वैदेशिक रोजगारी सीपमूलक तालिमका नाममा अर्बौं घोटाला

0 11

२२ भाद्र, काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका लागि बर्सेनि सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ । यसरी सञ्चालन गर्दै आएको तालिममा सरकारले बर्सेनि अर्बौ रुपैयाँ खर्च पनि गर्दै आएको छ तर तालिमको लाभ भने वैदेशिक रोजगारीमा जाने कामदारले पाएका छैनन् । वैदेशिक रोजगार बोर्डको सचिवालयले सहायक इलेक्ट्रिसियन, प्लम्बर, मेसन, स्टिल फिक्चर, सटरिङ कार्पेन्टर, स्काफोल्डिङ र हाउस पेन्टिङ, ‘कुक’, वेटर/वेटर, हाउसकिपिङ, कफी मेकर, टेलरिङ, गार्मेन्ट, सुरक्षा गार्डलगायतका क्षेत्रमा वैदेशिक रोजगारीमा जाने कामदारलाई तालिम दिँदै आएको छ ।

त्यस्तै, बोर्डले निर्माण क्षेत्र, होटल व्यवस्थापन, टेलरिङ/गार्मेन्ट र सुरक्षा गार्ड गरी चार क्षेत्रमा एक महिनाको तालिम वर्षमा पटक–पटक गरी सञ्चालन गर्दै आएको छ । तालिम लिएकाले वैदेशिक रोजगारीमा गएपछि बढी तलब पाउने तथा स्वदेशमै पनि स्वरोजगार बन्न सक्ने अपेक्षाका साथ सञ्चालन गरिए पनि वास्तविक कामदारले यस्तो तालिम लिन नपाएको गुनासो गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा समेत कामदारले उजुरी गर्दै आएका छन् ।

श्रम मन्त्रालयले यस्तो गुनासो आए पनि सम्बोधनमा चासो नदिएको कामदारको आरोप छ । वैदेशिक रोजगारीमा जानेहरूका लागि सीपमूलक तालिम दिन वैदेशिक रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ ल्याइएको थियो । कार्यविधिमा एक महिना, एक महिनाभन्दा बढी, तीन महिनाभन्दा कम र तीन महिनाभन्दा बढीका गरी चार प्रकारका सीपमूलक तालिम व्यवस्था गरिएको छ । सीपमूलक तालिम लिनेलाई मात्र वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति दिने कार्यविधिमा उल्लेख छ तर वैदेशिक रोजगारीमा जानेहरू अधिकांश यस्तो तालिम नलिनेहरू छन् ।

तालिमका नाममा संस्था पाल्ने काम

वैदेशिक रोजगार बोर्डको सचिवालयले गत आर्थिक वर्षमा २० करोड बजेट विदेशिने कामदारलाई तालिम दिन छुट्टाएको थियो । गत आर्थिक वर्ष १० हजारलाई तालिम दिएको सचिवालयको दाबी छ । चालु आर्थिक वर्षमा भने बोर्डले सीपमूलक तालिमका लागि बजेट घटाएर चार करोडमा झारेको छ । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई हरेक आर्थिक वर्षमा तालिम सञ्चालन गर्दै आएको सचिवालयका सूचना अधिकारी राजन पौडलेले जानकारी दिनुभयो । विगतका वर्षभन्दा चालु आर्थिक वर्षमा सीपमूलक तालिमका लागि बजेट घटेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको क्षमता, सीप, काममा दक्षता र विषयगत क्षेत्रमा तालिम सञ्चालन गर्छ । सीपमूलक तालिम वार्षिक १० हजारलाई दिने योजना हुन्छ । सोहीअनुसार सञ्चालन भइरहेको छ । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई उद्यमी तालिम दिने योजना छ । यस वर्ष बजेटले भ्याएसम्म तालिम सञ्चालन हुन्छ । जसबाट पाँच हजारभन्दा बढी कामदारलाई फाइदा पुग्नेछ ।’

बोर्डका सूचना अधिकारी पौडेलले यस्तो दाबी गरे पनि वैदेशिक रोजगारीमा जाने कामदारलाई दिँदै आएको सीपमूलक तालिमका नाममा सरकारी कर्मचारी, विभिन्न संघसंस्था र केही अन्तर्राष्ट्रिय संस्था पालिने काममात्रै भइरहेको आरोप रोजगार विज्ञले लगाउँदै आएका छन् । वैदेशिक रोजगारीमा जान खोजिरहेकाहरूका लागि काठमाडौं, पोखरा, बुटवललगायतका ठाउँमा खानेबस्ने सुविधासहित निःशुल्क सीप तालिम सामी परियोजनाले यही सातादेखि सञ्चालन गर्न सूची सार्वजनिक गरेको छ ।

