएका उनी निकै रोमान्टिक छन् ।

जन्मजात व्यवसायी भएका उनी हरेक डिलमा नाफा घाटा विश्लेषण गरिरहन्छन् । तर, प्रेमको मामलामा उनले नाफाघाटा सोचेनन् । उनको प्रेम कहानी पनि निकै रोचक छ ।

कलेज पढ्दै गर्दा २४ वर्षको उमेरमै इरानी नागरिक तारिनी फजलीसँग धर्मसमेत त्यागेर विवाह गरे ।

तर विडम्बना, तारिणीलाई दैवले खोसेर लगिदियो । तर, बदलामा भगवानले आफ्ना लागि ऋतु सिंह पठाएको बताउँछन् उनी ।

‘प्रेमको मामलामा म कम छैन, राम्रो चिजको प्रेममा तानिन्छु,’ वैद्य भन्छन् ।

हरेक उद्योगी/व्यवसायीलाई तपाईं सबैभन्दा खुसी भएको दिन कुन हो भनेर प्रश्न गर्दा कस्तो उत्तर आउला ? सबैभन्दा धेरै आम्दानी भएको दिन कतिपयको उत्तर यही हुँदो हो ।

तर, सुरज वैद्यको खुसीको क्षण व्यवसाय र आर्थिक विषयभन्दा फरक छ । उनी पूर्वमिसइण्डिया ऋतु सिंहलाई भेट्दा र बोल्न पाउँदा जीवनमै सबैभन्दा खुसी भएका थिए । त्यो खुसी एक क्षणको लागि मात्र रहेन । विवाहमा परिणत भयो । र, सुरज ऋतुसँगको बैवाहिक जीबनमा अहिले पनि उत्तिकै खुसी छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भइसकेका वैद्य आफूलाई रोमान्टिक भन्न रुचाउँछन् । सायद त्यही भएर होला आफूभन्दा १५ वर्ष कान्छी ऋतुलाई मनका हिसाबले आफूभन्दा जेठी ठान्छन् ।

सुनौं उनकै शब्दमा

मेरो पहिलो प्रेम इरानकी तारिनी फजलीसँग अमेरिकामा भयो । दोस्रो प्रेम मिस इन्डिया ऋतुसँग । र, मैले दुबैलाई आफ्नो बनाएँ। सायद यो मेरो प्रेमको सफलता पनि हो ।

तर, उनीहरुलाई आफ्नो बनाउन मैले ठूलै कसरत गरेँ ।

सायद ‘लेडिज क्रेजी’ भएर होला मेरो ‘वान साइडेड लभ अफेयर’ चल्थ्यो । मैलै ज-जसलाई प्रस्ताव राखेँ । र, उनीहरुलाई आफ्नो बनाउन सफल पनि भएँ । रोचक कुरा त के छ भने उनीहरु नै मेरो ‘लेडिज क्रेजी ह्याबीट’ मन पराउँदैनथे ।

तारिनी नेपाली साथीसँग भर्जिनिया घुम्न आएको बेला हाम्रो पहिलो भेट भयो । उनी पेन्सिभेनिया बस्थिन् । म भर्जिनिया । मेरो अर्पाटमेन्टमा ६ जना महिला साथीहरु बस्थे । उनी त्यहीँ बसिन् । त्यही क्रममा मैले उनलाई मन पराएँ । फोन नम्बर आदानप्रदान भयो । लेडिज क्रेजी यो मन थामिएन । तारिनीलाई फोन हान्न शुरु गरिहालेँ । उनलाई मेरो बानी मन पर्दैन थियो । त्यसैले उनले ६ महिनासम्म मेरो फोन उठाइनन् । यद्यपि, मैले प्रयास जारी राखेँ । २ वर्षसम्म तारिनीको पछि लागिरहेँ ।

धर्म परिवर्तन गरेँ

पढाइ सकेर म नेपाल फर्किएँ । बिस्तारै सम्पर्क हुन थाल्यो । मेरो आग्रहमा उनी नेपाल घुम्न आइन् । मेरो बुबा-आमालाई भेटिन्। फर्किने बेला उनलाई दिल्लीसम्म छोड्न गएँ । त्यहाँ पुगेपछि उनले इरान जाऊँ भन्ने प्रस्ताव गरिन् ।

