Advertisement

‘एसियाडमा सहभागिता पदकका लागि मात्र होइन, ओलम्पिकको तयारी पनि हो’: सदस्यसचिव घिसिङ

0 29

Advertisement

बक्सिङ, कराँते र तेक्वान्दोमा पदकको आश, क्रिकेट र इस्पोर्ट्सबाट सुखद् नतिजाको अपेक्षा

१६ साउन, काठमाडौँ । १९ औं एसियाड शुरु हुन करिव दुई महिनाको समय बाँकी छँदा नेपालले आफ्नो तयारीमा तिब्रता दिइरहेको छ । चीनको हानझाउमा शहरमा आगामी सेप्टेम्बर २३ देखि शुरु हुने एसियाडमा नेपालका २९ खेलका २ सय ३४ खेलाडीले चुनौति प्रश्तुत गर्दैछन् ।

यीमध्ये कराँते, तेक्वान्दो र बक्सिङलाई पदक सम्भावनाको हिसावले पहिलो प्राथमिकतामा राखिएको छ । यी तीनै खेलले पूर्ण कोटामा आगामी एसियाडमा नेपालको तर्पmबाट चुनौति प्रश्तुत गर्ने तय छ । नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि यी तीनै खेलको तयारी विशेष बनाउने योजनाअनुरूप वैदेशिक प्रशिक्षण वा विदेशी प्रशिक्षकलाई नै नेपालमा भित्राउने पूर्वनिर्धारित योजनाअनुरूप काम गरिरहेको छ । यद्यपि, अन्य केही खेलले पनि वैदेशिक प्रशिक्षण गरिरहेका छन् ।

नेपालले सन् १९५१ मा भारतको दिल्लीमा भएको पहिलो एसियाडदेखि नै सहभागीता जनाउन थालेको थियो । त्यसयता १८ औं संस्करण सकिँदा नेपालले १६ वटा संस्करणमा मात्र सहभागिता जनाएको छ । एशियाली प्रतिष्पर्धाको १६ औं सहभागितामा नेपालले हालसम्म दुई वटा रजत र २२ काँस्य गरी कुल २४ पदक जितेको छ । स्वर्ण पदक जित्नुको परैको कुरा एउटा पदक जित्न पनि नेपाललाई कठिन बन्दै आएको तीतो यथार्थ छ । यस पटक भने देशले राम्रो प्रदर्शन गर्दै पदक जित्नेमा नेपाली खेलकुदको निकाय विश्वस्त देखिएका छन् । एशियाली खेलकुद नजिकिँदै गर्दा नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङसँग नेपालको तयारीबारे न्युज एजेन्सी नेपालले गरेको कुारकानीको सम्पादित अंश यस्तो छ ।

प्रश्नः एसियाड आउन ५७ दिन मात्र बाँकी छ, २९ वटा खेल एसियाडमा प्रतिष्पर्धा गर्दैछन्, ती खेलका खेलाडीको आजको दिनसम्म तयारी कस्तो भइरहेको छ ? 

उत्तरः तयारी राम्रैसँग अगाडि गइरहेको छ । राखेपको जिम्मेवारी खेलाडीहरूको तयारीका लागि आवश्यक पर्ने बजेट व्यवस्थापन र उनीहरूको प्रशिक्षणबारे नियमन गर्नु हो । यो तयारीमा सबैभन्दा बढी खेल संघहरू नै सक्रिय हुनुपर्ने हो । तर, राष्ट्रिय संघहरूको स्टे«न्थ हेर्ने हो भने सम्पूर्ण कुराका लागि परिषद्मा नै निर्भर भइरहेको अवस्था छ । खेलाडीहरूको प्रशिक्षण र खेल आयोजनाको व्यवस्थापन संघहरूले गर्नुपर्ने काम हुन् । यद्यपि, यी पक्षमा पनि कुनै ठाउँमा हामीले नै भन्नुपरेको अवस्था छ । केही संघहरूले भने सक्रियतापूर्वक काम गरेका छन् । एसियाडका लागि हामीले गत वर्षको माघदेखि नै तयारी गर्ने गरी योजना बनाएका थियौं । तर, बजेट रोक्का हुँदा सम्भव भएन । त्यसपछि वैशाखको पहिलो हप्ताभित्र खेलाडीको छनोट गर्नेगरी काम गरेका थियौँ । त्यसमा केही संघले खेलाडी छनोट पनि गरे । सबैले भने गर्न सकेनन् । हामीले वैशाख, जेठ र असारमा विशेष प्रशिक्षणका चरण सम्पन्न गरिसकेकका छौं । अब, साउन र भदौमा बन्द प्रशिक्षण हुनेछन् । यसबीच हाइ पर्पmमेन्सका लागि अन्तर्राष्ट्रिय प्रशिक्षक झिकाएर खेलाडीको प्रशिक्षण गराएका छौं । केही खेलाडीलाई अन्तर्राष्ट्रिय एकेडेमीमा नै पठाएर तयारी गराइरहेको अवस्था छ । सँगसँगै म्याच एक्सपोजरका लागि खेल संघहरूको सहजिकरणमा खेलाडीले अन्तर्राष्ट्रिय प्रतिष्पर्धासमेत गरिरहेका छन् ।

