रतुवामाईका कर्मचारीले निजामती सेवा दिवस नमनाउने, कालोपट्टी बाँधेर विरोध जनाउने
२१ भदाै, काठमाडौं । मोरङको रतुवामाई नगरपालिका कर्मचारीले निजामती सेवा दिवस नमनाउने बताएका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भदौ २२ गते दिवस मनाउन पत्राचार गरेकोमा त्यहाँ कार्यरत कर्मचारीहरूले सेवा सुविधा, वृत्ति विकासको सुनिश्चित नभएको र प्रस्तावित निजामती सेवा ऐनको मस्यौदामा स्थानीय तहका कर्मचारीहरुलाई निजामती परिभाषामा नसमेटिएको भन्दै विरोध जनाएका हुन्।
कर्मचारीहरूले संयुक्त विज्ञप्ति निकाल्दै स्थानीय कर्मचारीहरूको सेवा सुविधा सम्बन्धी व्यवस्था नभएसम्म निजामती सेवा दिवस नमनाउने निर्णय गरेको बताएका छन्। निजामती परिभाषामा नसमेटिनु कर्मचारीहरूबीच विभेद भएको भन्दै शुक्रबार (भदौ २२) कालोपट्टी बाँधी विरोध जनाउने उनीहरूले बताएका छन्।
उनीहरूले निम्न ७ मागसहित विरोध जनाएका छन्।
१ संघीय निजामती सेवा ऐन नभई एकीकृत निजामती सेवा ऐन ल्याउनुपर्ने।
२ सेवा समुहको आधारमा सरकारी सेवाको प्रवेशद्वार संघीयताको मुटु मानिने स्थानीय सेवामा मात्र हुनुपर्ने।
३ सरुवा प्रणालीलाई दोहोरो सहमतीका आधारमा नभई अनुमानयोग्य चक्रिय प्रणालीमा आधारित हुनुपर्ने।
४ अन्तर प्रदेश सरुवाको व्यवस्था संघीय ऐनमानै खुलाउनुपर्ने।
५ निजामती अस्पतालमा सबै सरकारी कर्मचारीहरुलाई समेट्नुपर्ने।
६ संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरुको सेवा सुविधा र वृत्ति विकास सम्बन्धमा विभेद नभई समान हुनुपर्ने।
७ प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको हुनुपर्ने।
८ स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको पूर्ण सुरक्षाको प्रत्याभुति हुनुपर्ने।