भारतस्थित इरानी दूतावास गयौं । तर, भिसा पाइएन । ऊ इरानी भए पनि म विदेशी केटा थिएँ । दूतावासका कर्मचारीले विहे गरेको कागज बनाएर आयौ भने मात्रै भिसा पाइन्छ भने । टेम्पो चढेर पुरानो दिल्लीको एक मस्जिद गयौं । त्यहाका पूजारी (काजी) लाई मुस्लिम परम्पराअनुसार विहे भएको कागज बनाइदिन भन्यौ । निकै जोड गरेपछि मात्र उनले कागज बनाइदिए । मेरो नाम सिराज राखियो । दूतावासले भिसा दियो । तारिनी गएको केही महिनापछि म इरान गएँ । उनका बुबाआमाले तिमीहरु अब विहे गर भन्नुभयो । हामी राजी भयौं । इरानको संस्कार बडो जटिल रहेछ । तारिनीका लागि म छोटो अवधिमै मुस्लिम बने । र, विवाह गरियो ।

तर, बिडम्बना २७ वर्षअघि काठमाडौंमा भएको थाई एयरको दूर्घटनामा तारिनीको निधन भयो । उनीसँगका दुई छोरी छन् ।

त्यसपछि विहे नगर्ने सोचमा थिएँ । तर, मेरो त्यो सोच ऋतुलाई देखेपछि बदलियो । १७ वर्षअघि उनीसँग वैवाहिक बन्धनमा बाँधिए । सायद ऋतुलाई नभेटेको भए दोस्रो विहे गर्ने थिइँन ।

ऋतुसँगको त्यो भेट…

म बाल मन्दिरमा काम गर्थेँ । बाल मन्दिरको अवस्था दर्दनाक थियो । फेसन शो गर्ने र उठेको रकम बाल मन्दिरका लागि खर्च गर्ने सोच बनाएर नेपालमै पहिलोपटक फेसन शो आयोजना गरेँ । २५ जना भारतीय मोडलसँगै मिस इण्डिया ऋतु सिंह पनि आइन् । उनी यति आकर्षक थिइन् कि उनीसँगको पहिलो भेटमै मेरो मन पग्लियो । यो मन भन्ने चीज बडो अप्ठ्यारो हुँदोरहेछ । कन्ट्रोल नै गर्न नसकिने ।

फेसन शो सकियो। ऋतुलाई मसँगै राखूँजस्तो लाग्यो । कसरी उनलाई मेरा मनका कुरा भन्ने र प्रभावित बनाउने भन्ने सोचमा मग्न थिएँ । ऋतुसँग आएका २४ जना मोडेललाई प्लेन टिकट काटेर पठाएँ । ऋतुलाई ‘तिम्रो चाहीँ टिकट मिलेन’ भनेर यही राखेँ । वास्तवमा टिकटचाहीँ मिलेको थियो । मैले होइन मेरो मनले रोकेको हो । यस्तो कुराहरु दिमागले गर्न सक्दो रहेनछ ।

दुई दिनसम्म ऋतुको मनमा बास बस्नका लागि जग हाल्ने प्रयास गरे । घुमाउन नगरकोट लगेँ । हामीले सँगसँगै हिमाल हेर्यौं, सूर्योदय र सूर्यास्त हेर्यौं । काठमाडौं घुमाएँ । जीवनको बारेमा कुरा गर्यौं । फ्रेण्डसीप बढ्यो । पहिलो पटक भेट्दा ऋतु मिस इण्डिया हो भन्ने थाहा थिएन । तर, उ मिस वर्ल्ड नै हुनुपर्ने केटी थिई जस्तो लागेको थियो ।

ऋतु दिल्ली फर्केपछि फोनमा कुरा हुनथाल्यो । यतिसम्म कि कति रात त साँझ ८ बजेदेखि विहान ४ बजेसम्म फोनमा कुरा गरियो । कहिलेकाहीँ त लाग्छ नेपाल टेलिकम मेरै कारणले पने धनी बनेको हो कि !

