विदेश छाडेर नेपालमै च्याउ खेती, वार्षिक एक करोड ४४ लाखको कारोबार

0 8

२१ भदाै, काठमाडाैं । वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएका विनोद पौडेलले च्याउ खेतीमा एक करोड रुपैयाँ लगानी गरेका छन् । युएईमा मेनेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादिङको थाक्रे गाउँपालिका–१० केवलपुरमा च्याउ खेती सुरु गरेका हुन् ।

युएईको कन्सल्टेन्ट कम्पनीमा मासिक झन्डै एक लाख रुपैयाँ कमाई भइरहे पनि अब नेपालमै केही गर्नुपर्छ भन्ने सोचका साथ च्याउ खेती सुरु गरेको उनले बताए । “अर्काको देशमा अरूले दिएको रोजगारीले जति नै कमाई भए पनि नेपालमै कृषि खेती गर्नुपर्छ भन्ने पारिवारिक सल्लाहअनुसार च्याउ खेती सुरु गरिएको हो”, पौडेल भन्छन्, “चार वर्षअघि सुरु गरेको च्याउले राम्रै आम्दानी दिइरहेको छ ।”

विसं २०७६ मा काठमाण्डौंको नागार्जुन नगरपालिका–५ आमकोटबाट साझेदारीमा च्याउ खेती गर्न सुरु गरेका पौडेलले धादिङको केवलपुरमा ३० रोपनी जग्गामा च्याउ खेती गरिरहेका छन् । अहिले ४५ च्याउ घर छन् । दुई रोपनीमा ग्रिन हाउस छ ।

पौडेल भन्छन्, “१० रोपनी आफ्नै जग्गा हो, २० रोपनी जग्गा वार्षिक ७५ हजार रुपैयाँ भाडामा लिएको छु, च्याउमा मात्रै पूरा एक करोड लगानी भएको छ ।” अहिले दैनिक पाँच सय किलो च्याउ कालीमाटी फलफूल तथा तरकारी बजारमा पुग्छ, सरदर महिनामा २० दिनमात्र च्याउ बिक्री गर्दा १० हजार किलो च्याउ बिक्री हुँदै आएको छ, एक वर्षमा एक लाख २० हजार किलो च्याउ बिक्री गर्दै आएको उनको भनाइ छ ।

सदर प्रतिकिलो एक सय २० रुपैयाँमा बिक्री गर्दा वार्षिक एक करोड ४४ लाख रुपैयाँको करोबार हुने उनको अनुभव छ ।

जलेश्वर कृषि च्याउ तथा पशुपक्षी फार्म प्रालिमार्फत च्याउ बजारसम्म लैजान उनले २५ लाख रुपैयाँमा गाडी किनेका छन् । तीनजना पूर्णकालीन र छ जना आंशिक गरी नौ जनालाई उनले रोजगारी पनि दिएका छन् । पौडेल भन्छन्, “हिजो म अर्काको देशमा अरूकै काम गरेर आएको हुँ, आज आफ्नै नेपाली दाजुभाइलाई गाउँठाउँमा काम दिन सक्ने भएको छु ।” उनले दुईवटा ग्रिन हाउस बनाउन छ लाख रुपैयाँ अनुदान सरकारबाट लिएका छन् । काम गर्ने मजदुर खर्च, ब्याज, कच्चापदार्थ खर्च, औषधी उपचार र व्यवस्थापन खर्च कट्टी गरेर मासिक एक लाख २० हजार रुपैयाँ बराबर कमाई हुने उनको भनाइ छ ।

“कमाएको हिसाबले विदेशमा मासिक ७५ हजार रुपैयाँ आउँथ्यो । विना लगानीको कमाई ठिकै लाग्थ्यो, अहिले कम्पनीमा भएको लगानी एक करोड रुपैयाा मध्ये ५० लाख ऋणमा छ, घरपरिवारसँगै बसेर कृषिमा राज्यलाई योगदान गर्न पाएको छु, यसमै खुसी छु”, उनले भने।

जाडो मौसममा तीन किलो र गर्र्मी मौसममा दुई किलो परालको पोका बनाएर बीउ उमार्ने गरिन्छ । च्याउ उत्पादनका लागि पराल तयार पार्नेदेखि ग्रिन हाउसमा लगेर पोका झुन्ड्याउने काम गरेबापत प्रतिपोका ३२ मजदुरले पाउँछन् । यसरी काम गर्दा एक मजदुरले सरदर एक हजार रुपैयाँ दैनिक पाँउछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.