प्रश्नः एशियाली खेलकुदको इतिहास र उनीहरूको पछिल्ला नतिजा नियाल्दै राष्ट्रिय खेलकुद परिषद्ले तीन वटा खेल बक्सिङ, कराते र तेक्वान्दोलाई पदक जित्ने प्राथामिकतामा राखेको छ, यी खेलको पदक सम्भावना छ भनेर नै प्राथामिकता राख्नु भएको हो ? उनीहरूको तयारी अवस्था कस्तो छ ? 

उत्तरः पदक आशा गरिएका तीन वटा खेलको इतिहास राम्रै छ । त्यसैले हामीले ती खेललाई रोजेका हौं । बक्सिङले पृष्ठभूमि राम्रै भएको अन्तर्राष्ट्रिय प्रशिक्षक शिव सिंहलाई नेपालमा भित्राएर लामो समयदेखि अभ्यास गरिरहेको छ । अहिले त्यो टिम भारतमा थप अभ्यास गर्ने उद्देश्यअनुरूप पञ्जावमा गइसकेको छ । उहाँहरूले त्यहाँ प्रतियोगिता पनि खेल्नुहुनेछ । करातेले पनि अन्तर्राष्ट्रिय प्रशिक्षक झिकाउने भन्नुभएको थियो । त्यसका लागि मैले स्वीकृति पनि दिएको थिएँ । तर, अहिलेसम्म कार्यान्वयन भने भएको छैन । तथापि, उहाहरूले अन्तर्राष्ट्रिय तालिम गराउन लैजान गरी तयारी गर्नुुभएको भन्ने सुनेको छु ।

अन्तर्राष्ट्रिय तालिम वा प्रशिक्षक झिकाउने जे गरे पनि परिषद् सहयोग गर्न तयार छ । तर, तपाईहरूले छिटो निर्णय गर्नुस् भनेर संघलाई भनेको छु । तर, अभैm करातेले ढिलाई चाहीँ गरेको छ । मेरो अर्को चिन्ता भनेको तेक्वान्दोमा पनि हो । तेक्वान्दोलाई पनि अन्तर्राष्ट्रिय प्रशिक्षणका लागि राम्रो एकेडेमीमा लैजान भनेको थिएँ । गत आर्थिक वर्षमा नै भनेको कुरो थियो त्यो । अहिले पुम्सेको टोली चाहीँ कोरियामा छन् । त्यसपछि उहाँहरू मलेसियामा तालिमका लागि जानुहुन्छ । ग्यरोगी (फाइट) का टोलीले भने नेपालमा तयारी गरिरहेका छन् ।

कुन एकेडेमी राम्रो छ र कुन प्रशिक्षक राम्रा छन् भनेर पहिचान गर्ने काम संघको हो । त्यसलाई फण्डिङ गर्ने जिम्मेवारी परिषद्को हो । त्यसैले दुवै निकाय उत्तिकै सक्रिय हुँदा मात्र तयारी राम्रो हुन्छ । मैले उहाँहरूलाई भन्नुपर्ने काम भनेको छु । यसमा बक्सिङले धेरै राम्रो गरिरहेको छ । प्राथमिकतामा राखेका तीन खेलको प्रशिक्षण राम्रै भइरहेको छ । तर पनि उहाँहरूलाई बेलाबेलामा झकझकाइ रहेको छु ।

प्रश्नः विगतमा एसियाडमा प्रतिष्पर्धा गर्दा करातेको सहभागिता विषयमा पनि विवाद भइरहेको यथार्थ हामीसँग छन्, यस पटक पनि राखेपअन्तगर्तको नेपाल कराते महासंघअन्तर्गत कराते खेलाडीले तयारी गरिरहेका छन् भने अर्को टोलीले पनि एसियाड खेल्ने दाबेदारीसहित तयारीलाई तिब्रता दिइरहेका छन्, यो दुविधाका बीच तयारी हुँदा समस्या छैन ?