मन थाम्नै सकिएन । उनलाई भेट्न ४/५ पटक दिल्ली धाएँ । दुईवटी छोरी भएकोले मलाई निकै अप्ठ्यारो थियो । मिस इण्डिया भइसकेकी ऋतुलाई कन्भिन्स गर्नु सामान्य कुरा थिएन । किनभने, उनलाई चाहने धेरै थिए ।

जसरी भएपनि ऋतुलाई आफ्नो बनाउन पाए हुन्थ्यो भन्ने लागेको थियो मलाई । ऋतु नभेटेको भए सायद म आजसम्म पनि अविवाहित नै हुन्थेँ । ऋतुको शरिरले मात्रै होइन, मन र म्याचुरिटीले पनि मलाई आकर्षित गरेको थियो । जब मैले तारिनीको बारेमा ऋतुलाई सुनाएँ । उनी रोइन् ।

चिनजान भएको ६/७ महिनापछि उनलाई प्रेम प्रस्ताव गरेँ ।

विनोद चौधरी उद्योग वाणिज्य महासंघको अध्यक्ष हुँदा उहाँको नेतृत्वमा हामी भारत घुम्न गएका थियौं । त्यो भ्रमणमा विनोदजीको मिटिङ छोडेर म ऋतुसँग कफी सपमा गफिएर बसेको हुन्थेँ । त्यो बेलादेखि हामी निकै सिरियस भइसकेका थियौं । ऊ परिवारकी जेठी छोरी । बुबा भारतीय सेनाको कर्णेल । घरमा पनि बडो कडा थियो । चौथो पटक दिल्ली गएपछि मैले उनलाई प्रस्ताव गरेँ । उनले बुबालाई सोध्नुपर्छ भनिन् । आधुनिक देखिए पनि ऋतु परम्परावादी छ ।

प्रस्ताव गरेको ७ महिनापछि उनले र उनको परिवारले मलाई स्वीकार गर्यो । हाम्रो सम्बन्ध विवाहमा परिणत भयो । विवाहपछि हाम्रो प्रेम अझ बढी झाँङ्गिएको छ । उमेरमा ऋतुभन्दा म १५ वर्ष जेठो भए पनि मनले १ वर्ष कान्छो छु ।

युवा उमेरमा जोश हुन्छ । केटी देख्नेबित्तिकै प्रस्ताव गरेको घटना त दर्जनौ छन् । तारिनी र ऋतु बाहेक अर्की एकजनालाई पनि गम्भीर भएर प्रस्ताव गरेको थिएँ । स्कुलको समयमा भएकाले त्यो घटना बिर्सेँ ।

अहिलेसम्म मैले धेरै केटी साथी बनाएँ । तर, मेरा लागि केटीहरुले नै खर्च गर्थे । मैले कहिल्यै खर्च गर्नु परेन । सायद मलाई भगवानले नै विशेष गुण दिएका हुन् कि ?

दुखका ती पलहरु

मेरो बुबा र आमाको विवाह अन्तर्जातीय हो । मेरो आमा शेर्पेनी भएकै कारण हजुरबुबाहरुले घर भित्र्याउनु भएन । त्यसकारण बुबा असनमा एउटा कोठा लिएर बस्नुभयो । आमाले सिस्नो टिपेर खुवाउनुहुन्थ्यो । मासु भन्ने कुरा लक्जरी थियो हाम्रो घरमा, त्यो मैले विर्सेको छैन ।

बाल्यकालमा फाटेको कपडा लगाएर खिचेको फोटो अहिले मैले घरमा सजाएर राखेको छु । जसले मलाई विगत सम्झाउँछ । त्यो फोटोले पैसाले होइन, व्यवहारले मान्छे बनाउँछ भनिरहे झैं लाग्छ ।

धेरै पछि उहाँहरुको सम्बन्धलाई परिवारले स्वीकार गर्यो । स्वीकार गरिसकेपछिको अवस्थाको पनि मलाई स्मरण छ- हाम्रो घरमा भोज हुँदा आमा र मलाई भर्याङमुनी राख्नुहुन्थ्यो । आमा धेरै रुनुहुनथ्यो । आमा फर्किएर जान चाहनुहुन्थ्यो तर फर्केर जानसक्ने अवस्था थिएन । किनभने, उहाँको माइत सोलुको नाम्चे हो । बुबा घुम्न जाँदा उहाँलाई भगाएर ल्याउनुभएको थियो । मैले मेरो आमाको दुःख देखेको छु । त्यसकारण म कसैलाई पनि सानो मान्दिन ।

६ दशकअघि वर्षअघि बुबाले ६०/७० डलरले व्यापार शुरु गर्नुभयो । हङकङहुँदै जापान गएर टोयाटोको डिस्टव्युटर्स लिएर आउनुभयो । अहिले बैद्य अर्गनाईजेसनको २ अर्ब रुपैयाँभन्दा बढी लगानी होला । अर्काइभबाट



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.