‘जवान’ हिट हुँदा पनि सन्तुष्ट छैनन् नयनतारा, अबदेखि हिन्दी फिल्ममा कामै नगर्ने मुडमा
१२ असाेज, काठमाडौं । शाहरुख खानको फिल्म ‘जवान’ले बक्स अफिसमा सनसनी मच्चाइरहेको छ । भारतमा फिल्मले ५०० करोडभन्दा बढी रुपैयाँ कमाइसकेको छ । यो कमाई अझै बढ्ने देखिन्छ । फिल्मले १३ दिनमा वर्ल्डवाइड ९०० करोडको कलेक्सन गरेको छ ।
‘जवान’मा शाहरुखसँगै अभिनेत्री नयनतारा मुख्य भूमिकामा देखिएकी छन् । तर, उनी आफ्नो बलिउड डेब्युबाट सन्तुष्ट नरहेको रिपोर्ट आएको छ । यति मात्र होइन, अब उनी बलिउड फिल्ममा काम गर्ने मुडमा छैनन् ।
हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार, नयनतारा अब कुनै बलिउड फिल्ममा काम गर्न चाहन्नन् । उनी ‘जवान’का निर्देशक एटली कुमारसँग पनि रुष्ट छिन् । किनकि फिल्ममा उनको भूमिका काटेर दिपिका पादुकोणको भूमिका बढाइएको छ । सारमा नयनताराको भूमिकालाई ‘साइडलाइन’ गरिएको छ ।
दिपिकाले शाहरुखसँग विभिन्न फिल्ममा काम गरेकी छन् । ‘जवान’ मा उनको केमियो (छाेटाे भूमिका) लाई बढाइएकाे छ, तैपनि अडियन्सले उनलाई निकै रुचाएका छन् । रिपोर्टअनुसार, जवान फिल्म शाहरुख-दिपिकाको फिल्मजस्तै लागिरहेको थियो ।
नयनतारा साउथकी लिडिङ हिरोइन हुन् । जवानमा जसरी उनको भूमिकामा कैंची चलाइयो, यसबाट उनी सन्तुष्ट छैनन् । यही कारण उनी बलिउड प्रोजेक्टमा नदेखिने भएकी छन् ।

नयनतारा जवानको प्रमोसनल इभेन्ट्सको हिस्सा पनि बनिनन् । यति मात्रै होइन, जवानको सफलतापछि राखिएको पत्रकार सम्मेलनमा पनि नयनतारा देखिइनन् । इभेन्टमा शाहरुख खान, दिपिका पादुकोण, विजय सेतुपति, सान्या मल्होत्रा, रिद्धि डोगरा, एटलीलगायत उपस्थित थिए ।
यद्यपि, भारतीय मिडियाका अनुसार, नयनतारा आफ्नो खराब प्रचार अनुभवका कारण फिल्मको प्रमोसनमा जाँदिनन् । उनी ‘नो प्रमोसन पोलिसी’ मा विश्वास राख्छिन् । आफ्नो काम प्रचार गतिविधिको हिस्सा बन्नु नभएर अभिनय गर्नु हो भन्ने मान्यता उनी राख्छिन् ।