उत्तरः परिषद्अन्तर्गतको नेपाल कराते महासंघको मातहतमा रहेर तयारी गरिरहेका खेलाडीलाई निश्चिन्त भएर प्रशिक्षण गर्न आग्रह गरेको छु । यो एशियन गेम्स एशियन ओलम्पिक कमिटीको आयोजना हो । त्यसकै मातहतमा रहेको नेपाल ओलम्पिक कमिटीमार्पmत हामीले दर्ता गरेका खेलाडीले नै एशियन गेम्स खेल्छन् । अब, दोस्रो टिमका खेलाडीको इन्ट्री हुँदैन र ढुक्क साथ यही टोलीले खेल्छ ।

च्याउझंै छरिएर रहेका ६७ वटा कराते संघलाई एकै ठाउँमा ल्याउँदै खेलकुदभित्रका समस्यालाई समाधान गर्ने उद्देश्यले अभियान थालेको थिएँ । विश्व कराते महासंघले पनि राम्रो योजनालाई पूर्णता दिने काम गरेको छ र भर्खर निर्वाचित युवराजजी (लामा) नेतृत्वको कराते महासंघलाई आवद्धता दिइसकेको छ । अब देशमा एउटा मात्र कराते महासंघ रहन्छ र खेलका क्रममा पनि कुनै पनि समस्या हुँदैन ।

प्रश्नः पदक सम्भावनाको सूचिमा रहेका अर्को खेल तेक्वान्दो हो, उनीहरूको इतिहास राम्रो छ, राम्रा खेलाडीको विदेश पलयान छन्, अहिले अधिकांश नयाँ अनुहार छन्, त्यसमा पनि नेपाल तेक्वान्दो संघको तयारी राम्रो देखिएको छैन नि ?

उत्तरः पहिलो कुरो त खेलाडीहरू छनोट भएर आएका हुन् । त्यो छनोट पनि सम्बन्धित खेल संघले नै गरेका हो । अभैm पनि हाम्रो मानसिकता राखेपले नै खेलाडी उत्पादन आफैँ गर्छ, प्रतियोगिता आयोजना र प्रशिक्षण पनि आफैँ गर्छ भन्ने खालका छन् । यस किसिमको मानसिकता परिवर्तन गर्न आवश्यक छ । राखेपको जिम्मेवारी संघहरूलाई सघाउने, मोनिटरिङ या नियमन गर्नु हो । खेलाडी उत्पादन, प्रशिक्षण गर्ने, छनोट गर्ने काम संघको हो । संघले पनि छनोट प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई एसियाडको तयारीमा राखेको छ । त्यहाँ अधिकांश नयाँ अनुहार छन् ।

उनीहरूले केही गर्न सक्दैनन् भन्ने कुरामा म विश्वस्त छैन । उहाँहरूले राम्रो नै गर्नुहोला । यद्यपि, तेक्वान्दोमा अधिकांश नयाँ खेलाडी भएकाले त्यहाँ अली बढी म्याच एक्सपोजर आवश्यक छ । तेक्वान्दोको एक्सपोजर र अन्तर्राष्ट्रिय प्रतियोगिता अली कम छ । मैले संघका साथीहरूलाई पनि जतिसक्दो चाँडो त्यसको व्यवस्थापन गर्न भनिरहेको छ । सायद उहाँहरूले पनि यो काम गर्नुहुन्छ होला । यद्यपि, पुम्सेको टोली भने बाहिर नै अभ्यासमै छन् । ग्यरोगीका लागि पनि आवश्यक पर्ने पक्ष व्यवस्थापन गर्न तयार नै छौँ ।

प्रश्नः अहिलेसम्म कुनकुन खेल वैदेशिक प्रशिक्षणमा छन् ? 

