जापानले प्रक्षेपण गर्यो चन्द्रमा मिसन, यसकारण छ महत्वपूर्ण

0 10

२२ भदाै, एजेन्सी। शक्तिशाली मुलुकहरुबीच चन्द्रमामा पुग्ने होडबाजी चलिरहेको छ । भारतले हालै आफ्नो चन्द्रयान–३ मिसनलाई चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रमा सफल अवतरण गराउँदै इतिहास कायम गर्यो । तथापि रुसको लुना–२५ यान भने चन्द्रमामा दुर्घटनाग्रस्त भयो । उता अमेरिकाले पनि यही वर्ष दुईवटा चन्द्रमा मिसन पठाउने योजना बनाएको छ । यही दौडमा जापानले पनि आफ्नो अन्तरीक्षयान चन्द्रमामा प्रक्षेपण गरेको छ ।

बिहीबार अर्थात् सेप्टेम्बर ७ मा जापानले आफ्नो चन्द्र मिसन लञ्च गरेको हो । तांगेसिमा स्पेस सेन्टरस्थित योशिनोबू लञ्च कम्प्लेक्सबाट अन्तरीक्षयान प्रक्षेपण गरिएको हो । यदि जापानी यान चन्द्रमामा सफलतापूर्वक अवतरण गर्न सकेमा जापान चन्द्रमामा पुग्ने विश्वको पाँचौँ देश बन्नेछ ।

जापानी स्पेश सेन्टर JAXA ले आफ्नो H-IIA रकेट मार्फत् The Smart Lander for Investigating Moon (SLIM) नामक स्मार्ट ल्याण्डर यान प्रक्षेपण गरेको हो । साथै यसमा एक्सरे इमेजिंग एण्ड स्पेक्ट्रोस्कोपी मिसन (XRISM) पनि पठाइएको छ । SLIM मिसनमार्फत् जापानले चन्द्रमामा अवतरणको आफ्नो क्षमता प्रदर्शन गर्न चाहन्छ, त्यो पनि अत्यधिक सटिकताका साथ ।

SLIM एउटा हलुका रोबोटिक ल्याण्डर हो, जसलाई पूर्वनिर्धारित स्थानमा अवतरण गराइनेछ । त्यसको स्थानमा कुनै परिवर्तन हुनेछैन, ताकि सटिक सफ्ट ल्याण्डिंग प्रदर्शन हुन सकोस् । यो मिसनलाई मून स्नाइपर पनि भनिएको छ । अर्थात् स्लिमको अवतरण उसको पूर्वनिर्धारित स्थानको १ सय मिटरको दायराभित्रै हुनेछ ।

यो जापानी चन्द्र मिसनको लागत करीब १३ अर्ब ३० करोड रुपैयाँ रहेको छ । जापानले गत अगष्ट २६ वा २८ मा चन्द्रमामा यान प्रक्षेपण गर्ने योजना बनाएको भएपनि खराब मौसमका कारण सेप्टेम्बर ७ मा सरेको हो ।

सुस्त यात्रा : चन्द्रमामा पुग्न ६ महिना लाग्ने

जापानी अन्तरीक्ष एजेन्सीका अध्यक्ष हिरोशी यामाकावाका अनुसार यानलाई त्यसको इन्धन धेरैभन्दा धेरै बचाउने गरी प्रक्षेपण गरिएको छ । यो यान आगामी फेब्रुअरीमा मात्रै चन्द्रमाको सतहमा अवतरण गर्नेछ । जापानको स्लिम ल्याण्डर चन्द्रमाको नियर साइड अर्थात् पृथ्वीबाट देखिने चन्द्रमाको हिस्सामा अवतरण गर्नेछ ।

यान अवतरण हुने सम्भावित स्थानलाई मारे नेक्टारिस भनिन्छ । यसलाई चन्द्रमाको समुद्र पनि भनिन्छ । त्यहाँ चन्द्रमाको सबैभन्दा अँध्यारो धब्बा छ । स्लिम ल्याण्डरमा अत्याधुनिक अप्टिकल तथा तस्वीर प्रोसेसिङ प्रविधि रहेको छ ।

अवतरण पछि स्लिमले चन्द्रमाको सतहमा रहेका चट्टानहरुको जाँच गर्नेछ, ताकि चन्द्रमाको उत्पत्तिको विषयमा जानकारी हासिल गर्न सकियोस् । योसँग कुनैपनि खालको रोभर पठाइएको छैन तर XRISM स्याटेलाइट भने पठाइएको छ जसले चन्द्रमाको चारैतर्फ परिक्रमा गर्नेछ ।

यसलाई जापान, नासा, तथा युरोपेली अन्तरीक्ष एजेन्सीले मिलेर बनाएका हुन् । यसले चन्द्रमाको वायुमण्डलमा बहने प्लाज्मा हावाको जाँच गर्नेछ । यसबाट ब्रम्हाण्डमा तारा तथा आकाशगंगाहरुको उत्पत्तिका विषयमा पत्ता लगाउने प्रयास हुनेछ ।

H-IIA रकेटको ४७ औँ उडान

H-IIA रकेट जापानको सबैभन्दा विश्वसनीय रकेट हो । पछिल्लो उडान त्यस रकेटको ४७ औँ उडान हो । मित्सुबिसी हेभी इन्डस्ट्रिजले उक्त रकेट बनाएको हो । यसको प्रक्षेपणको सफलतादर ९८ प्रतिशत छ ।

जापानले यो चन्द्र मिसनको प्रक्षेपण केही महिनासम्म पछि सारेर मिडियम लिफ्ट एच थ्री रकेटको असफलताको जाँच गरेको थियो । यो मिसन पश्चात् जापानले आगामी वर्ष हाकुतो २ तथा सन् २०२५ मा हाकुतो ३ मिसन प्रक्षेपण गर्नेछ । त्यो पनि एक ल्याण्डर तथा अर्बिटर मिसन हुनेछ ।

पहिलो प्रयासमा असफलता

जापानले अघिल्लो वर्ष पनि चन्द्रमामा यान पठाएको थियो । तर जापानको उक्त प्रयास असफल भएको थियो । ओमोतेनाशी नामक उक्त मून ल्याण्डर गत नोभेम्बरमा अवतरण हुनुपर्नेमा सम्पर्कविहीन भएको थियो ।

त्यसपछि जापानले अप्रिल महिनामा हाकूतो आर मिसन ल्याण्डर चन्द्रमामा प्रक्षेपण गरेको थियो, जो चन्द्रमामा दुर्घटना भएको थियो । त्यस्तै गत अक्टोबरमा प्रक्षेपण गरेको एप्सिलन रकेट पनि प्रक्षेपणकै समयमा विस्फोट भएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.