गणतन्त्र नेपालको वर्तमान संविधान बीपी विचारकै सार : राष्ट्रपति पाैडेल

0 7

२३ भदाै, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधान बीपी विचारकै सार भएको बताएका छन्। जननायक बीपी कोइराला स्मृति ट्रस्टले कोइरालाको ११० औँ जन्मजयन्तीका उपलक्ष्यमा शुक्रबार राष्ट्रपति भवन शीतलनीवासमा आयोजना गरेको बीपी साहित्य तथा स्वतन्त्रता सेनानी सम्मान कार्यक्रममा उाले यस्ताे धारणा व्यक्त गरेका हुन्।

राष्ट्रपति पौडेलले अहिलेको संविधानले गरेको समावेशी व्यवस्थासहितका लोकतान्त्रिक मूल्य मान्यता बीपीले चाहेको समावेशी समाजको अवधारणाको सार भएको बताए। उनले बीपीको विचारलाई अन्यथा व्याख्या नगर्न पनि आग्रह गरे।

‘राष्ट्रिय एकता र मेलमिलापबाटै मुलुकसामु देखापर्ने समस्याको समाधान खोज्नुपर्छ भन्ने उहाँको धारणालाई समय र परिस्थितिसापेक्ष बनाउँंदै त्यसैलाई अनुकरण गरेर आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि हासिल गर्न सफल भएका छौं’, उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र यसैका माध्यमबाट मुलुकसामु देखा पर्ने यावत समस्या समाधान गरी जनताले अपेक्षा गरेअनुरूप आर्थिक रुपमा समृद्ध नयाँ नेपाल निर्माण गर्न बीपीले अघि सार्नुभएको कल्याणकारी राज्य प्रणालीको अवधारणा सिद्धान्त, मूल्य, मान्यता र आदर्श आज पनि उत्तिकै सान्दर्भिक छन्।’

राष्ट्रपति पौडेलले विश्वमा सर्वोत्कृष्ट मानिएको उत्पादनमा वृद्धि, प्राथमिकता निर्धारणसहितको न्यायोचित वितरणमा आधारित लोकतान्त्रिक सिद्धान्तप्रतिको बीपीको विचार ‘सबै नेपालीको आधारभूत आवश्यकता र सबै नेपाली परिवारको मध्यम वर्गीय हैसियत’ भन्ने उनको धारणा समानताको सिद्धान्तलाई मुर्तरूप दिने व्यवहारिक र ठोस दृष्टिकोण स्पष्ट भएको बताउँंदै अहिले पनि सो दृष्टिकोण पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे। ‘बीपिले देखाउनुभएको आदर्शमा हामी हिड्न सकेमात्र उहाँंप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने पनि म ठान्दछु’, उनले भने।

कार्यक्रममा बीपी साहित्य सम्मानबाट जनकपुरका डा राजेन्द्र बिमल पुरस्कृत भएका थिए। सो पुरस्कारको राशि एक लाख एक हजार रुपैयाँ र सम्मानपत्र रहेको छ। त्यस्तै बीपी प्रजातन्त्र सेनानी सम्मानबाट रुपन्देहीका ९२ वर्षीय डिल्लीरमण शर्मा न्यौपाने पुरस्कृत भए। सो पुरस्कारको राशि ५१ हजार नगद र सम्मानपत्र रहेको छ ।

सम्मानित व्यक्तित्व बिमलले बीपी सदैव स्वतन्त्रता र समानताका पक्षधर हुनुहुन्थ्यो भन्दै लोकतान्त्रिक समाजवाद नै बीपीको राजनीतिको चेतनाको प्राण भएको बताए।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला, सांसदहरु तथा विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिहरुको सहभागिता थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.