सडक कालोपत्र भएपछि मुस्ताङ जाने यात्रा अवधि छोटियो

0 5

२१ भदाै, काठमाडाैं । मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोला देखि गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्र भएपछि यात्राअवधि छोटिएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक योजना अन्तरगत कैकुखोला–खन्ती खण्डको १६ किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न भएको हो ।

योजना प्रमुख जगत प्रजापतिले सडक कालोपत्र भएपछि एक घण्टा तीस मिनेटको यात्रावअधि तीस मिनेटमा छोटिएको जानकारी दिए । “कैकुखोला–खन्ती खण्डमा सडक कालोपत्र भएपछि एक घण्टा यात्रा अवधी छोटिएको छ,” उनले भने,“मुस्ताङका स्थानीय बासिन्दाका साथै पर्यटक र तिर्थयात्रीलाई सहज भएको छ ।”

११ मिटर फराकिलो बनाइएको सडकमा नाली, ग्यावीयन पर्खाल निर्माण र ग्राभेलपछि ७ देखि ८ मिटरको चौडाइका दरले आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो । उकालो सडकमा ढलान गरिएको छ । भिरको जोखिमयुक्त सडकको डिलतर्फ साइडबार राखिएको छ ।
सडक कालोपत्र भएपछि यात्रा अवधी छोटिएको र आवत जावत सहज भएको स्थानीयबासीहरुलेब ताएका छन् । मालढुङ्गा देखि कोरला नाकाको २०२ किलोमिटर दुरीको सडक विस्तार गर्न सञ्चालित १२ वटा प्याकेज मध्य कैकु–खन्ती खण्डको मात्रै पूर्णरुपमा कालोपत्र भएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको तेस्रो प्याकेजमा पर्ने सो सडक कालोपत्र गर्न वि.स. २०७४ जेठमा शर्मा–गजुरमुखीसँग ठेक्का सम्झौता भएको थियो । कैकु–खन्ती सहित बेनी–जोमसोम खण्डको चार प्याकेज (भाग)मा छुट्टा छुट्टै निर्माण कम्पनीहरुसंग दुई अर्ब पचास करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपाने (राजन)ले कम्पनीले ठेक्का लिएको राहुघाट र लेतेखोलाको मोटरेबल पुल निर्माणको काम पनि सकिएको जानकारी दिए । “शर्मा–गजुरमुखीले ठेक्का लिएको तीन वटा प्याकेज मध्य दुई वटा प्याकेज कालोपत्र र दुई वटा पुल निर्माण सकिएको छ,” उनले भने,“७५ प्रतिशत भौतिक प्रगति भएको दोस्रो प्याकेजको म्याग्दी खण्डमा पहिरोले धेरै क्षति गरेको छ । यो खण्डलाई पूर्णता दिने प्रयासमा छौ । छाक्ताङखोलाको मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।”

वि.स. २०७४ मा शुरु भएको चिनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०२ किलोमिटर दुरिको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ वटा खण्डमा निर्माण भइरहेको छ । हालसम्म मुस्ताङको सात वटा खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति करिब ७५ प्रतिशत छ ।

११० किलोमिटर दुरीको जोमसोम–कोरला खण्डको सात मध्य छ वटा खण्डको सडक ग्राभेल गरेर ठेकेदारले हस्तान्तरण गरिसकेका योजना प्रमुख जगत प्रजापतिले बताए । आठ वटा पक्कि पुल र तीन वटा बेलिब्रिज निर्माण सकिएका छन् । थप एक वटा मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।

१२ वटा मोटरेबल पुल निर्माणाधिन छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताब गरिएको आयोजना प्रमुख प्रजापतिले बताए । यो सडकलाई गण्डकी प्रदेशको “भाग्यरेखा” मानिएको छ । सडकले पुर्वाधार, आर्थिक, ब्यापारीक, जलविद्युत, पर्यटन र धार्मीक स्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको म्याग्दी प्रदेशसभा क्षेत्र (क)बाट निर्वाचित गण्डकी प्रदेश सांसद हरिबहादुर भण्डारीले बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.