पुनर्बीमा कम्पनीलाई जीवन बीमा व्यवसायबाट १७ करोड नोक्सानी, निर्जीवन बीमाबाट साढे ४६ करोड नाफा

0 19

२३ जेठ, काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनीले जीवन बीमा व्यवसायबाट १७ करोड २० लाख ७९ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ । गत आवको सोही अवधिमा ४ करोड ४७ लाख ५६ हजार रुपैयाँ नोक्सानी ब्यहोरेकोमा पछिल्लो एक वर्षमा १२ करोड ७२ लाख २३ हजार रुपैयाँले नोक्सानी बढेको हो ।

पुनर्बीमा कम्पनीले सर्वाजनिक गरेको विवरण अनुसार निर्जीवन बीमा व्यवसायबाट चालु आवको ६ महिना अर्थात दोस्रो त्रैमाससम्म ४६ करोड ४५ लाख ४६ हजार रुपैयाँ खुद नाफा भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३३ करोड ६१ लाख ८६ हजार रुपैयाँ नाफा आर्जर गरेकोमा ३८.१८ प्रतिशतले बढेको हो ।

बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले निजी क्षेत्रको हिमालयन रि–इन्योरेन्सलाई सञ्चालनको अनुमति दिँदै नेपाल पुर्नबीमा कम्पनीले पाउँदै आएको अनिवार्य २० प्रतिशत पुनर्बीमा निजी क्षेत्रको हिमालयन रि इन्स्योरेन्सलाई समेत आधा हिस्सा दिएपछि त्यसको असर परेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझीले जीवन बीमातर्फ पुरानो बीमालेखको प्रिमियम नवीकरण वापतको हिमालयन रि इन्स्योरेन्सतिर पनि जाने नेपाल बीमा प्राधिकरणको निर्णय अनुसार कम्पनीको मुनाफामा असर पुगेको बताए ।

निर्जीवन बीमा व्यवसायबाट हुने आम्दानी बढेपनि जीवन बीमातर्फ नोक्सानी बढेपछि चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा समग्रमा नेपाल रिको खुद नाफा २९ करोड २४ लाख ६७ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा समग्रमा २९ करोड १४ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा ०.३५ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १३.५३ प्रतिशतले बढेर २ अर्ब ८१ करोड ५९ लाख ५९ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा २ अर्ब ४८ करोड ४ लाख ५५ हजार रुपैयाँ खुद दाबी भुक्तानी भएको थियो । कम्पनीको प्रति सेयर आम्दानी वार्षिक २ रुपैयाँ ५१ पैसा, प्रति सेयर नेटवर्थ १७४ रुपैयाँ ६४ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २४७ रुपैयाँ ४४ पैसा र मूल्य आम्दानी अनुपात ३३३.०१ गुणा छ ।

दुई अर्ब ८० करोड खुद बीमाशुल्क संकलन

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा नेपाल रिले २ अर्ब ८० करोड ७१ लाख ७३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जसमध्ये निर्जीवन व्यवसायबाट १ अर्ब ७९ करोड ८६ लाख ७७ हजार रुपैयाँ र जीवन बीमा व्यवसायबाट १ अर्ब ८४ लाख ९६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । कम्पनीले २०७८ पुस मसान्तसम्ममा ४ अर्ब ९५ करोड ८० लाख ६० हजार खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यसैगरी कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा लगानी कर्जा तथा अन्य आयबाट २६ करोड ३२ लाख ५५ हजार रुपैयाँ र अन्य प्रत्यक्ष आय वापत १२ करोड ४९ लाख ४९ हजार रुपैयाँ आम्दानी गरेको छ । यस्तै पुनर्बीमा कमिशन वापत ६१ करोड २४ लाख ७० हजार रुपैयाँ खर्च गरेको छ । गत आवको सोही अवधिमा लगानी कर्जा तथा अन्य आयबाट २३ करोड ९१ लाख ६४ हजार रुपैयाँ र अन्य प्रत्यक्ष आय वापत १८ करोड ६५ लाख ७ हजार रुपैयाँ आम्दानी गरेको छ । यस्तै सो अवधिमा पुनर्बीमा कमिशन वापत १ अर्ब ४० करोड ३० लाख २१ हजार रुपैयाँ खर्च गरेको छ ।

कम्पनीले दीर्घकालिन लगानी तथा कर्जा वापत ३ अर्ब ६३ करोड ३४ लाख ४२ हजार र अल्पकालिन लगानी तथा कर्जामा १६ अर्ब ९५ करोड ८ लाख ६८ हजार रुपैयाँ लगानी गरेको छ । विसं २०७९ पुस मसान्तसम्म कम्पनीले ३ अर्ब १० करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । समीक्षा अवधिमा २ अर्ब ९१ करोड ५ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने १ अर्ब ३८ करोड ३३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६ अर्ब १७ करोड ८६ लाख ९२ हजार रुपैयाँ र बीमा कोषमा २ अर्ब ५१ करोड ६४ लाख ६१ हजार रुपैयाँ सञ्चित छ । गत आवको सोही अवधिमा जगेडा कोषमा ४ अर्ब १३ करोड १९ लाख ३१ हजार रुपैयाँ तथा बीमा कोषमा २ अर्ब ५४ करोड ७९ लाख ६ हजार रुपैयाँ सञ्चित थियो ।

बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । तर बीमा कम्पनीहरुले समयमा नै विवरण उपलब्ध नगराएको कारण दर्शाउँदै सरकारी स्वामित्वको कम्पनीले भने बल्ल दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दैछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.