उत्तरः अहिलेसम्म क्यानोइङ, गल्फ, बक्सिङ, तेक्वान्दो, कुस्ती, लनटेनिस, टेबल टेनिसलगायत खेल वैदेशिक प्रशिक्षणमा छन् । कबड्डी पनि जाने प्रक्रियामा नै छ । अहिलेसम्म ८÷९ वटा खेल वैदेशिक प्रशिक्षणमा छन् । यहाँ भएका केही खेलले पनि विदेशी प्रशिक्षकमार्पmत तयारी गरेका छन् । अन्य केही खेलले पनि योजना बनाइरहेका छन् ।

प्रश्नः परिषद्ले १९औं एसियाडका लागि आवश्यक बजेट माग गरेअनुरूप स्वीकृत भएन भन्ने आइरहेको छ, यदी बजेट अपर्याप्त भयो भने तयारीमा खुम्चिने अवस्था रहन्छ की ?

हामीले एशियाली खेलकुदको तयारीका लागि २४ करोड रुपैयाँ माग गरेका थियौं । त्यसमा तीन करोड घटाएर २१ करोड रुपैयाँ मात्र उपलब्ध भएको छ । यो रकममा तयारी गर्नु चुनौतिपूर्ण नै हुन्छ । यद्यपि, यो देशको सहभागिताको कुरा हो । जहाँ अपुग रहन्छ, त्यस्तो अवस्थामा सरकारले नदिने भन्नेकुरा हुँदैन । तथापि, बजेट अभाव छ भनेर तयारीमा खुम्चाउने पक्षमा चाहीँ छैन । किनकी जुडो, रग्बी र भलिबलमा अन्तर्राष्ट्रिय प्रशिक्षक ल्याएर टिमलाई राम्रोसँग प्रशिक्षण दिइरहेको अवस्था छ । अन्य केही खेलमा पनि त्यस्तै व्यवस्थापन भएका छन् । अहिले खेलाडीमा थप निखारता ल्याउने समय हो । बजेटका कारणले तयारीमा खुम्चाउने कुरै भएन ।

प्रश्नः यस पटकको एसियाडमा कति संख्यामा नेपाली टोली जाँदै छन्, पदकको सम्भावना के कस्तो देख्नु हुन्छ ? पदकको आशा गर्नुपर्ने ठाउँ छ की छैन ?

अहिलेसम्म एसियाडका लागि २ सय ३४ खेलाडी, ५३ प्रशिक्षक र ३१ व्यवस्थापक तय भएको छ । बक्सिङमा लामो अनुभव पाएका खेलाडीहरूको सहभागिता छ । उनीहरूमा पदकको सम्भावना देख्नसक्ने अवस्था छ । बक्सिङको एसियन यु–२० मा पनि पदक जितेका खेलाडी पनि हामीसँग छन् । केही न केही सम्भावना छ भन्ने मेरो विश्वास छ । त्यसपछि कराँते र तेक्वान्दोबाट पनि आशा छ । उनीहरूको विगतका पृष्ठभूमि र अहिले संघहरूलाई दिइएको निर्देशनअनुरूप काम भयो भने यी दुईबाट पदकको आशा गर्ने ठाउँ छन् ।

गल्फले कोभिडको समयमा पनि प्रशिक्षण नरोकी काम गरिरहेको थियो । नियमित प्रशिक्षणका साथै घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा राम्रो गरिरहेको गल्फले पनि राम्रै तयारी गरेको छ । त्यसपछि केही नयाँ खेलहरू पनि आइरहेका छन् । क्रिकेट र इस्पोर्ट्सबाट सुखद् नतिजा हात पार्न सकिन्छ भन्ने आशा छ ।

प्रश्नः यति धेरै खेलको सहभागिता आवश्यक थियो, सहभागिताकै लागि यति धेरै खेल समावेश भए भन्ने आवाज पनि आएका छन् नी ?

सामान्यतयाः प्रतियोगिता खेल्ने भनेको पदककै लागि नै हो । तर, त्यो सँगसँगै हाम्रा खेलाडीको लेभल कहाँ छ भन्ने मापन गर्न पनि यो प्रतियोगितामा लैजानुपर्छ । विश्वकप खेलिसकेका टोली र अहिलेसम्म खेल्न नपाएकाले प्रतिष्पर्धा गर्ने भनेको यही एसियाड मात्र हो । माथिल्लो तहका अनुभव हासिल गर्नकै लागि भने पनि हामीले यस किसिमका प्रतियोगितामा खेलाडीको सहभागिता बढाउनुपर्छ भन्ने मेरो मान्यता हो । अहिले अधिकांश खेलले विश्व वरीयताका आधारमा ओलम्पिक खेल्न पाउँछन् । खेलका विश्व महासंघले गर्ने प्रतियोगिता पनि वरीयताका आधारमा खेलाइन्छ ।

