भारतको दबाबपछि क्यानडाले फिर्ता बोलायो ४१ कूटनीतिज्ञ

0 37

०३ कात्तिक, काठमाडौं । क्यानडाले भारतमा रहेका आफ्ना ६२ मध्ये ४१ कूटनीतिज्ञलाई फिर्ता बोलाएको छ । शुक्रबार क्यानडाकी विदेशमन्त्री मेलेनी जोलीले यसको पुष्टि गरेकी छन् ।

१८ जुनमा क्यानडामा रहेका शिख नेता हरदीप सिंह निज्जरको हत्यापछि दुई देशको सम्बन्ध बिग्रिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले हरदीपको हत्या भारतीय एजेन्सीको संलग्नता रहेको आरोप लगाएपछि भारतले त्यसको खण्डन गर्दै आएको छ ।

विदेशमन्त्री जोलीका अनुसार भारतले शुक्रबार अर्थात अक्टोबर २० पछि २१ कूटनीतिज्ञ र उनीहरूका परिवारबाहेक सबै क्यानाडाली कूटनीतिज्ञहरूलाई अनैतिक रूपमा भारतबाट हटाउन दबाब दिएकोले क्यानडाले यस्तो निर्णय गरेको हो ।

उनका अनुसार क्यानडाका सबै कूटनीतिज्ञ र उनीहरूका परिवार सकुशल छन् र भारत छोडेका छन् । यसरी कूटनीतिज्ञ हटाउनुलाई अन्तर्राष्ट्रिय कानुनविपरीत मानिन्छ ।

यो विवादलाई नतन्काउन क्यानडाले कुनै पनि प्रतिशोधात्मक कारबाही नगर्ने निर्णय गरेको छ ।

क्यानडाकी परराष्ट्रमन्त्री जोलीले आफ्नो देशले सधैं अन्तर्राष्ट्रिय कानुनको पालना गर्ने र यो सबै देशको हकमा लागु हुने बताइन् । ‘यस्तो समयमा हाम्रा लागि हाम्रा कूटनीतिज्ञहरू एकअर्काको देशमा रहनु र हरेक तहमा संवाद जारी राख्नु अत्यन्तै महत्त्वपूर्ण छ,’ उनले भनिन् ।

भारतमा २१ जना मात्र क्यानडाली कूटनीतिज्ञ रहँदा कर्मचारी अभावले काम प्रभावित हुने उनले बताएकी छन् ।

यसै साता भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले एक पत्रकार सम्मेलनमा क्यानडालाई भारतबाट अतिरिक्त कूटनीतिज्ञ हटाउन भनिएको र आवश्यक भन्दा धेरै राख्दा भारतको आन्तरिक मामिलामा हस्तक्षेप हुने बताएका थिए ।

अक्टोबर पहिला साता क्यानडाका प्रधानमन्त्री ट्रूडोले भारतसँग विवाद बढाउन नचाहेको र त्यहाँ क्यानडाको कूटनीतिज्ञ रहनु महत्वपूर्ण भएको बताएका थिए ।

क्यानडाकी विदेशमन्त्री जोलीले पनि कूटनीतिक संकटबाट बाहिर निस्कन भारतसँग वार्ता गर्न चाहेको बताएकी छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.