महिला र पुरुषका लागि फरक-फरक विषयमा सुरक्षित आप्रवासन सामी कार्यक्रमले निःशुल्क सीप तालिम प्रदान गर्न लागेको हो । ३० दिनसम्म सञ्चालन हुने निःशुल्क सीप तालिममा खानेबस्ने सुविधासमेत उपलब्ध छ । वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका पुरुषका लागि विभिन्न सातवटा विषयमा तालिम सञ्चालन हुने सामीले जनाएको छ । सामीले श्रम मन्त्रालयसँगको सहकार्यमा बर्सेनि विदेशी प्रोजेक्टका नाममा तालिम सञ्चालन गर्दै आए पनि सामीको तालिमबाट पनि वैदेशिक रोजगारीमा जाने श्रमिक लाभान्वित हुन सकेका छैनन् । सामीले वैदेशिक रोजगारीमा जाने कामदारलाई सीपमूलमक तालिम दिने नाममा करोडौं खर्चिंदै आएको छ । तर, सामीको तालिम लिएका कति कामदार विदेशिए, कति स्वदेशमा छन् र यसको लाभ कति कामदारले पाए भन्ने प्रश्नको जवाफ भने सामी दिन सक्ने अवस्थामा छैन ।

सामीजस्तै अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ) र अन्य संस्थाले वैदेशिक रोजगारीमा जाने कामदारलाई सीपमूलक तालिम दिइरहेका छन् तर तालिमले कामदारभन्दा संस्थालाई फाइदा भइरहेको श्रम मन्त्रालयकै कर्मचारी बताउँछन् । वैदेशिक रोजगारीमा जाने कामदारका हकमा भने सीपमूलक तालिमले फाइदा नपुगेको र उनीहरूले यो तालिम लिएर वैदेशिक रोजगारीमा नगएको श्रम मन्त्रालयकै अध्ययनले पनि देखाएको छ । हाल एक सयभन्दा बढी संस्थाले सीपमूलक तालिम सञ्चालन गर्दै आएका छन् । तीमध्ये कतिपयले कार्यालय नै नभए पनि तालिम सुविधा लिने गरेको पाइएको छ ।

७५ प्रतिशत अदक्ष कामदार विदेशिन्छन्

वैदेशिक रोजगारीमा जाने कामदारमध्ये झण्डै ७५ प्रतिशत अदक्ष छन् । आर्थिक सर्वेक्षणका अनुसार ७४.५ प्रतिशत अदक्ष, १.५ प्रतिशत दक्ष र २४ प्रतिशत अर्धदक्ष कामदार वैदेशिक रोजगारीमा जाने गरेका छन् । वैदेशिक रोजगारीमा जाने कामदारको संख्या उच्च भए पनि उनीहरूको पारिश्रमिक न्यून हुँदा रेमिट्यान्समा समेत कमी आउने गरेको सरकारले बताउँदै आएको छ । औसतमा एक कामदारले मासिक ३० हजार रेमिट्यान्स पठाउने गरेको अध्ययनले देखाएको छ । सीप भएका कामदार वैदेशिक रोजगारीमा जाँदा औसतमा ७० देखि ८० हजार रेमिट्यान्स भित्रिने सरकारी अध्ययन प्रतिवेदनहरूमा छ । अदक्ष कामदार वैदेशिक रोजगारीमा जाँदा थोरै कमाइ हुने तथा जोखिम बढी हुने भएकाले सरकारले तालिम दिएरमात्रै कामदार पठाउने योजना अघि सारेको हो । न्यूनतम एक महिना तालिम लिएका कामदारमात्रै विदेश जान पाउने गरी २०७५ सालमै नीति अघि सारे पनि हालसम्म लागू भएको छैन ।

वैदेशिक रोजगारीमा जाने कामदारलाई बिनातालिम पठाउने गरिएको छ । रोजगारीमा जानुअघि तालिम दिनसमेत छुट्याइएको पाँच अर्ब ३५ करोड रुपैयाँ लामो समयदेखि बैंक खातामा थन्किएर बसेको महालेखापरीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख छ । वैदेशिक रोजगारमा जाने कामदारमध्ये ०.४३ प्रतिशतले मात्र सीपमूलक तालिम लिएका छन् । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जाने कामदारको तालिमसमेतमा उपयोग गर्नुपर्ने पाँच अर्ब ३५ करोड रुपैयाँ मुद्दती खातामा निष्क्रिय राखेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.