विश्व च्याम्पियनसिप, एसियन च्याम्पियनसिप र ओलम्पिकमा नै राम्रो प्रदर्शन गरेका खेलाडीसँग हाम्रा खेलाडीले खेल्न पाउने अवसर हो यो । साथै यो ओलम्पिकको तयारी पनि हो । त्यसैले सहभागिताकै लागि खेलाडी सहभागी गराउन हुन्न भन्ने मान्यता गलत छ । हाम्रा खेलाडीले यो प्रतियोगिताबाट धेरै पक्ष हासिल गर्छन् । एसियन गेम्स नखेल्ने खेलाडीले ओलम्पिकका लागि योग्य हुन आवश्यक पर्ने अंक कहाँबाट ल्याउन सक्छ त ? सामान्य मानिसले एसियाड खेल्नुको नेटवर्क कहाँसम्म छ भन्ने बुझिरहेको हुँदैनन् । मानिसहरूले खाली यति धेरै खेलाडी एसियाडमा सहभागी गरायो भन्नु गलत छ । यही एसियाडबाट हाम्रा खेलाडीले ओलम्पिकका लागि आवश्यक पर्ने अंक पाउन सक्छन् ।

प्रश्नः खेलाडीहरूको फिटनेस र स्वास्थ्य स्थितिबारे नियमित जाँचका साथै उनीहरूको मनोवैज्ञानिक अवस्थालगायत विषयहरूमा परिषद्ले काम गर्न सकिरहेको छ की छैन ? 

परिषद्ले अहिले आफूसँग भएको जनशक्तिबाहेक अन्य जनशक्ति पनि एसियाडको तयारीका लागि खटाएको छ । त्यसअन्तर्गत थप फिजियोथेरापिस्टहरू हरेक ट्रेनिङ भेन्युमा राखेका छौं । तत्कालै आवश्यक पर्ने स्वास्थ्यकर्मीहरू पनि अभ्यास गर्ने स्थानमा उपलब्ध छन् । खेलाडीहरूको स्वास्थ्य परीक्षणका काम भइसकेको छ । एन्टी डोपिङ लर्निङ सर्टिफिकेट र सहभागिताका लागि डोपिङका कक्षाहरू खेलाडीहरूले पूरा गरिसक्नुभएको छ । 

तयारी भन्ने बित्तिकै प्र्राविधिक प्रशिक्षण मात्र हुँदैन । खेलाडीहरूको फिटनेस लेभल, स्ट्रेन्थलगायत कुरामा पूर्ण रूपमा राम्रो हुनुपर्छ । प्रशिक्षकहरूले पनि यी कुरामा ध्यान दिइरहनुभएको छ । रिङभित्रको तालिम मात्र होइन रिङ बाहिरको अभ्यास पनि उहाँहरूले लिइरहनुभएको छ । सम्पूर्ण खेलाडीमा सकारात्मक खालका आत्मबल पैदा भएको मैले देखिरहेको छु । 

प्रश्नः जहिल्यै पनि अन्तर्राष्ट्रिय प्रतिष्पर्धा गरिसकेपछि खेलाडीहरूलाई प्रदर्शनका बारेमा सोध्दा उनीहरूकै एउटै जवाफ भनेको यहाँको वातावरणसँग भिज्न गाह्रो भयो भन्छन्, यस पटक परिषद्ले आयोजना मितिभन्दा कति समय अगाडि एसियाडको खेल स्थलमा तयारी गराउने योजना बनाएको छ ?

खेलाडीहरूको आवाज हामीले सम्बोधन नै गर्नुपर्छ । तर, त्यसअघि केही पक्षमा ध्यान दिनुपर्छ । एसियाडको भिलेज कहिले खोल्छ भन्ने पनि ध्यान दिनुपर्छ । त्यहाँ आराम गर्न मात्र उहाँहरूलाई छिटो लगेर हुँदैन । पहिला उहाँहरूको व्यवस्थापनबारे काम गर्छौं । त्यसपछि मात्र हामी खेलाडीलाई लैजानेछौं । 



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.