अब ‘एमआरसिपी युके पेसेज’ परीक्षा नेपालमै

0 10

२४ भाद्र, ललितपुर । नेपाल मेडिसिटी अस्पताल एमआरसिपी युके पेसेज पूर्वअभ्यास परीक्षा आयोजना गर्ने नेपालको पहिलो अस्पताल बनेको छ । नेपाल मेडिसिटी र युनाइटेड किङ्डमस्थित रोयल कलेज अफ फिजिसियन्ससँगको सहकार्यमा एमआरसिपी युके प्राक्टिकल एसिसमेन्ट अफ क्लिनिकल एक्जामिनेसन स्किल्स पेसेजको पूर्वअभ्यास परीक्षा सञ्चालन गर्ने नेपालको पहिलो अस्पताल बनेको हो । सेप्टेम्बर ७ र ८ गते भएको परीक्षामा नेपालबाट २४ डाक्टरले सहभागिता जनाएको मेडिसिटीले जनाएको छ ।

मेडिसिटीका अनुसार एमआरसिपी परीक्षा क्लिनिकल विशेषज्ञतामा थप निखार ल्याउन र सीप परीक्षण गर्न डिजाइन गरिएको हो । फेडेरेसन अफ रोयल कलेज अफ फिजिसियन्स युकेको विश्वव्यापी मापदण्डअनुसार परीक्षाको पूर्वअभ्यास सञ्चालन गरिएको थियो । जहाँ पाँच स्टेसन थिए, जसको माध्यमबाट परीक्षार्थीलाई उनीहरूको ज्ञान, क्लिनिकल सीप, बिरामीको स्वायत्तता र सञ्चारको सम्मान गर्ने क्षमताका लागि मूल्यांकन गरिएको थियो ।

शनिबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल मेडिसिटीमा एमआरसिपी युके परीक्षाको पूर्वअभ्यास आयोजना गर्न पाउँदा निकै गौरवान्वित भएको अनुभव भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसस्तरको प्रतिष्ठित परीक्षा, जसले डाक्टरको क्लिनिकल विशेषज्ञता मूल्यांकनमात्र गर्दैन, यसले बिरामी सुरक्षाका मुद्दा र सञ्चारलगायत सफ्ट स्किलहरू पनि हेर्छ र एक डाक्टरलाई विशेषज्ञ बन्न सहयोग पु¥याउँछ, यस्तो परीक्षा सञ्चालन गर्नु देशकै लागि महत्वपूर्ण उपलब्धि हो ।’ उहाँले नेपाल निकट भविष्यमै मेडिकल शिक्षालगायत सेवा क्षेत्रको पनि हब बन्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष महतोले भन्नुभयो, ‘नेपालमा जे छ, त्यो अन्त कतै छैन, नेपाल विश्वकै सुन्दर देश हो, नेपालजस्तो सुन्दर र आध्यात्मिक देश कुनै छैन । हामीसँग पैसाको मात्रै कमी हो । त्यो हामी कमाउन सक्छौँ । नेपालले ऊर्जा क्षेत्रमा गरेको जस्तै प्रगति सेवा क्षेत्रमा पनि गर्न सक्छ । सेवा क्षेत्रमा नेपाललाई अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्न सकिन्छ ।’

तर, उहाँले नेपालमै अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य प्रदान गर्ने अस्पताललाई विश्वास नगरी उपचारका लागि विदेशतिर दौडिने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । अध्यक्ष महतोले भन्नुभयो, ‘हामीलाई विश्वास गरेर विदेशीहरू पनि उपचारका लागि यहाँ आउँछन् तर नेपालीहरू भने केही भयो भने छिमेकी मुलुकतिर दौडिन्छन् । नेपालको मेडिकल क्षेत्र राज्यबाटै उपेक्षित छ ।’

कार्र्यक्रममा फेडेरेसन अफ रोयल कलेज अफ फिजिसियन्स अफ युकेका प्रतिनिधि डा. तन्जिम रजा, डा. डोनाल्ड फारुहार, डा. सत्यन राजभण्डारी, डा. फियोना क्लार्क र डा. ग्राहम करीलगायतको पनि उपस्थिति रहेको थियो ।

नेपाल मेडिसिटीमा एमआरसिपीको नेतृत्व गर्ने नेपाल मेडिसिटीका वरिष्ठ चिकित्सक डा. निरज जोशीले भन्नुभयो, ‘नेपाल मेडिसिटीमा एमआरसिपीको परीक्षा केन्द्र खोल्दा स्नातकोत्तर तालिम र कुनै अतिरिक्त शुल्कबिना अन्तर्राष्ट्रिय मान्यताप्राप्त डिग्री प्राप्त गर्ने नयाँ अवसर खुल्नेछ । यसले हामीलाई लामो समयसम्म नेपालमा विशेषज्ञ डाक्टरको अभाव पूर्ति गर्न सहयोग पुग्नेछ ।’ उक्त परीक्षामा उत्तीर्ण नेपाली चिकित्सकले नेपालमा मात्र होइन विश्वका जुनसुकै मुलुकमा चिकित्सकीय सेवा गर्न पाउने बताइएको छ ।

मेडिसिटी अस्पतालमा एमआरसिपी युकेको क्लिनिकल पाइलट परीक्षापछि निकट भविष्यमा परीक्षा केन्द्र स्थापना गर्ने अनुमति प्रदान हुने निर्णय लगभग अन्तिम चरणमा पुगेको बताइएको छ । यस्तो परीक्षामा नेपालका प्रशिक्षार्थी चिकित्सकमात्रै नभएर दक्षिण एसियाकै चिकित्ससमेत सहभागी हुनसक्ने मेडिसिटीको भनाइ छ । यसअघि पेसेज परीक्षामा सहभागी हुन चिकित्सकहरू बेलायत नै पुग्नुपर्ने बाध्यता थियो । तर, उक्त सुविधा नेपालमै हुने भए पनि परीक्षार्थीको लागत खर्चसमेत बचत हुने मेडिसिटीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.