सीटीईभीटीका रोकिएका परीक्षा सञ्चालन गर्न छलफल भइरहेको छः मन्त्री राई

0 7

२२ भदौ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को रोकिएका परीक्षाहरु सञ्चालन गर्न छलफल भइरहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को विवादका कारण रोकिएका परिक्षाहरु सञ्चालनका गर्नका लागि छलफल भइरहेको बताएका हुन् ।

उनले भने, ‘सीटीईभीटीले परीक्षा लिने सन्दर्भको प्रसंग यसलाई अब समाधान गर्न सकिन्छ होला । एउटा मुद्दामा हामी सबैलाई उल्झिनुपरेको थियो । अदालतले हिजोबाट फैसला गरिदिएको छ । अब परिषद्को बैठक बस्न सकिन्छ होला ।’

उनले परीक्षा गर्ने वातावरण बनाउनका लागि मन्त्रालय, चिकित्सा शिक्षा आयोग र सीटीईभीटीका बीचमा छलफल भइरहेको स्पष्ट पारे । उनले आयोगले जाँचबुझ गरी कोटा निर्धारण गरेर परीक्षा लिने अवस्थासम्म पुर्‍याउने उनको भनाइ छ ।

‘विगतमै परिषद् बसेर सम्बन्धन दिइसकेका संस्थाहरुको हकमा आयोगले कन्सिडर गरिदिएको भए हुन्थ्यो भन्ने पनि लागेको थियो । ४८ वटा संस्थाहरु अपग्रेड हुने रहेछन् । सम्बन्धन दिने निर्णय पनि पहिले नै भइसकेको रहेछ । अब हाम्रो बाटो खुलेको छ जुन परीक्षा लिने सम्बन्धमा हामी परिषद् बसेर परिषद्ले गर्नुपर्ने निर्णयहरु गरिकन जुन सम्बन्धन दिएका संस्थाहरु छन् तिनीहरुलाई अपग्रेड गरिने संस्थाहरुलाई आयोग समक्ष प्रस्तुति गर्छौं ।’

सीटीईभीटीको बैठक बसेर स्तरोन्नति हुन चाहेका कलेजहरुको सम्बन्धमा निर्णय गरेर आयोग समक्ष पठाइने पनि उनले बताए । उनले नर्स तथा स्वास्थ्यकर्मीको जनशक्ति उत्पादनका लागि नीतिगत तहमै अध्ययन गर्नुपर्ने पनि बताए ।

उनले भने, ‘ आयोगले आफ्नो प्रक्रिया पुर्‍याएर यसै वर्ष पठन–पाठन हुन सक्ने गरी एउटा वातावरण बनाउने मन्त्रालय, आयोग र सीटीईभीटीको बीचमा समझदारी भएको छ । तत्कालको लागि परीक्षा लिने समस्यालाई हल गर्न सकिन्छ । हामी सक्छौं। कसरी नर्सिङको उत्पादनलाई अथवा स्वास्थ्यकर्मी जनशक्तिको उत्पादनलाई सुनिश्चित गर्ने भन्ने सवाललाई ऐन, कानुनमा पनि हेर्नुपर्छ होला । थप छलफल गरेर व्याख्याको समझदारीको एकरुपता पनि बनाउनुपर्छ होला भन्ने मलाई लाग्छ ।’

उनले संघीय शिक्षा ऐनमार्फत प्राविधिक शिक्षामा प्रदेश सरकारलाई जिम्मेवार बनाइने बताए । उनले संघीय सरकारले भने शिक्षाको गुणस्तरलाई हेर्ने, पाठ्यक्रमहरु बनाउने, तालिमहरु दिने खालको सोच राखिएको पनि बताए ।

‘प्राविधिक शिक्षामा प्रदेशलाई बढी जिम्मेवार बनाउने हो कि भन्ने पक्ष पनि छ । त्यसपछि संघले गुणस्तरलाई हेर्ने र पाठ्यक्रमहरु बनाउने, बेलाबेलामा तालिमहरु दिने यस खालको तरिकाबाट जाने सोच पनि रहेको छ । त्यसो भएको हुनाले सीटीईभीटीलाई पनि नयाँ ढंगले रिस्ट्रचरिङ गर्नुपर्ने आवश्यकता छ’ उनले भने, ‘यसको गुणस्तरलाई कस्तो किसिमबाट हेरदेख गर्दा बढी गुणस्तरीय पनि बनाउन सकिन्छ र दुई संस्थाहरुको बीचमा सहकार्य हुन्छ भन्ने परिप्रेक्ष्यलाई पनि ध्यानमा राखेर हेर्नुपर्छ ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.