भारतबाट लिटरमै ७ रुपैयाँ घटेर आउँदा पनि आयल निगमले घटाएन डिजेलको मूल्य

0 7

३ मंसिर, काठमाडौं । तिहारको भाइटीकाको दिन २९ कात्तिकमा भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्य सूची पठायो ।

निगम स्रोतका अनुसार यस पटक डिजेलको मूल्य लिटरमै ७ रुपैयाँ हाराहारीले घटेर आएको छ । पेट्रोल, मट्टितेल, हवाइ इन्धनको मूल्य पनि केही मात्रामा घटेको छ ।

नेपाल भारत पेट्रोलियम व्यापार सम्झौताअनुसार भारतीय कम्पनी इन्डियन आयल कर्पोरेसन (आईओसी) ले हरेक अंग्रेजी महिनाको १ र १५ तारेखमा इन्धनको नयाँ मूल्य आयल निगमलाई पठाउँछ । खाना पकाउने ग्यासको मूल्य भने हरेक महिनाको १ तारेखमा पठाउँछ ।

भारतबाट आएको नयाँ मूल्यका आधारमा निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि २०७९ अनुसार त्यसै दिन वा भोलिपल्टदेखि लागू हुने गरी नेपालभर इन्धनको उपभोक्ता म्ूल्य निर्धारण गर्छ ।

तर यसपटक भारतबाट नयाँ मूल्य आएको ५दिन बित्दा पनि निगमले मूल्य समायोजन गरेको छैन । भारतबाट इन्धनको मूल्य घटेर आएको बिक्रेताले पनि थाहा पाइसकेका छन् । त्यसैले निगमले जुनसुकै बेला मूल्य घटाउन सक्ने आशंका गर्दै उनीहरु थोरै मात्रामा इन्धन खरिद गरेर बिक्री गरिरहेका छन् । जसका कारण कैलाली, पोखरा, धादिङ, नुवाकोट लगायतका क्षेत्रमा इन्धनको आंशिक अभाव देखिएको छ । मूल्य समायोजन नहुँदा उपभोक्ता भने महंगोमा मूल्यमा इन्धन खरिद गर्न बाध्य छन् ।

आयल निगमको तालुक मन्त्रालय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालिरहेका मन्त्री रमेश रिजालले मूल्य समायोजनबारे निगमको तयारीबारे आफूलाई जानकारी नभएको बताए । तिहार बिदाका कारण आफू उपत्यका बाहिर रहेको भन्दै मन्त्री रिजालले भने, ‘घट्यो होला भनेको घटेको रहेनछ । म अब बुझ्छु ।’

कालोबजारीको जोखिम

इन्धनको मूल्य भारतबाट घटेर आएको सूचना इन्धन बिक्रेताले भोलिपल्टै पाउँछन् । भारतबाट इन्धन ढुवानी गर्ने ट्यांकर व्यवसायीले इन्धन खरिद गर्दाको बिल पाएपछि मूल्य घटेको सूचना उनीहरुसम्म पुग्छ ।

त्यसैले नयाँ मूल्यसूची पाएको केही एकदिन भित्रै निगमले उपभोक्ता मूल्य निर्धारण गर्न नसके इन्धन बिक्री गर्ने व्यवसायीले व्यक्तिवगत लाभ लिनसक्ने उच्च जोखिम रहन्छ ।

यही जोखिम कम गर्न भन्दै निगमले गत भदौदेखि नयाँ मूल्य सूची प्राप्त भएको साँझ नै मूल्य समायोजन गर्दै आएको थियो । तर, यसपटक नयाँ मूल्य आएको एक साता पुग्नै लाग्दा पनि निगम चुपचाप बस्नु गम्भीर रहेको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।

अधिकारकर्मी माधव तिमिल्सिना लिटरमै ७ रुपैयाँ मूल्य घटेको बजारभरि हल्ला हुँदा पनि मूल्य समायोजन नहुनु आयल निगमको बदमासी भएको बताउँछन् ।

निगमले अहिले काठमाडौं लगायतका सहरमा १६४ रुपैयाँ लिटरमा डिजेल बिक्री गरिरहेको छ । अहिले प्राप्त नयाँ मूल्यले डिजेलको मूल्य कम्तीमा ७ रुपैयाँले घट्न सक्ने निगम स्रोत बताउँछ । यदि स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोन गरे डिजेलको उपभोक्ता मूल्य काठमाडौं, पोखरा दिपायलमा १५७ रुपैयाँमा झर्नेछ ।

सुर्खेत र दाङ क्षेत्रमा १५६ रुपैयाँमा झर्नेछ भने धनगढी, अमलेखगञ्ज र नेपालगञ्जमा डिजेलको मूल्य १५४ रुपैयाँ ५० पैसामा झर्नेछ । इन्धनको मूल्य एकै पटक लिटरमा ५ रुपैयाँ भन्दा बढी घटेमा सार्वजनिक यातायातको भाडा पनि घटाउने प्रचलन छ । त्यसैले डिजेलको मूल्य घट्नेवित्तिकै सार्वजनिक यातायातको भाडा पनि घटाउनुपर्नेछ ।

उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन अन्तर्राष्ट्रिय बजार मूल्य घटेपछि निगमले घरेलु बजारमा मूल्य घटाउनैपर्ने बताए । निगमका कारण सर्वसाधारण महंगीमा परिरहेको उनको भनाइ छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.