धार्मिक सद्भाव र सामाजिक सहकार्य कायम गरौं : पौडेल
०२ कार्तिक, म्याग्दी । नेकपा (माओवादी केन्द्र)का सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेलले धार्मिक सद्भाव र सामाजिक सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्। उक्त पार्टीको बेनी नगर कमिटीले दशैं-तिहारलगायत चाडपर्वको अवसरमा बुधबार बेनीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले धार्मिक र सामाजिक सद्भाव खलबल्याउने तत्वप्रति सचेत रहनुपर्ने बताए।
‘मिलेर बसेको समाजमा सामाजिक सञ्जाल दुरुपयोग गरेर धार्मिक र सामाजिक सद्भाव खलबल्याउने गतिविधिप्रति हामी सबै सचेत हुनुपर्छ,’ नेता पौडेलले भने ‘सद्भाव खलबलाउने, व्यवस्थाप्रति भ्रम पैदा गराउने र देशलाई अधोगतितर्फ लैजाने गतिविधिलाई निरुत्साहित गर्न धार्मिक सद्भाव र सामाजिक सहकार्य हुनुपर्छ।’
सेवा प्रवाह र विकासका विषयमा नागरिकले उठाउने प्रश्नलाई राजनीतिज्ञ र प्रशासकले सचेत रूपमा लिनुपर्ने बताउँदै उनले अहिलेको व्यवस्थाबाट पछि फर्कने अवस्था नरहेको स्पष्ट पारे। नेता पौडेलले भने, ‘राज्यप्रति विश्वास दिलाउन सबै सरकारी निकाय पारदर्शी, निष्पक्ष र जनताप्रति केन्द्रित हुनुपर्छ।’
सोही पार्टीका जिल्ला ईञ्चार्ज गुप्तबहादुर हमालले चाडपर्वलाई धार्मिक सद्भाव र सहकार्य गर्ने अवसरका रुपमा प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याए।
जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा र बेनी नगरपालिकाका प्रमुख सुरत केसीले स्थानीय राजनीतिक दल र प्रशासनिक निकाय विकासको मुद्दामा एकताबद्ध रहेका छन् भने। प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले चाडपर्वलाई सुरक्षित, मर्यादित, मौलिक र सांस्कृतिक हिसाबले मनाउनुपर्ने मनाउनुपर्नेमा जोड दिए।