औषधिको रुपमा मकैको जुँगा

0 17

०३ कार्तिक, काठमाडौं । हामी प्रायले हरियो मकै पोलेर वा उसिनेर खाएका छौँ। यो पोषिलो पनि हुन्छ। यससँगै भएको मकैको जुँगा पनि स्वास्थ्यवद्र्धक हुन्छ भन्ने कुराचाहिँ हामी कमैलाई थाहा छ। त्यसैले मकैको जुँगा हामीले त्यसै फ्याँकिरहेका हुन्छौँ। तर मकैको जुँगा मधुमेह, उच्च रक्तचापसहित विभिन्न स्वास्थ्य समस्यामा लाभदायक हुन्छ । परम्परागत स्वास्थ्योपचारमा यसको उपयोग हुँदै आए पनि यसलाई सबैभन्दा पहिले औषधिका रुपमा दर्ज गर्ने व्यक्ति भने एक चाइनिज फिजिसियन लान माओ(Lan Mao) हुन्।

मकैको बोटको सबैभन्दा टुप्पामा फूल हुन्छ। त्यसलाई धानचमरा पनि भनिन्छ। यही धानचमराबाट खसेको पराग मकैको जुँगामा परेपछि यसैमार्फत पराग घोगाभित्र पुग्ने हुन्छ। त्यसपछि मात्र घोगामा मकैका दाना लाग्न मद्दत पुग्छ । अब प्रश्न उठ्छ, यसरी पराग मकैको घोगाभित्र पु¥याउने जुँगा कसरी स्वास्थ्यवद्र्धक हुन्छ त ?

भारतकी एक क्लिनिकल न्युट्रिसनिस्ट एवं इन्डियन डायटेटिक एसोसिएसनकी सदस्य रुपाली दत्तले एक सञ्चारमाध्यम
(food.ndtv.com) मा उल्लेख गरेअनुसार

मकैको जुँगामा मानव स्वास्थ्यका लागि उपयोगी धेरै तत्व पाइन्छ। पौष्टिकताका हिसाबले हेर्ने हो भने मकैको जुँगामा प्रोटिन, भिटामिन, कार्बोहाइड्रेट, क्याल्सियम, पोटासियम, म्याग्नेसियम, सोडियम, स्थिर एवं वाष्पशील तेल पाइन्छ। यसका साथै साइटोस्टेरोल, स्टिगमास्टेरोलजस्ता स्टेरोइड्स अनि अल्कालोइड्स, सापोनिन, टानिन्स, फ्लेभोनोइड्स आदि तत्व पनि यसमा पाइएको छ । यिनै पोषक तत्व र यौगिक भएका कारण नै मकैको जुँगामा औषधीय गुण भएको हो, जुन मानव स्वास्थ्यका लागि उपयोगी हुने न्युट्रिसनिस्ट रुपालीले उल्लेख गरेकी छन्। उनका अनुसार मकैको जुँगाको सेवनबाट निम्न किसिमको स्वास्थ्यलाभ गर्न सकिन्छ।

मधुमेह सन्तुलनमा ल्याउन:
सदियौंदेखि चाइनिजहरुले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मकैको जुँगाको उपयोग गर्दै आएका थिए। एकपटक प्रयोगशालामा पशुहरुको अध्ययनका क्रममा मकैको जुँगाको सेवनले रगतमा इन्सुलिनको स्तर बढाएर हाइपरग्लेसिमियाको नियन्त्रण गर्न मद्दत पुगेको पाइएपछि भने यसले झनै महत्व पायो। प्यान्क्रियाज अर्थात् अग्न्याशयको अस्वस्थ बेटा सेल (कोशिका) लाई ठीक गर्न पनि मकैको जुँगाको सेवन उपयोगी हुने देखिएको छ। जब अग्न्याशय स्वस्थ हुन्छ भने इन्सुलिनको उत्पादन सन्तुलित रुपमा हुने नै भयो। यी सब कुराले मकैको जुँगाको सेवनले मधुमेह हुन नदिन मद्दत गर्ने देखिन्छ। मधुमेह भइसकेकाहरुका लागि पनि यो उपयोगी हुन्छ।

रक्तचाप सन्तुलनमा ल्याउन :

उच्च रक्तचाप विश्वकै एक कमन रोग बनिसकेको छ। हृदय रोग, मृगौलाको सक्रियतामा ह्रास र स्ट्रोकको जोखिम बढाउने प्रायः उच्च रक्तचापले नै हो। चाइनिज, मूल अमेरिकन र भारतीयहरुले समेत सदियौंदेखि उच्च रक्तचाप सन्तुलनमा राख्न परम्परागतरुपमा मकैको जुँगाको उपभोग गर्दै आइरहेका छन्।

