नेपालमा राँगा र भैँसीको संख्या घट्दो क्रममा
२१ भदाै, काठमाडौं । नेपालमा राँगा र भैँसीको संख्या घट्दै गएको देखिएको छ। पशुपालनमा आबद्धमध्ये भैँसी र राँगा पाल्ने किसानको संख्या पनि घट्दै गएको देखिएको छ।
केन्द्रीय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ को तथ्याङ्कअनुसार नेपालमा राँगा र भैँसीको कुल संख्या २९ लाख २३ हजार छ। यसअघि २०६८ को कृषि गणनामा राँगा र भैँसीको संख्या ३१ लाख ७४ हजार थियो। केन्द्रीय तथ्यांक कार्यालयका अनुसार १० वर्षमा राँगा र भैँसीको संख्या २ लाख ५१ हजारले घटेको हो।
विवरणअनुसार राँगा र भैँसी पाल्ने किसानको संख्यामा पनि ठूलो गिरावट आएको छ। २०६८ सालमा राँगा र भैँसी पाल्ने किसान परिवारको संख्या १६ लाख ६९ हजा रहेको थियो। २०७८ को नयाँ गणनामा यस्तो परिवार संख्या १४ लाख १७ हजारमा सीमित भएको छ। १० वर्षको अवधिमा २ लाख ५२ हजार परिवारले राँगा र भैँसी पाल्न छाडेका देखिएको छ।