अभिनेत्री दिपाशा बीसीको निधन, शव पोस्टमार्टमको लागि टिचिङ अस्पताल लगियो
२३ कार्तिक, काठमाडौं । अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले अनलाइनखबरलाई जानकारी दिए ।
‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो ।
अभिनेत्री बीसीको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
बिहीबार बेलुकीमात्र नर्भिकले पोस्टमार्टमका लागि शवलाई टिचिङ पठाएको हो । दुबईमा रहेकी उनकी आमा नेपाल आएपछि मात्र अन्तिम संस्कार गरिने चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।
बीसीको निधनमा कलाकारले सामाजिक संजालमार्फत शोक व्यक्त गरिरहेका छन् । फिल्म र म्युजिक भिडियोमा चलेकी कलाकार बीसी जलपरी नामले समेत चर्चित छिन् ।
उनको निधनको खबर सुनेपछि नर्भिक परिसरमा कलाकारको बाक्लो उपस्थिती थियो ।