एक विज्ञान जर्नलमा प्रकाशित मकैको जुँगामा गरिएका ५६७ अध्ययनहरुको समीक्षाले निष्कर्ष निकालेको छ कि रक्तचापको औषधिसँगै मकैको जुँगा पनि सेवन गर्नु बढी प्रभावकारी हुन्छ। यसमा थप बलियो अध्ययन हुन भने आवश्यक छ। तर पनि प्राकृतिक रुपमा मकैको जुँगा हानिकारक भने हुन सक्दैन। यसले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत पु¥याउने हुन्छ।

मूत्र प्रणाली सक्रिय पार्न:
हाम्रो शरीरका प्रणलीहरुमध्ये युरिनरी सिस्टम अर्थात् मूत्र प्रणाली पनि एक हो। यसमा मृगौला, मूत्रनली, मूत्राशय सबै अंग पर्छन्। यी अंगहरुको स्वस्थताका लागि मकैको जुँगा लाभकारी छ। सिस्टिटिस, एडिमा, मृगौलाको पत्थर, मूत्रवद्र्धक, प्रोस्टेट विकार र मूत्र संक्रमणका साथै ओछ्यानमा पिसाब फेर्ने समस्याको परम्परागत उपचारका रुपमा मकैको जुँगा सेवन गरिँदै आएको हो। खोज–अनुसन्धानले पनि यसको सेवन प्रभावकारी देखाएको छ। मूत्राशय र मूत्रनलीको भित्ता (पत्र) मा यसले सकारात्मक प्रभाव पार्छ। यसले गर्दा जलन कम हुन्छ र मूत्रश्राव सहज हुन्छ। मकैको जुँगाको चिया खाँदा प्रोस्टेटको सुजन कम गर्न पनि मद्दत मिल्छ।

रोग–प्रतिरोध क्षमता बढाउन:
मकैको जुँगा फेनोलिक कम्पाउन्ड्स विशेष गरी फ्लेभोनोइड्सबाट समृद्ध हुन्छ। यसले उत्कृष्ट एन्टिअक्सिडेन्ट गुण प्रदान गर्छ। भोजनमा पाइने गैरपोषक तत्व एन्टिअक्सिडेन्ट हाम्रो शरीरमा अक्सिेडेटिभ स्ट्रेसको म्यानेज गर्ने प्रमुख तत्व हो। मकैको जुँगामा मजबुत एन्टिइन्फ्लेमेन्टरी गुण हुन्छ। जुन हृदय रोगको जोखिम कम गर्न र हाम्रो इम्युनिटी पावर बढाउन प्रभावकारी हुन्छ। साथै प्रतिरक्षाको बढावा दिनमा मद्दत गर्छ। मजबुत एन्टिअक्सिडेन्ट गुणका कारण विकिरण र नेफ्रोटक्सिसिटीमा पनि यसले सुरक्षा प्रदान गर्छ।

तौल व्यवस्थापन गर्न:

प्रयोगात्मक अध्ययनले पत्ता लगाएको छ कि मकैको जुँगा एडिपोजेनेसिस अर्थात् फ्याट सेलको निर्माण रोक्न प्रभावकारी छ। यसले बोसोयुक्त कोशिका टुक्र्याउन मद्दत गर्छ। यस्ता कोशिका उत्पादनमा कमी ल्याउने र भएका कोशिका टुक्र्याउने हुँदा शरीरको तौल नियन्त्रणमा सन्तुलन ल्याउन मद्दत पुग्छ। जब शारीरिक तौल सन्तुलन हुन्छ तब अन्य रोगमा समेत कमी आउँछ र शरीर फूर्तिलो हुन्छ।

मकैको जुँगा कसरी सेवन गर्ने त ?
मकैको जुँगाको चिया बनाएर सेवन गर्नु जडीबुटी औषधि उपयोगको सबैभन्दा सजिलो तरिको हो। यसको ताजा रेसामा तातो पानी हालेर ५–१० मिनेट त्यसै छोडिदिनु अनि छानेको पानी सेवन गर्नु उत्तम हुन्छ। मकैको जुँगालाई पानीमा उमालेपछि सो उमालेको पानी पनि चियाको रुपमा सेवन गर्न सकिन्छ।

यसै गरी संकलन गरेको मकैको जुँगा सुकाएर पाउडर बनाउन पनि सकिन्छ। तातो पानीमा १–२ चम्चा सो पाउडर हालेर पनि चिया बनाउन सकिन्छ। प्राकृतिक रुपमै ताजा मकैको जुँगा हालेर बनाएको चिया भने बढी हितकर हुन्छ। पाउडर वा क्याप्सुल बनाएर सप्लिमेन्टका रुपमा त्यत्तिकै खान पनि सकिन्छ। तर समय–समयमा स्वास्थ्य परीक्षण गराई स्वास्थ्यकर्मीको सल्लाह अनुसार सेवन गर्नु उपयुक्त हुन्छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.